
खुदी(लमजुङ)– आफैले चलाएको गाडीबाट दुर्घटनामा पर्नु भएका लमजुङको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । सोही गाउँपालिका– ३ को सुरुङमार्ग नजिक जल्केनीमा साउन २ गते विहान उहाँ दुर्घटनामा पर्नु भएको हो ।
आज साउन २ गते साइक्लिङ सङ्घ लमजुङद्वारा ‘झरनादेखि झरनासम्म कोरा २०२६’ को कार्यक्रम चलिरहेको थियो । सो कार्यक्रमको क्षेत्र जिल्ला सदरमुकाम बेसीशहर नगरपालिका– १ को आकाशे (गाईखुरे)झरनादेखि मर्स्याङ्दी गाउँपालिका– ८ को हामखोल झरनासम्म निर्धारण थियो । ‘कोरा’ २०२६ को समापन स्थल हामखोला झरनामा ‘प्रथम टुर दि लमजुङ २०२६’ सम्बन्धी पत्रकार सम्मेलन समेतको कार्यक्रम राखिएको थियो ।
कार्यक्रमका सहभागी भएका साइकलयात्री र पत्रकारहरूको टोली गाईखुरे झरनाबाट साइकल यात्रा सुरु गरी बेसीशहर नगरपालिका– २, ३, ८, ७ र ६ नंबर वडा हुँदै मर्स्याङ्दी गाउँपालिकाको प्रवेश नाका वडानं. ९ मा सो गाउँपालिकाले हालै निर्माण गरेको स्वागतद्वारमा पुगेको थियो । त्यो खबर पाएर उक्त ‘कोरा’ कार्यक्रमका सहभागीहरूलाई खानेपानीद्वारा स्वागत गर्नका लागि अध्यक्ष गुरुङले आफै आउने खबर पठाउनु भई कार्यक्रम स्थलतर्फ आउँदै हुनुहुन्थ्यो ।
उहाँ पालिकाको ग १ झ ३३१ नम्बरको गाउँपालिकाको बोलेरो जिपमा खानेपानीका कार्टुन बोकेर आफैले गाडी हाँकेर कार्यक्रम स्थलमा आउँदै गर्दा मस्र्याङ्दी नदी किनारमा खसेर दुर्घटनामा पर्नु भएको प्रहरी भनाइ छ । उहाँ आफैले चलाइरहनु भएको गाडी सडकबाट करिब ६० मिटर तल खसेको थियो । सो दुर्घटनामा अध्यक्ष गुरुङ सामान्य घाइते (ढाडमा दुःखाई) हुनु भएको जानकारी आएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताउनु भयो । उहाँका अनुसार जिपको अगाडिको सिटमा राखिएको पानीको कार्टुन कोल्टिएपछि त्यसलाई सम्हाल्ने क्रममा सवारी अनियन्त्रित भई सडकबाट तल खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उहाँले भन्नुभयो, ‘दुर्घटनापछि अध्यक्ष गुरुङलाई तत्कालै प्रदेश अस्पताल लमजुङ, बेसीशहरमा प्राथमिक उपचार गरिएको थियो । उपचारका क्रममा उहाँको ढाड र टाउकोमा दुखाइ देखिएकाले थप उपचारका लागि काठमाडौं गरिफर गरिएको हो ।’
अध्यक्ष गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको लमजुङ प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०८३ श्रावण २, शनिबार १७:५८ गते