
काठमाडौं– आत्मदाह प्रयास पछि उपचारको क्रममा ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको परिवारसँग सरकारले ९ बुँदे सहमति गरेको छ । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि नेपालीले आत्मदाहको असार २५ गते प्रयास गरेका थिए । भोलिपल्ट असार उपचारको क्रममा वीर अस्पतालको बर्न युनिटमा उनको निधन भएको हो ।
मुगुको सोरु गाउँपालिका– १ जवलधारा घर भई काठमाडौंमा राइड सेयरिङको काम गर्दै आएका नेपालीले असार २५ गते नगर प्रहरीसँगको पार्किङ विवाद र ‘ह्वील लक’को विषयलाई लिएर शरीरमा पेट्रोल खन्याई आत्मदाह प्रयास गरेका थिए । गम्भीर घाइते भएका उनको असार २६ गते वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा निधन भएको थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको उपस्थितिमा २८ गते जिल्ला प्रशासन कार्यालयमा भएको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो ।
सो घटनाको छानबिन गर्न सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा छानबिन समिति गठन गर्ने सहमति भएको छ । उक्त समितिले गठन भएको सात दिनभित्र प्रतिवेदन सरकारसमक्ष पेस गर्ने छ ।
उनको निधनपछि सरकारसँग सहमति नजुट्दा पीडित परिवारले शवसमेत बुझ्न मानेको थिएन । नेपाल सरकार तथा काठमाडौं महानगरपालिका र पीडित परिवारबीच उचित राहत प्रदान गर्ने सहमति भएको छ । सो अनुसार मृतककी श्रीमती एकमाया नेपालीलाई योग्यताका आधारमा रोजगारी सुनिश्चित गर्ने, छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौं महानगरपालिकाले खर्चको प्रबन्ध गर्ने भएको छ । त्यस्तै, समितिको प्रतिवेदनका आधारमा शहीद घोषणा गर्ने सहमति भएको छ ।
घटना भएको दिन फिल्डको अग्रभागमा खटिएका काठमाडौं महानगरपालिकाका नगर प्रहरी कर्मचारीहरूलाई छानबिन आयोगको प्रतिवेदन नआउन्जेल तत्कालका लागि निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले महानगरपालिकालाई पत्राचार गर्ने सहमति भएको छ ।
साथै, महानगरले आश्रित परिवारलाई राहतस्वरूप यथोचित रकम उपलब्ध गराउने, काठमाडौंमा हुने काजक्रिया तथा अन्तिम संस्कारको सम्पूर्ण व्यवस्थापन र खर्च व्यहोर्ने सहमति भएको छ ।
मृतकका एकाघरका परिवारको स्वास्थ्य बिमाको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत मिलाइनेछ सहमति पत्रमा भनिएको छ । सो सहमति पत्रमा सरकारी पक्षबाट प्रमुख जिल्ला अधिकारी पौडेल र महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गर्नु भएको छ ।
पीडित पक्षका तर्फबाट मृतककी श्रीमती एकमाया नेपाली, बुवा चिने नेपाली, आमा सौरी नेपाली, दाजु मदन नेपाली, बहिनी सुन्दरी नेपालीसहित वार्ता समितिका सदस्यहरूले हस्ताक्षर गरेका छन् ।
सहमति भएसँगै विगत तीन दिनदेखि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा रोकिएको मृतक नेपालीको शवको पोस्टमार्टम र बुझ्ने प्रक्रिया अघि बढाउन पीडित परिवार तयार भएको छ ।
प्रकाशित मिति २०८३ असार २९, सोमबार ०८:१७ गते