
बेसीशहर– लमजुङमा महिला प्रहरी र पत्रकार महिलाबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । ‘लागुऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्ध सप्ताहव्यापी कार्यक्रम अन्र्तगत यहाँको आम्बोटे स्थित फुटसल हलमा सो मैत्रीपूर्ण खेलमा २÷२ गोलको बराबरी भएको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजना, जिल्ला प्रशासन कार्यालयको सहयोग तथा पत्रकार महासंघ लमजुङ र सञ्चारिका समूहको समन्वयमा भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा २–२ गोलको वरावरीसँगै खेल समापन भएको हो । खेल बराबरीमा टुंगिएको हुँदा जीत हार गरिएन पत्रकार महासंघकी उपाध्यक्ष बसन्ता भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उहाँले खेलका सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो । आफ्नो मन्तव्यका क्रममा उहाँले सम्पन्न मैत्रीपूर्ण फुटसल खेलले प्रहरी र सञ्चारकर्मी बीचको सम्बन्धलाई अझ सुदृढ बनाउने काम गरेको बताउनु भयो । उहाँले यो कार्यक्रमले लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले स्वस्थ जीवनयापनका लागि खेलकुद उपयोगी रहेको भन्दै खेल गतिविधिमा सहभागीले युवाहरूलाई दुव्र्यसनबाट टाढा रहन मदत पुग्ने धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेत, सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म लमजुङका सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारी, पत्रकार महासंघका जिल्ला अध्यक्ष सन्देश पौडेल सहितका पत्रकारहरू, स्थानीयवासी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति २०८३ असार १२, शुक्रबार ०८:३५ गते