
काठमाडौँ– राजधानीको संवाद डबलीमा योग तथा प्राकृतिक चिकित्सा संघद्वारा आयोजित कार्यक्रमका वक्ताहरूले डा. चेतना पौडेललाई अनावश्यक विवादमा तानेको दावी गरेका छन् । ९ औं राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको सन्दर्भमा आयोजित सो कार्यक्रममा संघका अध्यक्ष डा. जनक बहादुर बस्नेतले डा. पौडेलको गिरफ्तारी र राज्यको अनुसन्धान प्रक्रिया प्राकृतिक चिकित्सामाथिकै प्रहार भएको असार २० गते बताउनु भएको हो ।
डा. बस्नेतले प्राकृतिक चिकित्सालाई राज्यले प्राथमिकता नदिएको दावी गर्नुभयो । पौडेलले ‘राजीव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स’ बैङ्गलोरबाट साढे ५ वर्षको मेडिकल कोर्स अध्ययन पूरा गरी २१ वर्षदेखि चिकित्सकीय अभ्यासमा रहेको बताउँदै दुई दशक बढी डाक्टरी पेसा गरिरहेकी व्यक्ति कसरी नक्कली डाक्टर हुन सक्छिन् ? भन्ने प्रश्न उठाउनु भएको छ ।
सो अवसरमा वनेपाल सरकारले योग, आयुर्वेद तथा प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्ने माग उठाइएको छ । डा. बस्नेतले विश्वभर प्रभावशाली बन्दै गइरहेको बेला नेपालमा यो चिकित्सा ओझेलमा पर्नु दुर्भाग्य रहेको बताउनु भयो । उहाँले पछिल्लो समयमा अत्यधिक रोगीहरू बढ्दै जानुमा राज्यकै नजरमा प्राकृतिक चिकित्साप्रतिको बुझाइमा अस्पष्टता हुनु मुख्य समस्या रहेको उल्लेख गर्नुभयो ।
प्रा.डा. सञ्जय पोखरेलले डा. चेतना पौडेललाई राज्यले अनावश्यक विवादमा तानेर प्राकृतिक चिकित्सामाथि प्रहार गरेको बताउनु भयो । उहाँले विश्वभर प्रभावशाली बन्दै गइरहेको योग तथा प्राकृतिक चिकित्सालाई नेपाल सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।
सो क्रममा डा. चेतना पौडेलले आफूले योग तथा प्राकृतिक चिकित्सा सम्बन्धी अध्ययन गरी नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भई दुई दशक बढी यही पेसा गरिरहँदा आफूमाथि पूर्वाग्रह साधिएको भन्दै दुखेसो व्यक्त गर्नुभयो ।
डा. हेमराज कोइरालाले प्राकृतिक चिकित्साको विकास क्रमबारे प्रस्ट पार्दै यस चिकित्सा पद्धतिको उद्गम थलो नेपालमै यो हेलाँमा परेको भन्दै दुःख व्यक्त गर्नु भयो भने डा. रविनलाल श्रेष्ठले ब्याचलर अफ नेचुरोप्याथी एण्ड योगिक साइन्सेस (बीएनवाईएस) प्रभावकारी र प्रमाणित चिकित्सा भएको भन्दै योग तथा प्राकृतिक चिकित्साको नेपालमा कानुनी मान्यताका बारेमा तथ्यहरू प्रस्तुत गर्नु भएको थियो ।
डा. सन्जु खईजुले यस चिकित्साको प्रभावकारिता र महत्वलाई बढाउन राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिनु भयो । उक्त अवसरमा योग तथा प्राकृतिक चिकित्सा अध्ययन पुरा गरेका नयाँ डाक्टरहरूलाई सम्मान समेत गरिएको थियो ।
प्रकाशित मिति २०८३ असार २१, आईतवार ०८:०२ गते