लमजुङ कृषि क्याम्पसका विद्यार्थीहरूको २० दिनदेखि जारी आन्दोलन अझै रोकिएन

लमजुङ कृषि क्याम्पसका विद्यार्थीहरूको २० दिनदेखि जारी आन्दोलन अझै रोकिएन

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ चैत २३ गते मङ्गलबार ०१:२०

२०८१ मा यस्तै परिस्थितिमा सोही संकाय अन्तर्गत पर्ने पक्लिहवा क्याम्पसमा ४८ घण्टामै resheduling भएको तर लमजुङ क्याम्पसमा सोही परिस्थितिमा यहाँका विद्यार्थीहरूलाई अनावश्यक दुःख दिने काम भएको छ । जसबाट समानताको अधिकारबाट समेत आफूहरूलाई वञ्चित बनाइएको विद्यार्थीको भनाइ छ ।

‘रजिष्टारसँग मैले कुरा गरेर उहाँ(विद्यार्थी)हरूलाई कुरा गर्नका लागि वातावरण मिलाएको थिएँ । त्यसपछि उहाँहरूले सम्पर्क गर्नु भएन, म त समाधान भयो भनेर ढुक्क थिएँ’ संघीय सांसद धर्म केसीले भन्नुभएको छ ।

सुन्दरबजार(लमजुङ)– लमजुङको यहाँ स्थित लमजुङ कृषि क्याम्पसका विद्यार्थीहरूले २० दिनदेखि जारी राखेको आन्दोलन अझै रोकिएको छैन । समस्या शिक्षा मन्त्रीको टेबुलसम्म पुगेको र मन्त्रीले समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको आन्दोलनरत विद्यार्थीले चैत २४ गते बताएका छन् ।
समयमा पढाएर कोर्ष नसकिएको र आन्तरिक परीक्षासमेत हुन नसकेको अवस्थामा वार्षिक परीक्षाको तालिका प्रकाशन गरिएको विरोधमा विद्यार्थीहरूले आम निर्वाचन(गत फागुन २१ गते) अघि १४ दिनसम्म क्याम्पसमा तालाबन्दी समेत गरेका थिए । आन्दोलमा लमजुङ क्याम्पसका चौथो र छैटौँ सत्रान्त्रका विद्यार्थीहरू उत्रिएका हुन् । चुनाव अगाडि सञ्चालन हुन नसकेको परीक्षा चुनाव पछि सञ्चालन गराउने भनी क्याम्पस प्रमुख डा. रामकुमार श्रेष्ठसँग भएको सहमति कार्यन्वयन गराउन माग गर्दै २० दिनदेखि क्याम्पस प्रमुखको कार्यकक्षमा रिले अनसन बसिरहेका छन् । विद्यार्थीहरूले चैत ५ गतेबाट आन्दोलन सुरु गरेका हुन् ।
सुन्दरबजार महोत्सव, सुन्दरबजार कप, ल्होसार आदि सञ्चालन हुँदा पढाई रोकिएको र क्याम्पसका शिक्षकहरूले पाउनु पर्ने पारिश्रमिक समयमा नपाएका कारणले दैनिक दुई कक्षा सञ्चालन गर्नुपर्ने शिक्षकहरूले एउटामात्र कक्षा लिने गरेका कारणले समयमा कोर्ष नसकिएको र कोर्ष नसकी आन्तरिक परीक्षा नभएको र त्यो परीक्षा नभई वार्षिक परीक्षाको प्रवेशपत्र नआएको तर डिन कार्यालयले परीक्षा तालिका निकालेर पनि समयमा प्रवेश पत्र पठाउने काम नगरेको आन्दोलनरत विद्यार्थीहरूको गुनासो रहेको छ । उनीहरू भन्छन्, ‘१५ लेक्चरमा सक्नु पर्ने कोर्ष पाँचै लेक्चरमा सक्दा पनि हामीले सहन गरेका थियौं, यस पटक त अति भयो ।’
फागुन ९ गतेबाट चौथो र फागुन १० गतेबाट छैटौ सत्रान्त्रको परीक्षा तालिका प्रकाशित भएको थियो विद्यार्थीहरूको भनाइ छ ।
२०८१ मा यस्तै परिस्थितिमा सोही संकाय अन्तर्गत पर्ने पक्लिहवा क्याम्पसमा ४८ घण्टामै resheduling भएको तर लमजुङ क्याम्पसमा सोही परिस्थितिमा यहाँका विद्यार्थीहरूलाई अनावश्यक दुःख दिने काम भएको छ । जसबाट समानताको अधिकारबाट समेत आफूहरूलाई वञ्चित बनाइएको विद्यार्थीको भनाइ छ ।
