
निजगढ(बारा)– गृहमन्त्री सुधन गुरुङ मिटरब्याज पीडितका समस्या सुन्न र उनीहरूलाई भेट्न निजगढ पुग्नु भएको छ । गृहमन्त्री आफैं भेट्न आउन लागेको खबर पाएपछि न्यायको माग गर्दै ‘पैदल न्याय मार्च’ गर्र्दै काठमाडौं हिँडेका मिटरब्याज पीडित असार ३० गते यहीँ रोकिएका छन् । गृहमन्त्रीसँग पीडितका प्रतिनिधिहरूको बार्ता सुरु भएको छ ।
यहाँ स्थित उद्योग वाणिज्य संघको सभाहलमा विश्राम गरेर असार ३० गते बिहानै पुनः पैदल मार्चमा निस्किन लागेका पीडितहरूलाई स्थानीय प्रहरीले गृहमन्त्री भेट्न आउदै हुनु भएको जानकारी दिएका थिए । प्रहरीको जानकारीपछि उनीहरूले केही समयका लागि आफ्नो यात्रा रोकेर गृहमन्त्रीलाई पर्खिरहेका थिए । पीडितका नेता मनोज पासवान हामी आज बिहान पैदल मार्चमा निस्किसकेका थियौं, प्रहरीको जानकारीपछि पुनः हलमा बसेका छौं भन्नुभयो । उहाँले भन्नुभयो, ‘करिब दुई सय मिटर निस्केपछि स्थानीय प्रहरीले गृहमन्त्री नै हामीलाई भेट्न आउदै हुनु भएको जानकारी दिएपछि फर्केर फेरि हलमै बसेका हौं ।’
यतिबेला भने गृहमन्त्रीसँग पीडितका प्रतिनिधिहरूको बार्ता सुरु भइसकेको छ ।
मिटरब्याज र ठगीविरुद्ध न्यायको माग गर्दै यही असार २५ गते जनकपुरधामबाट निस्किएको पीडितको ‘पैदल न्याय मार्च’ हिजो साँझ यहाँ आइपुगेको हो ।
प्रकाशित मिति २०८३ असार ३०, मंगलवार १०:२० गते