
काठमाडौं– झण्डै दुई तिहाइ नजिकको सरकार गठन गरेपछि पहिलोपटक छिमेकी मुलुक भारतको भ्रमण सकेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फर्किनु भएको छ । सभापति रवि लामिछानेले ‘सरकार ढल्दैन, चुनावअघिको सहमतिमा अडिग छौं’ भन्नु भएको छ । भारतको पाँचदिने भ्रमण सकेर फर्किएपछि उहाँले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै जेठ २२ गते यस्तो बताउनु भएको हो ।
पाँच दिन लामो भ्रमण गरेका सभापति लामिछाने आजै साँझ स्वदेश फर्किनु भएको हो । प्रतिपक्षी दलहरूले आशीर्वाद लिन जानुभयो भनेर आशंका गरेका छन् । अब तपाईं छिट्टै प्रधानमन्त्री बन्दै हुनुहन्छ रे ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा ‘निर्वाचनअगाडि हामीले लेखेको कागज एकपटक पढ्न आग्रह गर्छु । हामीले बोलेर लेखेर गरेका बाचामा अडिग छौँ । प्रतिपक्ष साथीहरूलाई आग्रह गर्न चाहन्छु । जुन कुरा स्पष्ट पारिसकेका छौँ । त्यस कुरापछि लाग्न जरुरत छैन । हामी अस्थिरताको पक्षमा छैनौँ । जे सुधार्नुपर्नेछ । सुधार्दै लैजानेछौँ । यसैबाट संसारै ढल्छ जसरी न्वाइज नगर्दा हुन्छ ।’
उहाँले आफ्नो पार्टीलाई जनताले स्थिरताका लागि मतदान गरेको भन्दै उक्त सहमतिमा अडिग रहेको दोहोर्याउनु् भयो । उहाँले थप भन्नुभयो, ‘हामीलाई गरेको वाचाप्रति अडिग छौं । रहिरन्छौं ।’
नेपाल–भारत सम्बन्ध ‘रिसेट’ भएको छ :
सभापति लामिछानेले यो भ्रमणबाट नेपाल–भारत सम्बन्ध ‘रिसेट’ भएको र सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताउनु भएको छ । उहाँले नयाँ सरकार बनेपछि भएको यो भ्रमणबाट आफूले कुन कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौं भनेर कुराकानी अघि बढाएको जानकारी दिनु भयो ।
‘नयाँ सरकार बनिसकेपछि मित्र राष्ट्रसँग हामीले के अपेक्षा गर्ने, लगानीका कुरामा, सहकार्यका कुरामा, हाम्रो वर्षौदेखि रहेको सद्भावपूर्ण सम्बन्धका आधारमा राष्ट्रका रुपमा कुन लाभलाई लिन सक्छौं,’ भ्रमणबाट फर्किएपछि सञ्चारकर्मीसँग उहाँले भन्नुभयो, ‘कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौं भनेर कुराकानी अघि बढेको छ । एउटा राजनीतिक दल र अर्को राजनीतिक दलको निमन्त्रणमा भएका विषय भएकाले हामी एउटा चरणमा प्रवेश गरेका छौं ।’
उहाँले आफ्नो भ्रमणमा कुनै अस्पष्ट र लुकिछिपी नभएको समेत उल्लेख गर्नुभयो । उहाँले थप भन्नुभयो, ‘अस्पष्ट, लुकिछिपी, अपारदर्शी सम्बन्ध होइन, पारदर्शी, स्पष्ट र कहाँ जाने भन्ने कुराको गन्तव्य तय गरेर हिंड्न सुरु गरिएको विषय भएकाले, यो एक हिसाबले रिसेट जस्तो पनि हो, रिसेट गर्ने काममा यो भ्रमणले मदत गर्छ भन्ने आशा गरेको छु ।’
सिमानाको विषयमा कुरा राख्न बिर्सनुभएको हो ? :
सिमानाको विषयमा कुरा राख्न बिर्सनुभएको हो ? भन्ने पत्रकारका प्रश्नमा सभापति रविले मिचिएको सिमानाको बारेमा प्रतिक्रिया दिदै भन्नुभयो, ‘कूटनीतिको माध्यमबाट डिप्लोम्याटिक च्यानललाई गर्नुपर्ने हुन्छ । कूटनीतिक एक्टिभिस्टको रूपमा उठाउने विषय होला । चरणबद्ध रूपमा कूटनीतिका रूपमा पहिलेका सरकारले पनि सुरु गरेका थिए । अहिले पनि सुरु भएको छ । त्यस ढंगले कुरा अगाडिको छ । समस्या समाधानका लागि फरक–फरक च्यानलबाट समाधान गर्ने कुरा भयो ।’
हामीलाई गरिएको स्वागत देशको सम्मान हो :
सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा गरिएको स्वागतलाई देशकै सम्मानको रूपमा हेर्नुपर्ने बताउनु भएको छ ।
‘हामीलाई भारतमा गरिएको सम्मान देशको सम्मान हो । देशलाई गरिएको स्वागत हो । हाम्रो स्वागतको पनि कुरा निकाल्न थालियो भने के अर्थ होला र ?,’ उहाँले प्रतिप्रश्न गर्नुभयो ।
भारतमा को–कोसँग भेट भयो ?
सभापति रविले भारत बसाइको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गर्नु भएको थियो । सो क्रममा उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमै भेटवार्ता गर्नु भएको छ ।
भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जानु भएको हो ।
रवि नेतृत्वको भ्रमण टोलीमा रास्वपा सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य हुनुहुन्थ्यो ।
प्रकाशित मिति २०८३ जेष्ठ २२, शुक्रबार २०:२२ गते