विद्यार्थी प्रतिनिधीहरूले डिन कार्यालयमा वार्तामा बसे तापनि विद्यार्थीहरूको मात्र दोष देखाएर दुवै सत्रान्त्रका कुनै पनि परीक्षार्थी सहभागीनै नभएको परीक्षा नतिजा सार्वजनिक गरेर पुनः परीक्षामा मात्र सहभागी गराउने अडानमा छ ।
विद्यार्थीहरूका अनु्सार क्याम्पस प्रमुख र विद्यार्थीहरू बिच भएको सहमतिमा चुनाव पछिको तालिकामा चौथो सत्रान्त्रले ३ वटा र छैटौँ सत्रान्त्रले ४ वटा परीक्षा दिने र बाँकी चुनाव अघि छुटेको चौथो सत्रान्त्रका ५ वटा र छैटौ सत्रान्त्रको ४ वटा विषयको परीक्षाको लागि नियमित गराउने लिखित सहमति हुनुका साथै मौखिक आश्वासन समेत दिएर क्याम्पस प्रमुख र विद्यार्थी विच सम्झौता भएको थियो ।
यस बारेमा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्दा प्रजिअ कृष्णप्रसाद खनालले मैले हिजोमात्र यो बारेमा जानकारी पाएँ । क्याम्पस प्रमुखसँग कुरा गरेको छु भन्नुभयो । ‘सरलाई समयमा यो बारेमा जानकारी नभएको कि चासो नराख्नु भएको हो ?’ भन्ने जिज्ञासामा क्याम्पस प्रशासनको कमजोरी हो कि भन्ने पनि लागेको उल्लेख गर्नुभयो ।  ‘२० दिनदेखि विद्यार्थी आन्दोलनमा छन्, तपाई प्रजिअ जस्तो मान्छेले सुरक्षामात्र मेरो जिम्मा हो भनेर पन्छिन मिल्छ ?’ भन्ने थप जिज्ञासामा विद्यार्थीले राजनीति गरेका हुन् कि ? भन्ने पनि लाग्यो उहाँले भन्नुभयो ।
त्यो क्याम्पसमा जेनजी आन्दोलनका बेलामा सबै विद्यार्थी संघसंगठन खारेज भएको हो । ऐले त्यहाँ विद्यार्थी युनियन बाहेकको कुनै विद्यार्थी संगठन क्रियाशील छैन, सरलाई जानकारी हुनु पर्ने हो नि ? समस्या त समयमा कोर्ष नसकिएको र त्यही कारणले आन्तरिक परीक्षा नभएको र वार्षिक परीक्षा हुन बाधा परेको भन्ने छ नि ?’ भन्ने हाम्रो जिज्ञासामा ‘मैले हिजो क्याम्पस प्रमुखसँग कुरा गरेको थिएँ, उनको पनि कमजोरी जस्तो देखियो, मौका परीक्षाको सुविधा दिनु पर्छ जस्तो छ म डिनको नंबर मागेर तीनै पक्ष विद्यार्थीसमेतसँग कुरा गरेर समाधान निकाल्नेतर्फ लाग्छु उहाँले भन्नुभयो । मौका परीक्षा भनेको पनि व्याक जस्तै होला नि ? भन्ने थप जिज्ञासामा उहाँले ‘हैन, मौका परीक्षाको मार्कसिटमा व्याक भन्ने लेखिदैन ।’ भन्नुभयो ।
यसबारेमा लमजुङका संघीय सांसद धर्म केसीसँग सम्पर्क गर्दा उहाँले यो समस्या त समाधान भयो भन्ने लागेको हो, अझै भएको छैन ? भन्ने प्रश्न गर्नु भयो । उहाँले ‘रजिष्टारसँग मैले कुरा गरेर उहाँहरूलाई कुरा गर्नका लागि वातावरण मिलाएको थिएँ । त्यसपछि उहाँहरूले सम्पर्क गर्नु भएन, म त समाधान भयो भनेर ढुक्क थिएँ’ केसीले भन्नुभयो । हैन उस्तै छ, आज २० दिन भइसक्यो नि ! भन्ने जिज्ञासामा ‘म शिक्षा मन्त्रालय र सम्बन्धित क्षेत्रमा बुझेर तत्काल समाधानका लागि पहल गर्छु’ सांसद केसीले प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
स्मरणीय छ, चौथो सेमिष्टरमा अध्ययनरत १०५ जना विद्यार्थी छन् भने छैटौं सेमिष्टरमा ९२ जना विद्यार्थी रहेका छन् । तीनमा झण्डै दुई तिहाई संख्या छात्राहरूको रहेको छ ।

प्रकाशित मिति २०८२ चैत्र २४, मंगलवार १३:२० गते
हजुरको प्रतिक्रिया