काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार नेता श्रेष्ठको साउन १२ गते निधन भएको हो । उहाँ ८३ वर्षका हुनुहुन्थ्यो ।
ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा उहाँको निधन भएको हो । उहाँ केही समयदेखि सोही अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । श्रेष्ठ विगत एक वर्षदेखि प्याङक्रियाजको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।
उहाँको भारत र नेपालका विभिन्न अस्पतालहरूमा उपचार गरिएको थियो । प्याङक्रियाजमा अघिल्लो वर्षदेखि नै समस्या देखिएपछि नर्भिक, धुलिखेल अस्पतालमा उपचारपछि गत वर्ष श्रेष्ठको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गरिएको थियो । क्यान्सरको उपचारमा उहाँलाई किमो दिइएको थियो । तीन महिना उपचारपछि उहाँ स्वदेश फर्किनु भएको थियो ।
अर्थशास्त्रका स्नातक गोपालमान श्रेष्ठको राजनीति वाहेकको पेशा व्यापार हो र उहाँ रेडक्रसका आजीवन सदस्य समेत हुनुहुन्छ । राजनीतिक यात्राका क्रममा साढे पाँच वर्ष जेलमा विताएका श्रेष्ठको रुचि समाजसेवामा पनि छ । प्रजातन्त्रका लागि निरन्तर गरेको संघर्षले आफूलाई संविधानसभामा पु¥याएको ठान्ने श्रेष्ठ सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने र आदिवासी, जनजाति, महिला लगायत सबै पिछडिएका वर्गको उत्थानका लागि जोडदार आवाज उठाउन प्रतिवद्ध हुनुहुन्थ्यो ।
नेता श्रेष्ठलाई हालै कांग्रेसले वरिष्ठ नेता बनाएको थियो । गत पुसमा भएको विशेष महाधिवेशन उद्घाटन सत्रमा उहाँले भाग लिनु भएको थियो । विशेष महाधिवेशनमा श्रेष्ठले भृकुटीमण्डपमा दिनु भएको भाषण निक्कै चर्चित बनेको थियो । उहाँ कांग्रेसका पुरानामध्येका एक नेता मानिनु हुन्थ्यो ।
श्रेष्ठले पार्टीमा गरेको योगदान अनुसार सम्मानसहित उहाँलाई वरिष्ठ नेता बनाइएको काँग्रेसको भनाइ थियो ।
२०१७ सालदेखि, विद्यार्थी अवस्थाबाटै प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील श्रेष्ठ २०३६ को जनमतसंग्रह, २०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलन र २०६२–६३ को तोस्रो जनआन्दोलनका सक्रिय सहमागी हुनुहुन्थ्यो । लोकतन्त्र स्थापनाको आन्दोलन र शान्ति प्रक्रिया अघि बढाउने कार्यमा उहाँले अग्रपंक्तिमा रहेर काम गर्नुभएको छ ।
स्याङ्जा स्थायी घर भई त्यहाँको निर्वाचन क्षेत्र नं. १ बाट पटक पटक सांसद निर्वाचित हुनु भएका श्रेष्ठ भौतिक योजना, वन, उद्योग, शिक्षालगायत मन्त्रीसमेत हुनुहुभयो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा विभिन्न समयमा पक्राउ परी उहाँ ५ वर्ष जेलसमेत बस्नु भएको थियो ।
काङ्ग्रेस संसदीय दलको प्रमुख सचेतक समेत रहनु भएका श्रेष्ठ नेपाली काङ्ग्रेस(प्रजातान्त्रिक) का कार्यवाहक सभापति हुनुहुन्थ्यो ।
श्रेष्ठले नेपाली कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापतिसमेत रहनु भएको थियो ।
श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि भोलि बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ ।
कांग्रेस सभापति थापाले यही साउन ७ गते पार्टीको केन्द्रीय नीति अनुसन्धान प्रतिष्ठानलो गरेको कार्यक्रममा श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता घोषणा गर्नु भएको थियो । थापाले केन्द्रीय समितिबाट अनुमोदन हुने गरी श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गर्नु भएको थियो ।
महामन्त्री प्रदीप पौडेलले आज १२ गते बिहान हेलिअस अस्पताल पुगेर श्रेष्ठलाई वरिष्ठ नेतामा मनोनीत गरेको प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो । त्यसको केही घण्टा नबित्दै तथा काँग्रेसको केन्द्रीय समिति बैठक बस्नु अघि नै श्रेष्ठको निधन हुन गएको छ ।
स्व. श्रेष्ठका ३ छोरा र ६ छोरी सहित नौ जना सन्तान छन् ।
प्रकाशित मिति २०८३ श्रावण १२, मंगलवार २०:२२ गते