
काठमाडौं– नेपाली लोक संगीतको टेलिभिजन रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन–२’ को देशव्यापी अडिसन आजबाट सुरु हुने भएको छ । पहिलो अडिसन कार्यक्रमको सुरुवात आज असार २७ गते इटहरीबाट हुने भएको हो । इटहरीको क्लब केमा उक्त कार्यक्रम हुने आयोजकको भनाइ छ । सो प्रतियोगिता पनि एभेन्टोज स्टुडियोको आयोजनामा हुन लागेको हो ।
एभेन्टोज स्टुडियोको आयोजनामा हुन लागेको शोको अडिसन सातै प्रदेशमा हुनेछ । नयाँ पुस्ताका प्रतिभावान गायक–गायिकालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यका साथ यो प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी हुन कम्तीमा १६ वर्ष उमेर पुगेका नेपाली नागरिक हुनुपर्नेछ । महिला तथा पुरुष दुवैका लागि प्रतियोगिता खुला रहनेछ । यो शोका लागि देशका विभिन्न जिल्लामा रहेका मौलिक लोक प्रतिभालाई राष्ट्रियस्तरको अवसर उपलब्ध गराउने उद्देश्यले यसपटक सातै प्रदेशलाई समेट्ने गरी अडिसन अभियान सञ्चालन गर्न लागिएको आयोजकको भनाइ छ । उनीहरूका अनुसार नेपाली लोक संगीतको क्षेत्रमा नयाँ पुस्ताका प्रतिभावान गायक–गायिकालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यका साथ आयोजना गरिने भएको हो ।
नेपाली लोक सङ्गीतप्रति रुचि र समर्पण भएका, परम्परागत लोक भाका तथा शैलीको राम्रो ज्ञान भएका, स्पष्ट उच्चारणसहित भावपूर्ण प्रस्तुति दिन सक्ने तथा प्रश्न– उत्तर शैलीमा तत्काल दोहोरी सिर्जना गरेर प्रस्तुत गर्न सक्ने प्रतिभालाई प्राथमिकता दिइने विज्ञप्तिमा भनिएको छ ।
आयोजकका अनुसार असार २९ गते चितवन, असार ३१ गते बुटवल, साउन १ गते नेपालगञ्ज, ४ गते पोखरा तथा ८ र ९ गते काठमाडौंमा अडिसन सञ्चालन गरिनेछ । आयोजकका अनुसार पहिलो संस्करणको सफलतासँगै दोस्रो संस्करणलाई अझ व्यवस्थित, भव्य र प्रतिस्पर्धात्मक बनाउने तयारी गरिएको छ ।
चितवनको चितवन गार्डेन रिसोर्ट, बुटवलको ग्रीन भ्याली रेस्टुरेन्ट, नेपालगञ्जको होटल बाटिका, पोखराको साइमन पार्टी प्यालेस तथा काठमाडौंको न्युजा पार्टी भेन्यु एन्ड रेस्टुरेन्टलाई अडिसन स्थलका रूपमा चयन गरिएको आयोजकको भनाइ छ ।
माधवराज खरेलको निर्देशन रहने यो प्रतियोगिता एपीवान एचडी टेलिभिजनबाट प्रसारण हुने विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति २०८३ असार २७, शनिबार ०७:४४ गते