
चामे(मनाङ)– ‘याक अट्याक– २०२६’को प्रतिस्पर्धामा सहभागी भएको टोली आज चौथो दिन जेठ १३ गते माथिल्लो मनाङमा पुगेर विश्राम गरिहरेको छ । सो प्रतियोगिताको माउन्टेन बाइकिङ वल्र्ड वाइड प्रालि नेपालले व्यवस्थापन गरेको हो ।
लमजुङको जिल्ला सदरमुकाम बेसीशहरबाट चक्रीय अन्नपूर्ण पदमार्गमा सो प्रतिस्पर्धा सुरु भएको हो । यो ‘याक अट्याक’को १८औं संस्करण हो । नेपाललाई अन्तर्राष्ट्रिय साहसिक पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सो प्रतियोगिता माउन्टेन बाइकिङ वल्र्ड वाइड लिमिटेड बेलायतको आयोजनामा भएको हो ।
विश्वकै कठिन र उच्च क्षेत्रमा आयोजना हुने सो प्रतियोगिता माउन्टेन बाइक रेसमध्ये चर्चित मानिन्छ । उक्त प्रतियोगितामा ११ देशका २८ जना साइकल धावक सहभागी भएको आयोजकको भनाइ छ । प्रतियोगितामा २१ विदेशी र ७ नेपाली साइकल धावक सहभागी छन् ।
प्रतियोगिताको पहिलो दिन लमजुङको बेसीशहर नगरपालिका– ८ बाट सुरु भई सोही पालिका– ६ को पुमागाउँ, क्ब्होलासोथर गाउँपालिका– १ को बाग्लुङपानी– नजरे हुँदै बेसीशहर नगरपालिका– ६ को चण्डीस्थान, मकैडाँडा झरेर पुनः बेसीशहर नगरपालिका– ८ को बेसीशहरसम्म करिब ३० किलोमिटर दूरी पार गरेका छन् ।
सो टोली दोस्रो दिन यहाँ अर्थात मनाङ जिल्लाको सदरमुकाम चामेमा आइपुगेको थियो । तेस्रो दिनमा माथिल्लो मनाङ पुगेको सो टोली त्यहाँ आराम गरिरहेको छ ।
उक्त बहुदिवसीय प्रतियोगितामा सहभागी विदेशी धावकमध्ये भारतका ५ पुरुष खेलाडी छन् । प्रतियोगितामा ६० वर्षमाथिका २ जना विदेशी छन् । सो प्रतिस्पर्धामा विदेशी महिला ३ जना र नेपाली महिला खेलाडी एक जना छन् । ती सहभागीहरू भारत, आयरल्यान्ड, जर्मनी, बेलायत, अस्ट्रिया, ब्राजिल, स्विडेन, इजरायल र स्पेनबाट आएको प्रतियोगिता व्यवस्थापक अजय पण्डित क्षेत्रीले बताउनु भयो । उहाँका अनुसार प्रतियोगितामा गत वर्षका विजेता खुसीमान घर्तीमगर तथा धुलिखेल अस्पतालका डाक्टर विकास पराजुलीले पनि भाग लिनु भएको छ । उहाँले भन्नुभयो, ‘हामीहरूको टोली चक्रीय पदमार्ग हुँदै हिमाली जिल्ला मनाङमा भोलिसम्म रहने छ ।’ निर्धारित कार्यक्रम अनुसार भोलि थोराङ फेदीमा बास बस्ने उहाँको भनाइ छ ।
पाँचौं दिन थोराङ्ला फेदी हुँदै छैटौं दिन विश्वकै अग्लो हिमाली भञ्ज्याङमध्ये एक मानिने ५ हजार ४ सय १६ मिटर उचाइको थोराङ्ला पार गरेर मुस्ताङको कागबेनी झर्ने योजना रहेको प्रतियोगिता व्यवस्थापक पण्डित क्षेत्रीले जानकारी दिनु भयो । उहाँका अनुसार सातौं दिन कालोपानीमा पुगेर प्रतियोगिता सकिनेछ ।
समापन कार्यक्रम मे ३१ (जेठ १७ गते) का दिन पोखरामा आयोजना गरिने रेक ओ–अर्डिनेटर ज्ञानेन्द्र स्थापितले उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो, ‘प्रतियोगितामा पुरुष तथा महिलातर्फ प्रथम हुनेले ७५ हजार, द्वितीयले ५० हजार र तृतीयले २० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ ।’

प्रकाशित मिति २०८३ जेष्ठ १३, बुधबार १९:२१ गते