
हङकङ– हङकङमा बसेर जन्मभूमि नेपाल प्रति चासो र चिन्ता व्यक्त गर्दै देशमा सुशासन एवं सुव्यवस्था कायम गर्न गर्नु भएको विशेष योगदान प्रति रास्वपा बाग्मती प्रदेशका सहमहामन्त्री स्वस्तिका लामिछानेले कृतज्ञता व्यक्त गर्नु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) स्थानीय प्रवास नेपाली सम्पर्क विभाग हङकङद्वारा एक विशेष स्वागत तथा अन्तरक्रिया जुलाई ४(असार २० गते) आयोजित कार्यक्रममा उहाँले त्यस्तो बताउनु भएको हो ।
आफ्नो शुभकामना मन्तव्यको क्रममा कार्यक्रमको विशेष व्यक्तित्व रहनु भएकी लामिछानेले उक्त कार्यक्रमको आयोजकहरूलाई आत्मैदेखी धन्यवाद दिनु भएको थियो । उहाँले रास्वपाले धेरै दुःखका दिनहरू देखेरै, हामी सबैको मायाले अहिलेको स्थिति भएको यथार्थ कसैले बिर्सनु हुँदैन भन्नुभयो । सबैभन्दा महत्वपूर्ण पार्टी सभापति रवि लामिछाने उपर पुराना दलको सरकारले गरेको प्रतिशोध पूर्ण अन्यायका बिरूद्धमा हस्ताक्षर गरेर हातेमालोमा जोडिनु भएका, गएको चुनावमा पनि प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेर जोडिनुहुने सबैलाई पार्टीको तर्फबाट उहाँले धन्यवाद दिनुभएको थियो । अब पनि स्थानीय तथा प्रदेशको चुनावमा हामी सबै एक भएर हातेमालो गर्नुपर्नेमा विशेष ध्यान दिन उहाँले जोड दिनुभयो । उहाँले भर्खर सम्पन्न महाधिवेशनमा केही समय अभावले केही कमीकमजोरी भएको आफूलाई पनि लागेको, आगामी दिनमा त्यस्ता प्राविधिक त्रुटि सच्याउँदै अघि बढ्ने छौँ भन्नुभयो ।
हामीले पार्टीलाई एक ढिक्का बनाएरै अगाडि लैजाने हो, जनताको नजरबाट गिर्ने कुनैपनि काम गर्ने छैनौ, यदि कतै कमीकमजोरी भए पार्टी भित्र खबरदारी गर्न आफू पछि नहट्ने समेत प्रण गर्नु भयो । उहाँले सुरूवात देखिनै घरका सारा काम छाडेर विकृत राजनीतिक फोहोर देशबाट अन्त्य गर्न भनेरै आफू पार्टी सङ्गठनमा जोडिएको, कतिपय अवस्थामा आफ्नै आमालाई घरमा काममा नसघाउँदाको क्षणको समेत स्मरण गर्दै ‘आमा घरको काम त फुर्सदमा गरौंला पहिला देशको राजनीतिक फोहोर सफा गर्छौ’ भन्ने सभापतीको भनाईले आफ्नो पनि मन छोएको उहाँले बताउनुभयो । तपाई प्रवासमा रहेर पहल गर्नुस् हामी नेपालमा रहेर लागि पर्छौ, यसरी सबै मिलेर देश बनाउन सके एकदिन तपाईं हामी सबै स्वदेशमैै बसेर रमाउला उहाँले भन्नुभयो ।
कार्यक्रमका अर्का अतिथि रास्वपा प्रवास मकाउ सभापति उदित खत्रीले हङकङ र मकाउमा रहेका अनियमितता विरुद्ध आफू खरो भएर लागिपर्ने बताउदै सहयोग गर्नुस, ‘के त्याग्नुपर्छ म तयार छु तर अन्याय बिरुद्ध चुप बस्न सकिदैन’ भन्नु भयो । उहाँले रास्वपा स्थापना भन्दा धेरै पहिले ‘सिधा कुरा जनतासँग’ देखिनै आफू रविको फ्यान भएको स्मरण गर्दै निरन्तर पार्टी गठनदेखि आजको मितिसम्म आएको र रास्वपाले गलत गरे आफूले टुलुटुलु नहेर्ने बताउनु भयो । बिगतका पुराना पार्टीबाट पाठ सिक्दै पार्टीलाई देशहितमा निरन्तर लागाइरहन आग्रह गर्नुभयो । उहाँले आफ्नो परिवारबाट तीन बर्षको बच्चा उमेरदेखि टाढा र अपरिचित रहेर बिदेश बस्दाको पिडालाई अब रास्वपा पार्टीले बुझेर सम्बोधन हुनेगरी काम गर्ने तर्फ ध्यानाकर्षण गराउनुभयो ।
रास्वपा प्रवास सम्पर्क विभाग हङकङका सभापति झम गुरुङले कार्यक्रमको सभापतित्व गर्दै सबैलाई स्वागत गर्नुभएको थियो । उहाँले हङकङका तमाम समस्या समाधानमा सबै संघसंस्थाहरूसँग मिलेर हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो ।
रास्वपा हङकङका उपाध्यक्ष अधिराज राईले स्वागत गर्नुभएको प्रवक्ता दधिराम अधिकारीले बताउनु भयो । हामीलाई सुशासन र काम चाहिएको हो त्यसको लागि सरकारलाई सहयोग गर्नु पर्छ र खबरदारी पनि गरौ राईले भन्नुभयो । रास्वपा हङकङका सचिव शिवचन्द्र लिम्बूले उक्त कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
प्रकाशित मिति २०८३ असार २२, सोमबार ०७:४१ गते