बेसीशहर– लमजुङमा बृहद शान्ति र सदभाव र्याली गरिएको छ । जिल्ला सदरमुकाम बेसीशहरमा आयोजना गरिएको र्याली साउन १७ गते भएको हो । र्याली ॐकार परिवार लमजुङ र लमजुङ मुस्लीम समाजको संयुक्त आयोजनामा भएको हो ।
आयोजकका अनुसार समाजमा सामाजिक एकता, धार्मिक सहिष्णुता तथा आपसी भाइचारालाई थप मजबुत बनाउने उद्देश्यले सो शान्ति तथा सद्भाव र्याली आयोजना गरिएको छ । र्यालीको नारा ‘भाषा, धर्म, संस्कारमा विविधता, हाम्रो पहिचान र एकता ः हाम्रो प्रतिवद्धता’ थियो । र्यालीका सहभागीहरूले शान्ति, सद्भाव, राष्ट्यि एकता र सामाजिक मेलमिलापका सन्देश दिने नारा समेत लगाएका थिए ।

उक्त र्यालीमा लमजुङ मुस्लिम समाजको उत्साहवर्धक सहभागिता रह्यो भने अपेक्षाकृत तमू समाजको सहभागिता भने हुन सकेको देखिएन । मुस्लिम समाजका पुरुषहरू मात्र होइन महिला तथा बालबालिकाहरूले समेत उक्त र्यालीमा भारी संख्यामा भाग लिएका थिए । मुस्लिम समाजका पुरुषहरू मात्र होइन महिला तथा बालबालिकाहरू यसरी सार्वजनिक कार्यक्रममा देखिएको सम्भवतः पहिलो पटक भएको कतिपयको टिप्पणी थियो ।

उक्त र्यालीमा भाग लिनेहरूमा विश्व हिन्दू महासंघ, ॐ शान्ति परिवार, फूलबारी आमा समूह, मूलपानी आमा समूह, कर्पुरेश्वर आमा समूह, गुरुङ समाज, ब्राह्मण तथा क्षेत्री समाजलगायतको उल्लेख्य सहभागिता रहेको आयोजकको भनाइ छ । साथमा विभिन्न समुदाय, सामाजिक संघसंस्थाका प्रतिनिधिहरू तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता थियो ।

बेसीशहर नगरपालिका– ७ को मनाङे चौतारबाट सुरु भएको सो ¥याली हाइस्कुल चोक, पुरानो बैंकचोक, त्रिवेणी टोल, भीमसेना थान चोक, नारायणस्थान चोक, मालपोत चोक, पुस्ताकालय टोल हुँदै बेसीशहर नगरपालिका– ८ को सेरा बजार परिक्रमाका साथ पुनः सेरा चौतारमा आएर कोण सभा गरी समापन गरिएको थियो ।

कोणसभाको अध्यक्षता विश्व हिन्दू महासंघका जिल्ला अध्यक्ष रमाराज खनियाले गर्नु भएको थियो । उहाँले विविध भाषा, धर्म संस्कृति भएर पनि आपसी सदभाव र भाइचारका साथ मिलेर बसेको समाजमा अचानक भड्किएको धार्मिक हिंसामा परेका युवाहरूको चिरशान्तिको कामना गर्दै घाइतेको सिघ्र स्वास्थ लाभसहित निःशुल्क उपचारको प्रवन्ध गर्नु पर्ने माग गर्नुभएको थियो । उहाँले कुनै पनि धर्मले हिंसालाई बढावा दिने नभई परोपकारलाई नै भनेको हुन्छ भन्नुहुँदै ती हिंसात्मक घट्नाको निष्पक्ष छानविन गरी दोषीलाई कडा कारबाही गर्ने र भोलिका दिनमा यस्ता घट्ना हुन नदिनका लागि उचित वातावरण मिलाउन सरकारलाई आग्रह गर्नु भयो ।
लमजुङ मुस्लिम समाजका पूर्वअध्यक्ष एवम् वरिष्ठ सल्लाहकार फजुल्दिन मियाले आफ्नो धारणा व्यक्त गर्दै हामीहरू जो कोही जुनसुकै धर्ममा लागेको भएता पनि हामी सबै एक बाबुका सन्तान हौं, त्यसैले कुनै पनि खालको मनमुटाव वा टकराव, झैझगडा गर्न नहुने र विगतका वर्षझैं आपसमा मिलेर सप्रेम, सद्भाव, माया ममताका साथ बस्नु पर्नेमा जोड दिनुभयो ।

