नइबाट आयोजना गरिएको प्राध्यापक सम्मेलन शुभारम्भ

नइबाट आयोजना गरिएको प्राध्यापक सम्मेलन शुभारम्भ

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ चैत २७ गते शनिवार ०१:५९

नेपाली भाषासाहित्यको विकास र विस्तारबारे अध्ययन हुन बाँकी पक्षहरूका साथै उच्चशिक्षाका कतिपय अनिर्णीत रहेका समेत पक्षहरूको परिपूर्तिका निम्ति नइले ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को आयोजना गर्नुपरेको कुलपति इन्दिरा प्रसाईले बताउनु भयो ।

सम्मेलनका प्रमुख अतिथि महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीले नेपाल तथा भारतका २७ जना प्राज्ञलाई सम्मेलनको प्रतीक चिन्ह र सम्मेलनबारेका कृतिहरू प्रदान गरेर तीनदिने सम्मेलनको शुभारम्भ गर्नुभयो ।

काठमाडौं– विगत दश वर्षदेखिको प्रतीक्षारत ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आजदेखि काठमाडौँमा प्रारम्भ भएको छ । नइबाट आयोजना गरिएको प्राध्यापक सम्मेलन चैत २७ गते शुभारम्भ भएको हो ।
सम्मेलनका प्रमुख अतिथि महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीले नेपाल तथा भारतका २७ जना प्राज्ञलाई सम्मेलनको प्रतीक चिन्ह र सम्मेलनबारेका कृतिहरू प्रदान गरेर तीनदिने सम्मेलनको शुभारम्भ गर्नुभयो । प्रा.डा.वासुदेव त्रिपाठीले नेपाली भाषासाहित्यमा सर्वप्रथम २०३१ सालमा विद्यावारिधि गर्नुभएको थियो । उहाँकै प्राज्ञिक नेतृत्वमा यो सम्मेलन हुँदैछ ।
यस सम्मेलनमा नेपाल तथा भारतका विश्वविद्यालयबाट नेपाली भाषासाहित्यमा विद्यावारिधि गरेका प्राध्यापकहरूको सहभागिता रहेको छ ।
नेपाली भाषासाहित्यको विकास र विस्तारबारे अध्ययन हुन बाँकी पक्षहरूका साथै उच्चशिक्षाका कतिपय अनिर्णीत रहेका समेत पक्षहरूको परिपूर्तिका निम्ति नइले ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को आयोजना गर्नुपरेको कुलपति इन्दिरा प्रसाईले बताउनु भयो ।
सम्मेलनमा उच्च शिक्षामा नेपाली भाषासाहित्यको अध्यापन तथा अनुसन्धान गरिने भारतका तेह्रवटा विश्वविद्यालय र नेपालका छ वटा विश्वविद्यालयका दस्तावेज प्रस्तुत गरिने तयारी रहेको नइ एकेडेमी सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनु भएको छ । उहाँका अनुसार भारत(असम)बाट डा. दैवकी तिम्सिना सहितका प्राध्यापकहरूको सहभागिता रहेको छ । उहाँले भन्नुभयो, ‘यो सम्मेलन तीन दिवसीय रुपमा सञ्चालन भइरहेको छ ।’
सम्मेलनको पहिलो दिन सहभागी प्राज्ञहरूले आआफ्ना विश्वविद्यालयबारे चर्चा गर्नुभयो । नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित त्रिदिवसीय सम्मेलनको प्रथम दिनको समारोहमा महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठी, प्रा.डा. चूडामणि बन्धु, प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. दिवाकर प्रधान, प्रा.डा. कविता लामा, सल्लाहकार प्रा. केशव सुवेदी, सम्मेलनका संयोजक प्रा.डा. महादेव अवस्थी, सदस्यसचिव नरेन्द्रराज प्रसाई लगायत नेपाल तथा भारतका विश्वविद्यालयबाट नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने पच्चिस जना प्रतिनिधि प्राज्ञहरूले आ– आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रकाशित मिति २०८२ चैत्र २८, शनिबार १३:५९ गते
हजुरको प्रतिक्रिया