काठमाडौँ– रश्मी रिजाल मृत्यु प्रकरणमा क्यापिटलका सिइओ विकास खनालसमेत तानिएका छन् । सानिमा क्यापिटलकी कम्प्लाइन्स अफिसर रिजालको आत्मदाह पश्चात मृत्यु प्रकरणमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी परेसँगै साउन १३ गते त्यस्तो खुलासा भएको हो ।
रश्मी नक्सालमा कार्यालय रहेको सानिमा क्यापिटल लिमिटेडको मर्चेन्ट हेडको रुपमा कार्यरत थिइन् । नुवाकोटको तादी गाउँपालिका स्थायी घर भइ हाल काठमाडौँ तारकेश्वर नगरपालिका– ९ बस्दै आएकी रश्मी तारकेश्वर– १ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्रमा एमजीको कोमेटमा मृत अवस्थामा भेटिएकी थिइन । ४५ वर्षीया रिजाल साउन ८ गते बिहान ७ बजे घरबाट निस्केपछि सम्पर्कविहीन भएकी थिइन् ।
उनको मृत्यु प्रकरणमा तीन जनाविरुद्ध जाहेरी परेको प्रहरी स्रोतले पुष्टि गरेको छ । स्रोतका अनुसार उक्त जाहेरीमा घटना हुनुअघि सिइओ खनालसहित तीन जना रश्मीको खोजीका लागि भन्दै घरमै पुगेको रहस्य खुलेको छ । उनीहरूले रश्मीलाई खोज्ने बाहनामा घर खानतलासी गरेकोसमेत पारिवारिक स्रोतको भनाइ छ । त्यसो त उनीहरूले के खोजेका थिए ? के पाए ? र के लिएर गए ? भन्ने नखुलेको बताइन्छ ।
वेपत्ता भएको भोलिपल्ट उनले चलाउने गरेको बीएई ०४१० नम्बरको ईभी कार भित्र रश्मी मृत अवस्थामा भेटिएकी थिइन् । उनी कारको पछिल्लो सिटमा थिइन्, गाडीको चाबी चालक सिटमै थियो ।
रश्मीका आफन्तले कार नजल्नु र मृतकको शरीर पनि धेरै नजलेको अवस्थामा फेला परेपछि घटना रहस्यमय रहेको दाबी गरेका छन् । त्यसैले रश्मीका श्रीमान् श्रीराम खनालले ज्यानसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिनु भएको हो ।
प्रहरीले प्राप्त प्रमाण, घटनास्थलको अवस्था, घटनास्थलमा भएका सिसिटिभी क्यामेराका फुटेज र परिवारले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीका अनुसार पोष्टमार्टम रिपोर्टले रश्मीको आत्मदाहकै कारण ज्यान गएको पुष्टि गरेको छ तर आत्मदाह गर्नुको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ । सिसिटिभी फुटेज विश्लेषण गर्दा घटनास्थलमा अरू कसैको उपस्थिति नदेखिएको र गाडीको ढोका लक गरिएको पाइएको छ ।
प्रहरीका एक जना अधिकृत भने, ‘तीनजना कर्मचारी घरमा आएको कुरा जाहेरीमा उल्लेख छ, त्यसबारे हामी अनुसन्धान गर्दैछौँ ।’
गाडीमा एयर कन्डिसन अन गरेर सुरुमा कारभन्दा बाहिर शरीरमा पेट्रोल छर्केको र भित्र छिरेर आगो लगाएको अनुसन्धानबाट थाहा भएको छ । गाडीभित्र जलेको अवस्थामा ३ वटा लाइटर प्रहरीले बरामद गरेको छ । अनुसन्धानमा संलग्न प्रहरी वृत्त बालाजुका एक जना अधिकृत भन्छन्, ‘गाडीको ढोका लक गरिएको थियो, आगो उहाँ आफैँले लगाएको सिसिटिभीबाट पनि देखिन्छ ।’
उता एक छोराकी आमा समेत रहेकी रश्मीका सहकर्मीले समेत उनी केही दिनदेखि निराश देखिएको बताएका छन् ।
रश्मीको एक छोरा र श्रीमान छन् ।
प्रकाशित मिति २०८३ श्रावण १४, बिहीबार ०८:४१ गते