बेसीशहर– लमजुङमा निकटका साथीको हत्यामा ंसंलग्न भएको अभियोगमा लमजुङकै दोर्दी गाउँपालिका– १ को ढोकेगाउँ निवासी बिजय लामिछानेलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालतको आदेशले लामिछानेलाई कारागार चलान गरिएको छ भने उनले लुटेको सुन किन्ने अर्का व्यक्ति धरौटीमा साउन २६ गते रिहा भएका छन् ।
लमजुङको बेसीशहर नगरपालिका– ८ निवासी ५७ वर्षीय बुद्धिबहादुर बोहरा वेपत्ता भएको पाँचौं दिन जंगलमा शव फेला परेका थियो । बोहराको हत्यामा आफ्नै निकटका साथीबाट लमजुङकै दोर्दी गाउँपालिका– १ को ढोकेगाउँ निवासी विजय लामिछाने भएको प्रहरीले जनाएको थियो । बोहराको हत्या उनै लामिछाने उपर प्रहरीले ठहर गर्दै जिल्ला सरकारी वकिल कार्यालय लमजुङ मार्फत जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । मंगलबार भएको थुन छेक बहसमा उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
त्यसैगरी बोहराले लगाएको सुनको सिक्री र औंठी लुटेकोमा त्यो सुन खरिद गर्ने चितवनको भरतपुर महानगरपालिका– २१ पार्वतीपुरमा घर भई सोही स्थानमा मौलाकालिका सुनचाँदीको पसल सञ्चालन गर्दै आएका ४३ बर्षीय दिपक विश्वकर्मालाई एक लाख ६० हजार धरौटीमा छाडिएको छ । ती सुनका गहना पत्थर बाहेक साँढे दुई तोलाको रहेको बताइएको छ ।
सरकारवादी सो मुद्दामा जिल्ला न्यायाधिवक्ता श्रीकला पौडेलले र प्रतिवादीहरूको तर्फबाट अदालतका वैतनिक कानुन व्यवसायी हरिबहादुर रानाभाटले वहस पैरवी गरेका थिए ।
बेसीशहर नगरपालिका– २ मा स्थायी बसोबास भई सोही नगरपालिका– ८ को सेरा स्थित तामाङ टोलमा बसोबास गर्दै आएका बोहराको शव असार २५ गते बेसीशहर नगरपालिका– १ को आकाशे डाँडा माथि भिरपानी सामुदायिक वनमा फेला परेको थियो । उनको शरीर तथा अनुहारको भाग सडिगली शंकास्पद अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको थियो । बोहरा असार २१ गतेदेखि बेपत्ता रहेका थिए ।
लामिछानेलाई सोधपुछ गरेका लागि असार ३० गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।
अभियुक्त लामिछानेको स्थायी बसोबास भएको घर दोर्दी गाउँपालिका– १ भएता पनि उनी पछिल्ला दिनमा भने सुन्दरबजार नगरपालिका– ९ भोटेओडारबजारमा बस्ने गरेको समेत खुल्न आएको प्रहरीले जनाएको छ ।
बोहराको हत्यापछि लुटिएका सुनका सिक्री र औठीका बारेमा सोधपुछ गर्दा लामिछानेले घट्नाको भोलिपल्टै अर्थात असार २२ गतेका दिन चितवन लगेर बेचेको थियो ।
प्रकाशित मिति २०८३ श्रावण २६, मंगलवार १८:२० गते