बेसीशहर– विश्व हिन्दू महासंघ लमजुङले सुनसरी जिल्लाको देवानगञ्ज लगायतका क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्नु हुँदै त्यसका लागि पीडित परिवारलाई परिपूरण सहितको राहत उपलब्ध गराउनु पर्ने, घाइतेको निःशुल्क उपचार लगायतका माग गर्नु भएको छ । संघका जिल्ला अध्यक्ष रमाराज खनियाले साउन १५ गते जारी गर्नु भएको प्रेस विज्ञप्तिमा सो उल्लेख छ ।

खनियाले दस्तखत गरी जारी गर्नु भएको प्रेस विज्ञप्तिको पूर्ण विवरण :
सुनसरी जिल्लाको देवानगञ्ज लगायत नेपालका विभिन्न जिल्लामा हालै घटेका धार्मिक हिंसा तथा त्रासदीपूर्ण घट्नाले हामी समस्त वैदिक सनातन हिन्दूहरू अत्यन्तै दुःखी हुनुका साथै मर्माहत भएका छौं । उक्त घट्नामा दिवंगत हुनु भएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र गणेश यादवको आत्माले शान्ति पाओस् भन्ने कामनाका साथै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै, सम्पूर्ण शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं र घाइतेहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
सरकारले मृतकका परिवारका लागि उचित परिपूरणका साथ राहत दिनु पर्छ, ती घट्नाका घाइतेहरूलाई प्रभावकारी रुपमा निःशुल्क उपचार प्रवन्ध गर्न सरकारसँग माग गर्दछौं ।
साथै, ती घटनाको निष्पक्ष छानविन गरी सत्य तथ्य बाहिर ल्याई दोषिलाई कडा भन्दा कडा कारवाही गरी आउँदा दिनमा यस्ता घट्ना नहोउन् भन्नेतर्फ सरकारले उचित कदम चालोस् भन्ने पनि माग गर्दछौं ।
संविधानले प्रत्येक नागरिकलाई आ–आफ्नो धर्म मान्ने, पालना गर्ने तथा धार्मिक आस्था व्यक्त गर्ने मौलिक अधिकार प्रत्याभूत गरेको छ । तर परम्परादेखि हिन्दू धर्मावलम्बीहरूले मान्दै आएको बोलबम कार्यक्रममा सहभागीहरू माथि त्यसप्रकारको दुर्भाग्यपूर्ण घटना हुनु ९४ प्रतिशत ॐकार परिवार माथिको घोर अपमान भएको ठान्दछौं । मुलुकभित्रका धार्मिक स्थल, मठ मन्दिरहरूको सुरक्षा गरी सबै नेपालीहरूलाई आ–आफ्नो संस्कृति तथा संस्कारको मौलिकता बचाउने अधिकारको सुनिश्चित गर्न सरकार आफ्नो जिम्मेवारी, दायित्व एवम् कर्तव्यमा नचुकोस् भन्ने चाहन्छौं ।
रमाराज खनिया
अध्यक्ष
प्रकाशित मिति २०८३ श्रावण १६, शनिबार ०९:१२ गते