कश्यप अधिकारी वन्धु समाजको जिल्ला भेलाको तयारी पुरा, विभिन्न नौं व्यक्तित्व सम्मानित हुँदै

कश्यप अधिकारी वन्धु समाजको जिल्ला भेलाको तयारी पुरा, विभिन्न नौं व्यक्तित्व सम्मानित हुँदै

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असार ४ गते शुक्रबार ०९:५८

बेसीशहर(लमजुङ)– कश्यप अधिकारी वन्धु समाजको जिल्ला भेलाको तयारी पुरा भएको छ । कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपालको जिल्ला समिति लमजुङ÷रुपाकोटको भोलि अर्थात असार ६ गते हुने जिल्ला भेला सहितको सदम्पती वनभोज कार्यक्रमको...

बेसीशहर(लमजुङ)– कश्यप अधिकारी वन्धु समाजको जिल्ला भेलाको तयारी पुरा भएको छ । कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपालको जिल्ला समिति लमजुङ÷रुपाकोटको भोलि अर्थात असार ६ गते हुने जिल्ला भेला सहितको सदम्पती वनभोज कार्यक्रमको तयारी पुरा भएको आयोजकको भनाइ छ ।
सुन्दरबजार नगरपालिका– ९ को भोटेओडार स्थित धारापानीमा हुने उक्त भेलाका अवसरमा विभिन्न नौं जना व्यक्तित्वहरू सम्मानित हुँदै हुनुहुन्छ । जिल्ला समितिले कश्यप गोत्रीय वंशबाट विशेष स्थान हासिल गर्ने व्यक्तित्वलाई सम्मान गर्ने नीतिगत निर्णय गरी सम्मानका कार्य गरिएको समितिका जिल्ला अध्यक्ष प्रकाशचन्द्र अधिकारीले बताउनु भएको छ । उहाँका अनुसार कश्यप गोत्रका जिल्ला स्थित कुनै पनि कार्यालयका प्रमुखहरू, एसईईमा उत्कृष्ठ अंक ल्याउने एक एक जना बाबु र नानी, ८४ वर्ष उमेर पुग्नु भएका बा–आमाहरू, कश्यप गोत्रबाट जुनकुनै पनि विषयमा विद्यावारिधि गर्नु हुने बन्धुबान्धवालाई सम्मान गर्ने नीति तय भएको छ ।
यस वर्ष सम्मानित हुनुहुनेहरूमा बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, जिल्ला समितिलाई घडेरी प्रदान गर्नु हुने सुरेशबाबु अधिकारी र दिनेशबाबु अधिकारी, एसईईमा उत्कृष्ठ अंक ल्याउनु हुने सौजन्य अधिकारी र अंकिता अधिकारी रहेको जिल्ला सचिव गोविन्दप्रसाद अधिकारीले बताउनु भयो । उहाँका अनुसार एसईई ०८२ सालको अंक तालिका आइनसकेको हुँदा उनीहरू ०८१ सालको नतिजा अनुसार उत्कष्ठ भएका हुन् । उहाँले भन्नुभयो, ‘ती दुवै बाबु– नानीले चार जिपिए ल्याउन सफल भएका छन् ।’
यो वर्षबाट कश्यप वंशबाट जिल्लाका माविहरूमा प्रधानाध्यापक हुनुहुने व्यक्तित्वलाई पनि सम्मान गर्ने निर्णय भएको कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानको केन्द्रीय सचिवालय सदस्य नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार जिल्लाका माविमा प्रधानाध्यापक हुनुहुने सात जना व्यक्तित्व हुनुहुन्छ तर भोलि सम्मानित हुनेमा तीनजना मात्र हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘यो वर्ष सम्मानित हुनुहुनेमा युनिभर्सल एकेडेमीका संस्थापक प्रिन्सिपल विमल अधिकारी, पाणिनी संस्कृत माविका प्रधानाध्यापक नवराज अधिकारी र लक्ष्मी माविका प्रधानाध्यापक शान्ता पौडेल अधिकारी हुनुहुन्छ ।’
अन्य प्रधानाध्यापकहरू विशेष परिस्थितिले उपस्थित हुन नसक्ने जानकारी गराउनु भएको हुँदा उहाँहरूलाई आउँदा अनुकुल कार्यक्रममा सम्मान गर्ने निर्णय भएको समेत पहाडीले जानकारी दिनुभएको छ ।
उक्त अवसरमा वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन समेत पेश भई पारित गर्ने तयारी रहेको समेत जानकारीमा आएको छ । प्रतिष्ठानले विद्यालयस्तरमा अध्ययन गर्ने तीन जना बाबु–नानीलाई छात्रबृत्ती दिएर पढाउँदै आएको छ ।
अब भने समितिको ध्यान भवन निर्माणमा केन्द्रीत हुने प्रतिष्ठानको जिल्ला समितिका महिला उपाध्यक्ष सिर्जना अधिकारीले बताउनु भएको छ ।

प्रकाशित मिति २०८३ असार ५, शुक्रबार २१:५८ गते
हजुरको प्रतिक्रिया