कप्तानगञ्ज(सुनसरी)– सुनसरीको देवानगञ्ज गाउँपालिका– ३, कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा सरकारबीच सातबुँदे सम्झौता भएको छ । सो सम्झौता पत्रमा गृहमन्त्री सुधन गुरुङ आफैले दस्तखत गर्नु भएको छ ।
सम्झौता अनुसार सरकारले मृतकद्वयलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र मृतकका परिवारलाई प्रतिपरिवार रु १० लाख राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त भएको छ । सो घटना साउन १० गते भएको थियो ।
देवानगञ्ज गाउँपालिका– ३ स्थित मदरसाको कानुनी हैसियतका सम्बन्धमा तत्काल छानबिन थालिने भएको छ ।
साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरिने छ ।
सम्झौता पत्रको पूर्ण विवरण :
आज मिति २०८३ श्रावण १४ गते देवानगञ्ज गाउँपालिका, वडा नं. ३, कप्तानगञ्जमा गत श्रावण १० गते भएको दुःखद् घटनामा परी मृत्यु भएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताको अभिभावकहरू (पहिलो पक्ष) र गृह मन्त्रालय (दोश्रो पक्ष) बीच तपसिल बमोजिमका शर्तहरु पूरा गर्ने गरी भएको सम्झौता :
दोश्रो पक्षले पहिलो पक्षले राखेका निम्नानुसारका मागहरू याथाशिघ्र सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
क. मृतकद्वयलाई नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने । साथै मृतकका परिवारलाई १० दश लाख रुपया नेपाल सरकारको तर्फबाट उपलब्ध गराउने ।
ख. २०८३ साल श्रावण १० गते राति देवानगञ्ज– ३, कप्तानगञ्जमा भएको घटनाको निश्पक्ष र प्रभावकारी छानविन गरी दोषी उपर प्रचलित कानून बमोजिम आवश्यक कार्वाही प्रकृया तत्काल अगाडि बढाउने ।
ग. देवानगञ्ज गाउँपालिका– ३ स्थित मदरसाको कानूनी हैसियत तथा सम्बन्धित विषयहरूबारे आवश्यक छानविन तत्काल प्रारम्भ गर्ने ।
घ. प्रत्येक मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारको अवसर उपलब्ध गराउने ।
ङ. उक्त घटनाको अध्ययनका लागि गठित छानविन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू प्रचलित कानून बमोजिम यथाशिघ्र कार्यान्वयनका लागि आवश्यक प्रकृया अगाडि बढाउने ।
च. मृतकद्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने ।
इ. भोलि साउन १५ गते दिनको २ः०० बजे मृत्युको अन्तिम संस्कार गर्ने ।
पहिलो पक्षको तर्फबाट
मृतक ओमप्रकाश मेहताका अभिभावक र
मृतक जयप्रकाश मेहताका अभिभावक
नरेश मेहता
दोश्रो पक्षको तर्फबाट
माननीय गृहमन्त्री सुधन गुरुङ्ग
सहसचिवको नेतृत्वमा छानविन समिति गठन :
यसैबीच, सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका– ३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको बैठकले मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गर्ने साउन ११ गते निर्णय गरेको हो ।
१० गते राति भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएको छ, जसको विवाद मन्दिरमा डिजे बजाएको र झन्डा परिवर्तन गरेको विषयमा सुरु भएको थियो ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको बैठकले मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने सदस्य सचिव रहने उल्लेख छ । सो बैठकमा गृह मन्त्रालयका सचिव र सुरक्षा प्रमुखहरू सहभागी थिए ।
सो घटनामा दुई जनाको निधन भएको छ । मृत्यु हुनेमा कप्तानगञ्ज बस्दै आएका ओमप्रकाश मेहता छन् । त्यस्तै, सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा बिहीबार औरही गाउँपालिका– २ तुलसियाहीका १५ वर्षीय गणेशको मृत्यु भएको थियो ।
प्रकाशित मिति २०८३ श्रावण १५, शुक्रबार १९:२८ गते