
मालिङ(लमजुङ)– लमजुङको क्व्होलासोथार गाउँपालिका विभिन्न विधामा ख्याति कमाएका १२ जनालाई सम्मान सम्मान गरेको छ । गाउँसभाको २०औँ अधिवेशनअन्तर्गत आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमाथिको छलफल कार्यक्रममा घलेगाउँमा असार ११ गते उनीहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनुहुनेमा कृषि, शिक्षा, स्वास्थ्य, कर्मचारी सेवा, कला–संस्कृति, पूर्वाधार निर्माण तथा राजस्व संकलनका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका १२ जना व्यक्तित्वहरु हुनुहुन्छ ।
सम्मानित हुनुहुनेमा कला तथा संस्कृतिको क्षेत्रमा योगदान पुर्याउनु हुने तीन जना हुनुहुन्छ । उहाँहरुमा वडा नं. ६ पसगाउँ घर भइ गण्डकी प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति समेत रहनु भएका लोकसंस्कृति अनुसन्धान तथा संरक्षणमा सक्रिय गोरे गुरुङ, गुरुङ फिल्म निर्देशक एवम् कलाकार वडानं. ४ भुजुङका कमलबहादुर गुरुङ र वडा नं. २ मालिङ घर रहेका कलाकार गजेन्द्र गुरुङ (जसबहादुर गुरुङ) हुनुहुन्छ ।
वडा नं. ३, घलेगाउँस्थित उत्तरकन्या मन्दिर शौचालय निर्माण उपभोक्ता समितिका अध्यक्ष नवराज घले, आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकाभित्र सबैभन्दा बढी राजस्व संकलन गरी आन्तरिक आय अभिवृद्धिमा योगदान पुर्याएका वडा नं. ६, पसगाउँलाई ‘उत्कृष्ट राजस्व संकलन वडा’ का रुपमा सम्मान गरिएको छ ।
यस्तै, वडा नं. ६ पसगाउँस्थित प्रगतिशील एकीकृत कृषि फार्मका सञ्चालक होमबहादुर गुरुङ र वडा नं. ४ भुजुङस्थित नमुना कृषि तथा पशुपन्छी फार्म सञ्चालन गर्ने कुलबहादुर विकलाई सम्मान गरिएको छ ।
वडा नं., बगुमस्थित घले उत्तरकन्या माविका शिक्षक उमलबहादुर विक र वडा नं. ९ गिलुङस्थित बुद्धोदय माविका शिक्षक प्रकाश उपरकोटीलाई पनि सम्मान गरिएको छ ।
यस्तै, एसईई २०८२ मा क्व्होलासोथार गाउँपालिकाबाट सबैभन्दा बढी ३.५४ जीपीए ल्याउने वडा नं. १ बाग्लुङपानीकी शेरप लामालाई सम्मान गरिएको छ ।
गाउँपालिकाले उत्कृष्ट कर्मचारीतर्फ पशु सेवा शाखामा कार्यरत रुपनारायण चौरसियालाई र स्वास्थ्य शाखामा कार्यरत मेडिकल अधिकृत डा. सागर थापालाई सम्मान गरेको छ ।
उहाँहरुलाई गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, उपाध्यक्ष गमीमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्ले, वडा नं. ४ का वडाअध्यक्ष नारायण गुरुङसहित जनप्रतिनिधि र कर्मचारीले सम्मान गर्नु भएको थियो । उहाँहरुलाई २५ प्रतिशत करकट्टी गरेर जनही हजार रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेले जानकारी दिनु भएको छ ।
गाउँपालिकाले अघिल्लो दिन पालिकाको नीति तथा कार्यक्रम तथा ३८ करोड ९३ लाख ६२ हजार २ सय ५ रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।
प्रकाशित मिति २०८३ असार १३, शनिबार १९:०७ गते