
बेसीशहर(लमजुङ)– कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान लमजुङ/रुपाकोट शाखाले ऐतिहासिक कार्य गरेको छ । प्रतिष्ठानका अध्यक्ष प्रकाशचन्द्र अधिकारीको पहिलमा प्रतिष्ठानलाई घडेरी बैशाख २५ गते प्राप्त भएको छ ।
सुन्दरबजार नगरपालिका– ९ निवासी प्रकाशचन्द्र अधिकारीका सुपुत्रद्वय सुरेशबाबु अधिकारी र दिनेशबाबु अधिकारीले आआफ्नो अंश भागमा रहेको सोही वडाको सिउँडीबार चोकबाट उत्तरपश्चिमतर्फको जग्गा जनही ४ आना दुई पैसा प्रतिष्ठानलाई निःशुल्क प्रदान गर्नु भएर लमजुङ/रुपाकोटका वन्धुहरूलाई अतुलनीय गुन लगाउनु भएको छ ।
आज सुरेशबाबु र दिनेशबाबुले आफूले दान गर्नु गरेको जग्गा प्रतिष्ठानका नाउँमा लालपूर्जा तयार गरी प्रतिष्ठानका केन्द्रीय सचिवलय सदस्य नवराज पहाडी र जिल्ला सचिव गोविन्दप्रसाद अधिकारीलाई हस्तान्तरण गर्नु भएर कुल वंशका वन्धुहरूलाई अतुलनीय गुन लगाउनु भएको हो ।
सो अवसरमा उहाँहरू र उहाँहरूको परिवारलाई प्रतिष्ठानको तर्फबाट केन्द्रीय सचिवालय सदस्य पहाडी र जिल्ला सचिव गोविन्दले विशेष कृतज्ञतासहित धन्यवाद ज्ञापन गर्नु भएको छ ।
यसकार्यमा सहजीकरण गर्नु हुने प्रतिष्ठानको जिल्ला शाखाका निवर्तमान अध्यक्ष तुलसीविकाश अधिकारीप्रति पनि प्रतिष्ठान परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।
प्रतिष्ठानले दुई वर्षअघिदेखि नै घडेरी प्राप्तिको प्रयास गरेको थियो । त्यसका लागि सोही नगरपालिका– ४, दुराडाँडा, पाँचघरे निवासी रामचन्द्र अधिकारीको सहजीकरणमा कमल अधिकारीले समेत सो स्थानमा प्रतिष्ठानका लागि घडेरी दिन तयार हुनु भएको थियो ।
तर जिल्लामा अधिकारीहरूको संख्या र पायकको हिसाबले त्यो स्थानभन्दा सिउँडीबार ठीक ठान्दै यताको जग्गा रोज्ने काम भएको सचिवालय सदस्य पहाडीले जानकारी दिनु भयो । उहाँका अनुसार गत वर्षनै त्यो स्थानमा प्रति आना तीन लाखको दरले सुक्री विक्री भएको पाइएको थियो । उहाँले भन्नुभयो, ‘त्यो बेलामा उहाँहरूको परिवारबाट छ आना जग्गा प्रदान गर्ने सहमति भएको थियो । तर ऐले जग्गाको बनोट अनुसार हेर्दा दुई भाइबाट ०–४–०–२ का दरले ०–८–१–० क्षेत्रफलको जग्गा प्रदान गर्नु भएको छ । गत वर्षकै मूल्य हेर्ने हो भने पनि त्यो २४ लाखभन्दा बढी हुन्छ पहाडीले भन्नुभयो । यसैले पनि उहाँहरूका साथै उहाँहरूका परिवारजन के कति उदार, दानीमन तथा वंशको उत्थानका लागि योगदानको अभिलाशी हुनुहुँदोरहेछ भन्ने थप पुष्टि भएको प्रतिष्ठानको केन्द्रीय सचिवालय सदस्य पहाडीले उल्लेख गर्नुभयो । पहाडीले थप भन्नुभयो, ‘उहाँहरू र उहाँका परिवारजनहरूको जतिधेरै प्रशंसा गरे पनि कम हुन्छ ।’
यसैगरी, लामो सयमदेखिको सपना आज साकार भएको जिल्ला सचिव गोविन्दप्रसादले बताउनु भयो । उहाँका अनुसार दाताहरूको गुनको प्रशंसा गर्ने शब्द नै छैन । हामी धेरै आभारी छौं, ऋणी भएका छौं उहाँले थप भन्नुभयो ।
प्रतिष्ठानका नाउँमा लालपुर्जा प्राप्त भएको जानकारी पाएपछि निवर्तमान अध्यक्ष तुलसीविलास अधिकारीले मैले मेरै पालामा यो काम फत्ते गर्छु भन्ने ठानेको थिएँ । परिस्थितिवस् त्यस समयमा गरेको प्रयासले मूर्तरुप लिन सकेन । आजको उपलब्धि त्यसैको परिणाम हो आज म धेरै खुशी भएको छु, दाताहरूलाई धेरै धेरै शुभकामना र बधाई भन्न चाहन्छु उहाँले भन्नुभयो ।
उक्त वंश प्रतिष्ठानको मुलुकभर ७२ जिल्लामा शाखा रहेका छन् र ती मध्ये ६२– ३५ जिल्ला शाखा सक्रिय रहेका छन् । सक्रिय शाखामा पनि नमूना लायकको काम गर्ने शाखाहरू औंलामा गन्न सकिने छन् । त्यस्तै जिल्ला शाखाभित्र लमजुङ पनि पर्दछ । लमजुङ शाखाले पूर्ण छात्रवृत्तीमा तीन जना बाबु– नानीलाई प्लसटुसम्म पढाउने प्रतिवद्धताका साथ सुरु गरेको तीन वर्ष बितिसकेको छ । त्यसका लागि अक्षयकोषको प्रवन्ध गर्ने र दाता बन्धुवान्धवबाट त्यो कोष बृद्धि गर्दै लग्ने अभियान चलाइरहेको छ ।
त्यस्तै, हरेक वर्ष एक वनभोज सहितको जिल्ला भेला गर्ने, जिल्ला भेला चक्रीय रुपमा जिल्लाभर आयोजना गर्दै लग्ने, भेलामा सदम्पती सहभागिताका लागि अनुरोध गर्ने, भोलामा एसईईमा उत्कृष्ठ अंक ल्याउने आफ्नो कुल वंश र कार्यक्षेत्र भित्रका मध्येबाट १/१ जना बाबुनानीलाई सम्मान गर्ने, ८४ वर्ष पुग्नु भएको बा–आमालाई अभिनन्दन गर्ने, पिएचडी गर्ने वन्धु, वान्धवाहरूलाई सम्मान गर्ने जस्ता कार्य प्रतिष्ठानले गरिआएको छ ।
यो वर्षबाट अब आफ्नै भवन निर्माण गर्ने नयाँ अभियान आजबाट सुरु भएको समेत प्रतिष्ठानका जिल्ला अध्यक्ष प्रकाशचन्द्र अधिकारीले बताउनु भएको छ ।
आजका दिनसम्म झोलामा रहेको प्रतिष्ठानको कार्यालय विस्तारै आफ्नै भवनमा सञ्चालन हुने पूर्वाधार तयार भएको रुपमा आजको यो उपलब्धिलाई लिइएको छ ।
प्रकाशित मिति २०८३ बैशाख २५, शुक्रबार १९:०६ गते