
घलेगाउँ(लमजुङ)– लमजुङको क्व्होलासोथार गाउँपालिकास्तरीय तेस्रो अध्यक्ष कप २०८२ को पुरुष र महिला दुवैतर्फको उपाधि वडा नं. ६ पसगाउँले चुमेको छ । युवा तथा खेलकुद विकास समिति क्व्होलासोथारको आयोजनामा स्मार्ट भिलेज घलेगाउँस्थित स्वर्गभूमि रंगशालामा फाइनल खेल चैत ३० गते सम्पन्न भएको हो ।
सो प्रतियोगितामा पुरुषतर्फ वडा नं. ५ सिङ्दीलाई हराउँदै पसगाउँ विजेता बनेको हो । निकै प्रतिस्पर्धात्मक रहेको खेलको निर्धारित समयमा दुवै पक्षबाट कुनै पनि गोल हुन सकेन । गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा प्रवेश गरेको थियो । पहिलो चरणमा टाइब्रेकरमा पनि दुवै पक्षले ३– ३ को बराबरी भयो । त्यसपछिको सडन डेथको प्रतिस्पर्धामा सिङ्दी गोल गर्न चुक्यो । अन्ततः वडानं– ६ पसगाउँले वडानं– ५ को सिङ्दीलाई ४–३ गोल अन्तरले हराउँदै विजयी बन्न सफल भयो ।
महिलातर्फको फाइनल वडा नं. ६ पसगाउँ र वडा नं. १ बाग्लुङपानी बीचा भएको थियो । त्यसमा ३–० गोलअन्तरले पराजित गर्दै वडा नं. ६ पसगाउँ ले उपाधि जित्न सफल भएको हो ।
उक्त प्रतियोगितामा पुरुषतर्फ विजेता टिमले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता सिङ्दीले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको आयोजकको भनाइ छ । त्यस्तै, महिलातर्फ विजेता पसगाउँ टिमले ५० हजार रुपैयाँ र उपविजेता बाग्लुङपानीले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकका सचिव डिलेश्वर गुरुङले जानकारी दिनु भयो । उहाँका अनुसार प्रतियोगितामा महिलातर्फ वडा नं. ४ भुजुङकी सरिता बिक ४ गोलसहित सर्वाधिक गोलकर्ता तथा वडा नं. ६ पसगाउँकी ललिता गुरुङ उत्कृष्ट खेलाडी चुनिइन् । उनीहरूलाई जनही ३ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
पुरुषतर्फ वडा नं. ६ पसगाउँका टिम कप्तान नवराज गुरुङले सर्वाधिक गोलकर्ताको उपाधि जित्नु भयो । उहाँले खेल अवधिभर ६ गोल गर्न सफल भएको आयोजकको भनाइ छ । वडा नं. ५ सिङ्दीका बनिष गुरुङ उत्कृष्ट खेलाडी चयन भए । उनीहरूलाई सबैलाई जनही ५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगिताका विजेता तथा उपविजेता टोलीका खेलाडीहरूलाई पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, उपाध्यक्ष गमीमाया गुरुङ, पूर्व उपाध्यक्ष कुमारी मुनी गुरुङ तथा आयोजक समितिका अध्यक्ष नौराज गुरुङले पुरस्कार वितरण गर्नु भएको थियो ।
चैत २७ गतेदेखि सुरु भएको प्रतियोगिता ३० गते सम्पन्न भएको हो । प्रतियोगितामा उक्त गाउँपालिकाका ९ वटै वडाले भाग लिएका थिए ।
अनुज अधिकारीको सहयोगमा ।
प्रकाशित मिति २०८३ बैशाख १, मंगलवार १६:३९ गते