सुन्दरबजार(लमजुङ)– एचडीसीएस– नमुना सामुदायिक अस्पतालमा बिरामीको विश्वास बढ्दै गएको छ । बिरामीको चाप र विश्वास बढेर अघिल्लो वर्षको तुलनामा सेवाग्राही करिब २१ प्रतिशतले बृद्धि हुनुले त्यस्तो पुष्टि भएको साउन १५ गते बताइएको हो ।
आर्थिक वर्ष २०८२/८३ मा उपचारदेखि समुदायस्तरीय स्वास्थ्य सेवासम्म उल्लेखनीय उपलब्धि भएको छ । अस्पतालमा सेवा विस्तार भएसँगै एचडीसीएस–नमुना सामुदायिक अस्पतालमा बिरामीको विश्वास बढेको हो । आर्थिक वर्ष २०८२/८३ मा अस्पतालले स्वास्थ्य सेवा विस्तार, आधुनिक उपकरणको प्रयोग, विशेषज्ञ सेवा थप तथा समुदाय केन्द्रित स्वास्थ्य कार्यक्रमहरूको प्रभावकारी सञ्चालनसँगै उल्लेखनीय उपलब्धि हासिल गरेको अस्पतालका सूचना अधिकारी शोभा ठकुरीले बताउनु भयो । उहाँका अनुसार नयाँ सेवाहरू सञ्चालनमा आउनु तथा गुणस्तरीय उपचार सेवाको स्तर बृद्धि भएका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा अस्पतालमा सेवा लिन आउने बिरामीको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको हो । उहाँले भन्नुभयो, ‘अस्पतालको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा २१ हजार १३७ जना बिरामीहरूले बहिरंग (OPD) सेवा लिएका छन् । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २१ प्रतिशतले बढी हो । अघिल्लो आवमा १७ हजार ५१२ जनाले सेवा लिएको उहाँको भनाइ छ ।
आर्थिक वर्ष २०८२/८३ मा अस्पतालले विभिन्न उपचारात्मक तथा प्रवर्धनात्मक स्वास्थ्य सेवामार्फत हजारौँ नागरिकलाई प्रत्यक्ष लाभ पुर्याएको अस्पतालका सूचना अधिकारी ठकुरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘तीन हजार ७०६ जनाले एक्स–रे सेवा, तीन दुई हजार ४९५ जनाले दन्त सेवा लिएका छन् भने तीन हजार ४२२ वटा माईनर शल्यक्रिया भएको छ ।
आपतकालीन सेवा लिने संख्या दुई हजार ९८७ जना रहेको छ । त्यस्तै, एक हजार ९७४ जनाले फिजियोथेरापी सेवा, दुई हजार ७७५ जनाले अल्ट्रासाउण्ड (USG) को सेवा, एक हजार ११० वटा प्रयोगशाला परीक्षण सेवा लिएका छन् । यसैगरी ७११ जनाले मनोविमर्श सेवा, ५९६ जनाले आँखा परीक्षण, १७३ जना ले रेबिज भ्याक्सिन, १२६ जनाको ड़ेंगु परीक्षण सेवा सो अवधिमा सम्पन्न भएका छन् । यी तथ्याङ्कले अस्पतालप्रति सेवाग्राहीको विश्वास निरन्तर बढिरहेको स्पष्ट देखाउँछन् ठकुरीको कथन छ ।
उपचार सेवासँगै अस्पतालले सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै विभिन्न निःशुल्क तथा समुदाय केन्द्रित कार्यक्रमहरू सञ्चालन गरेको ठकुरीले उल्लेख गर्नु भयो । सोही अवधिमा छ हजार ९३६ जना बिरामीले निःशुल्क उपचार सेवा प्राप्त गरेका छन् । मालिङ, राइनास, सुन्दरबजार तथा मस्र्याङ्दी क्षेत्रमा सञ्चालन गरिएका निःशुल्क स्वास्थ्य शिविरबाट दुई हजार ३३५ जना लाभान्वित भएका थिए ।
यसैगरी, समुदायमा सञ्चालन गरिएको नसर्ने रोग (NCD) स्क्रिनिङबाट एक हजार १९८ जना, अस्पतालमा नियमित सञ्चालन हुने मासिक निःशुल्क NCD स्क्रिनिङबाट ८५८ जना, विद्यालयमा सञ्चालन गरिएका स्वास्थ्य शिक्षा, स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रमबाट दुई २८९ जना विद्यार्थी तथा मानसिक स्वास्थ्य, नसर्ने रोग र अन्य स्वास्थ्य सचेतना कार्यक्रममार्फत एक हजार ४५ जना समुदायका नागरिक लाभान्वित भएका छन् ।
अस्पतालमा नयाँ सेवा विस्तार, विशेषज्ञ स्वास्थ्य सेवा, आधुनिक उपकरणको प्रयोग तथा सेवाको गुणस्तरमा गरिएको छ, त्यसले निरन्तर सुधारका कारण अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दै गएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष बिरामीको संख्या उल्लेखनीय रूपमा वृद्धि हुनु समुदायको विश्वास र अस्पताल परिवारको समर्पित सेवाको प्रतिफल भएको स्मरण गर्नुभयो । बिरामीको मागअनुसार पछिल्लो पटक मुटुको समस्या पहिचानका लागि ECHO सेवा पनि सुरु गरिएको श्रेष्ठले जानकारी दिनु भयो ।
भोलिका योजनाका बारेमा जानकारी दिदै अस्पताल प्रमुख श्रेष्ठले आगामी दिनमा शल्यक्रिया सेवाको दायरा अझ विस्तार गर्ने, थप विशेषज्ञ सेवाहरू सञ्चालन गर्ने, अत्याधुनिक स्वास्थ्य उपकरणहरू थप गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अझ सहज बनाउने रहेको छ भन्नुभयो । आर्थिक रूपमा विपन्न नागरिकलाई निःशुल्क र सहुलियतपूर्ण स्वास्थ्य सेवा निरन्तर उपलब्ध गराउने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएको छ ।
समुदायको विश्वास, सेवाप्रतिको समर्पण र निरन्तर सुधारको यात्रासँगै एचडीसीएस–नमुना सामुदायिक अस्पतालले लमजुङ र छिमेकी जिल्लाका नागरिकका लागि भरपर्दो, पहुँच योग्य र गुणस्तरीय स्वास्थ्य सेवाको केन्द्रका रूपमा आफ्नो पहिचान अझ सुदृढ बनाउँदै गएको छ ।
प्रकाशित मिति २०८३ श्रावण १५, शुक्रबार १६:४४ गते