
काठमाडौं– रास्वपा सभापति रवि लामिछाने पाँच दिने भ्रमणका लागि भारत पुग्नु भएको छ । उहाँ हिजो जेठ १८ गते दिउँसो नयाँदिल्ली पुग्नु भएको हो । उहाँको स्वागतमा भाजपाले होर्डिङबोर्ड राखेको छ । यस्तो प्रचलन भारतमा यसअघि अन्य शीर्ष तहका नेताहरू जाँदा पनि हुने गथ्र्यो ।
भाजपाकै निमन्त्रणमा भारत पुग्नु भएका सभापति लामिछानेको स्वागतमा नयाँ दिल्लीका विभिन्न स्थानमा सभापति लामिछानेको तस्वीर अंकित होर्डिङबोर्ड राखिएको छ ।
दिल्ली विमानस्थलमा भारतीय जनता पार्टी (भाजपा) का महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले सभापति लामिछानेसहितको भ्रमण टोलीलाई स्वागत गरेका थिए ।
भ्रमणदलमै रहेका सांसद बोहोराले एक भिडियो पोस्ट गर्दै ‘दिल्लीतिर यस्तो छ’ भनेर क्याप्सन राख्नु भएको छ ।
सभापति रविले जेठ १८ देखि २२ गते (जुन १ देखि ५ तारिख) सम्म भारत भ्रमणमा हुनुहुन्छ रास्वपा प्रवक्ता मनिष झाले बताउनु भयो । उहाँका अनुसार त्यसक्रममा नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
उनले भाजपा नेतृत्व, भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि उनले अयोध्याको भ्रमण पनि गर्ने पार्टी प्रवक्ता झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भेटघाट, छलफल तथा भ्रमणका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरिरहेको रास्वपाले जनाएको छ ।
सभापति लामिछानेसँगै सो भ्रमणदलमा रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य समेत हुनुहुन्छ ।
प्रकाशित मिति २०८३ जेष्ठ १९, मंगलवार ०९:२३ गते