
काठमाडौं– नेपाल मेडिकल कलेजमा आजदेखि १५ दिने च्यारिटी स्पोट्रर्स फेस्ट सुरु भएको छ । आयोजक कलेजका प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले दुई सातासम्म हुने उक्त च्यारिटी स्पोट्र्स फेस्ट म्याराथुनको उद्घाटन गर्नुभएको हो ।
प्रबन्ध निर्देशक डा. यासमिनले सो अवसरमा विद्यार्थीहरूलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न खेलकूद महत्वपूर्ण रहेको बताउनु भयो । विद्यार्थीहरूमा अन्तरनिहीत प्रतिभा उजागर गर्न र उनीहरूको अध्यापन तथा अतिरिक्त क्रियाकलापमा सहयोग पुर्याउन कलेज प्रशासन सदैव साथ रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कार्यक्रमले विद्यार्थी, फ्याकल्टी, नर्स तथा कर्मचारीहरू विच सुमधुर सम्बन्ध स्थापित गर्न टेवा पुग्ने बताउनु भयो ।
विद्यार्थीमा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउँदै आर्थिक अभावसँग जुधिरहेका बिरामीहरूलाई सहयोग जुटाउने उद्देश्यले च्यारिटी स्पोट्रर्स फेस्ट आयोजना गरिएको हो ।
म्याराथुनमा पुरूषतर्फ अजय क्षेत्री पहिलो, सुमन तामाङ दोश्रो र मनिष ऐर तेश्रो हुनुभयो । त्यस्तै, महिलातर्फ सन्ध्या पौडेल पहिलो रोशीका बैद्य र दर्शिता भण्डारीले क्रमशः दोश्रो र तेश्रो स्थान हासिल गर्नुभयो । उहाँहरूलाई कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले मेडल तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
स्पोट्रर्स फेस्टमा फुटसल, बास्केटबल, भलिबल, ब्याडमिन्टन, टेबल टेनिस, चेस, म्याराथन, स्प्रिन्ट, डोरी तान्ने खेल, पब्जी लगायतका प्रतियोगिताहरू हुने स्वास्थ्य तर्फ हाम्रो प्रयासकी अध्यक्ष डा. असिमा गौतमले जानकारी दिनुभयो ।
कार्यक्रममा कलेजकी निर्देशक डा. नुसरत जहाँ अन्सारी, अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्याय, फ्याकल्टी तथा विद्यार्थीहरूको सहभागीता रहेको थियो । स्वास्थ्यतर्फ हाम्रो प्रयास (OATh) सँगको सहकार्यमा भइरहेको च्यारिटी स्पोट्रर्स फेस्टमा एमविविएस, विडिएस, विएस्सी नर्सिङका विद्यार्थीहरू, फ्याकल्टी तथा स्टाफहरूको उल्लेखनीय सहभागीता छ ।
प्रकाशित मिति २०८३ असार २८, आईतवार ०६:०० गते