काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)द्वारा प्रथम राष्ट्रिय महाधिवेशनका लागि तयार गरिएको लोगो सार्वजनिक गरिएको छ । उक्त लोगो असार ३ गते सार्वजनिक गरिएको हो ।
लोगोमा सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहनु भएका वरिष्ठ नेता बालेन शाह सँगसँगै रहेको तस्बिरसहित अंकित रहेको छ । साथै महाअधिवशेनको मिति तथा पार्टीको नाम र निर्वाचन चिन्ह अंकित गरिएको छ ।
महाधिवेशनको उदघाटन स्थल परिवर्तन :
यसैबीच, रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उदघाटन स्थल परिवर्तन भएको छ । स्थान परिवर्तन गरी भरतपुरमा रहेको चितवन उद्योग संघको अन्तराष्ट्रिय प्रर्दशनी केन्द्रमा महाधिवेशन आयोजना गर्ने तय भएको रास्वपा केन्द्रीय समितिले जनाएको छ । सो समितिका अनुसार यस अघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन आयोजना गर्ने तयारी थियो ।
स्थान परिवर्तन भएसंगै चितवनको टाँडीमा करिब ६ हजार अट्ने बाँसको पंडाल बनाउने काम स्थगित गरिएको छ । महाधिवेशनमा सहभागीहरूका लागि सौराहा, रत्ननगर र भरतपुरका होटलमा अवासको प्रबन्ध गरिएको आयोजकको भनाइ छ ।
पार्टीको स्थानीय जिल्ला र नगरकमिटी, जिल्लामा रहेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूको समन्वयमा महाधिवेशन तयारीको लागि १८ वटा उपसमिति बनाएर काम अगाडि बढाइएको केन्द्रीय समितिले जनाएको छ ।
रास्वपाको प्रथम महाधिवेशन यही असार ७ देखि ९ गतेसम्म हुने तय गरिएको छ ।
प्रकाशित मिति २०८३ असार ४, बिहीबार ०९:५१ गते