समाजिक अगुवा खेमजङ गुरुङले विविधतामा रहेको एकताको भावनालाई थप बलियो बनाउनु पर्ने र धमिलो पानीमा माछा मार्न खोज्नेलाई मौका दिन नहुने उल्लेख गर्नु भयो । सो अवसरमा ब्राह्मण क्षेत्री समाजका प्रतिनिधि सूर्य पराजुलीले हाम्रो राष्ट्र गानले नै हाम्रो भावना र जीवनको यथार्थतालाई प्रतिविम्बित गरेको छ । ‘सयौं थुंगा फूलका एउटै माला हामी नेपाली’ भनेझैं हामी मिलेर बसेका थिर्यौं, छौं र त्यसरीनै बस्नु पर्छ । आज धार्मिक विद्वैष तथा षडयन्त्रको डडेलो फैलाउन चाहनेलाई समेत त्यो डडेलोले फैलिएमा त्यसले एक दिन उनीहरू आफैलाई पनि डढाउने छ हेका रहोस् भन्ने चेतावनी दिनुभयो । लमजुङले विगतका विभिन्न आन्दोलन, जेनजी आन्दोलनमा समेत रगत नबगाएर इतिहासलाई जीवन्त राख्नु पर्छ उहाँले जोड दिनुभयो ।

युवा प्रतिनिधि विष्णु घिमिरेले अनेकतामा एकता नै हाम्रो समाजको विशेषता हो भन्नुहुँदै त्यसलाई पहिचान र शक्तिको रुपमा लिनु पर्छ भन्ने उल्लेख गर्नुभयो । एक धर्ममा आस्था राख्दै गर्दा अर्को धर्मलाई पनि सम्मान गर्न सक्नु पर्छ भन्नुहुँदै उहाँले आपसको साम्प्रदायिक सदभावमा खलल पर्न दिन नहुनेमा जोड दिनुभयो ।

ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष एवम् वरिष्ठ पत्रकार नवराज पहाडीले कार्यक्रमको सञ्चालन गर्दैै छोटो सूचनामा पनि कार्यक्रममा उत्साहपूर्वक भाग लिएर र्याली सफल बनाउन सहयोग गर्नु हुने सबैप्रति धन्यवाद सहित कृतज्ञता व्यक्त गर्नुभएको थियो । उहाँले सुनसरी लगायतका जिल्लामा भएका हिंसात्कम घट्ना भर्त्सना योग्य रहेको उल्लेख गर्दै दिवंगतप्रति श्रद्धाञ्वली अर्पण गर्दै घाइतेहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । उहाँले सरकारले पीडित परिवारसँग गरेको सम्झौता अनुसार परिपूरणसहितको क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचारका लागि गरेको आफ्नो प्रतिवद्धता अनुसार एक कदम अघि सरेर कार्यान्वयन गरोस् र भोलिका दिनमा गुनासो गर्नु पर्ने ठाउँ नरहोस् भन्ने माग गर्नु भएको थियो ।
कोणसभाको समापन अघि तराईका सुनसरी लगायतका जिल्लामा भएको धार्मिक हिंसामा दिवंगत भएका र हालै पाकिस्तानको पर्वातारोहणका क्रममा ज्यान गुमाएका नेपाली सपुतहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको आत्माको चिरशान्तिका लागि एक मिनेट मौन धारण गरिएको थियो ।
विविध भाषा, धर्म र संस्कृतिबीचको एकताले नै समाजलाई थप बलियो बनाउने विश्वासका साथ शान्ति र सदभाव र्याली गरिएको आयोजकको भनाइ छ ।
प्रकाशित मिति २०८३ श्रावण १८, सोमबार ०६:५९ गते