भूलभूले(लमजुङ) । लमजुङमा सञ्चालित दुई दिने ‘छैटौं हामखोला झरना महोत्सव– २०८३’ भव्य रूपमा सम्पन्न भएको छ । मस्र्याङ्दी गाउँपालिकाको प्रवद्र्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा मस्र्याङ्दी गाउँपालिका– ८ को भुलभुलेस्थित हामखोला झरना स्थलमै महोत्सव साउन २४ गते समापन भएको हो । प्रकृतिका पारखीहरूले उक्त झरनालाई बाह्रै महिना सञ्चालनको प्रवन्ध गर्न गाउँपालिकालाई सुझाव दिएका छन् ।

गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटनमन्त्री माननीय यशोदा रिमालले उक्त महोत्सवको उदघाटन गर्नु भएको थयो । प्रमुख अतिथि रिमालले आफ्नो उद्घाटन मन्तव्यमा हामखोला झरना प्राकृतिक सौन्दर्यको महत्वपूर्ण सम्पदा हुनुका साथै स्थानीय पर्यटन विकासको बलियो आधार बन्ने सम्भावना बोकेको स्थल हो । उहाँले यस झरनाको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारमा प्रदेश सरकारको समेत सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्राकृतिक सम्पदाको संरक्षणसँगै आवश्यक पूर्वाधार विकास गर्न सके हामखोला झरनाले मर्स्याङ्दी गाउँपालिकाको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने छ, त्यसैले व्यवस्थित प्रचारप्रसार गर्नु पर्छ उहाँले भन्नुभयो ।

मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले हामखोला झरनालाई गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै पर्यटनलाई स्थानीय उत्पादन, संस्कृति र समुदायको आयआर्जनसँग जोड्ने योजना रहेको बताउनुभयो ।
‘स्थानीय कला–संस्कृतिको सम्मान गरौँ, स्थानीय उत्पादनको प्रवद्र्धन गरौँ र मर्स्याङ्दीको पर्यटन विकासमा हातेमालो गरौँ !’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको संरक्षण, प्रवद्र्धन तथा पर्यटन विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकको भनाइ छ ।

महोत्सवमा स्थानीय कला, संस्कृति, सांगीतिक प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत भएका थिए । महोत्सवको पहिलो दिन स्थानीय क्षेत्रका चर्चित कलाकारहरू मस्र्याङ्दीको माटोले जन्माएका गायक प्रितम गुरुङ, लक्षु घले, रञ्जित गुरुङ लगायतको सांगीतिक प्रस्तुति रहेको थियो । दर्शकहरूको खचाखच भरिएको कार्यक्रम स्थलमा सहभागीहरूले सांगीतिक माहोलबाट भरपुर मनोरञ्जन लिएका थिए ।
महोत्सवको दोस्रो दिन राष्ट्रियस्तरका गायक राजु परियार र गायिका शिला आलेको विशेष र प्रत्यक्ष दोहोरी रहेको थियो ।

महोत्सवको समापन सोही गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको प्रमुअ आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको सञ्चालन लोक संगीतकर्मी एवम् राष्ट्यि लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान जिल्ला अध्यक्ष समेत रहनु भएका पत्रकार अनुज अधिकारीले गर्नु भएको थियो ।

बाह्रै महिना सञ्चालन गर्न सुझाव :
उक्त हामखोला झरनालाई अबका दिनमा बाह्रै महिना त्यही रुपमा सञ्चालन गर्नका लागि प्रकृतिका पारखीहरूले गाउँपालिकालाई सुझाव दिएका छन् । झरना मर्स्याङदी नदीसँगै रहेको हुँदा सुख्खा मौसमको अवधिमा त्यस नदीको पानीलाई लिफ्टिङ गरी वर्षभर सञ्चालनको प्रवन्ध गर्न र त्यहाँ मनोरञ्जनका लागि जानेहरूसँग टिकटबाट मात्र प्रवेश पाउने प्रवन्ध गर्नका पालिकालाई आग्रह गरेका हुन् ।

प्रकाशित मिति २०८३ श्रावण २६, मंगलवार ०८:३६ गते