
बेसीशहर– राष्ट्यि युवा संघ नेपाल जिल्ला कमिटी लमजुङको आयोजना भएको रक्तदान कार्यक्रमा २१ जनाले रक्तदान गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय अध्यक्ष महाराज गुरुङको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम साउन ३० गते भएको हो ।
प्रमुख अतिथि युवा संघ नेपाल केन्द्रीय अध्यक्ष महाराज गुरुङले युवाहरू सामाजिक सेवाका कार्यमा सक्रिय पूर्वक जुट्नुपर्ने बताउनुभयो । उहाँले रक्तदानजस्तो मानवीय सेवाका कार्यक्रममा युवाहरूको सहभागिता महत्वपूर्ण रहेको बताउँदै यस्ता कार्यले सेवाभावनामा बृद्धि हुने उल्लेख गर्नु भयो । उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिन आयोजनलाई निर्देशन दिनु भयो ।
उक्त रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेको आयोजक संस्थाका जिल्ला अध्यक्ष कालुले बताउनु भयो । उहाँका अनुसार रक्तदानमार्फत आवश्यक परेको समयमा बिरामीका लागि रगतको अभाव हुन नदिन सहयोग पुग्ने छ ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी लमजुङका अध्यक्ष योगबहादुर गुरुङ (कालु) को अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा प्रदेश अस्पताल लमजुङको प्राविधिक सहयोग रहेको थियो ।
सो अवसरमा प्रदेश अस्पताल लमजुङका आकस्मिक विभाग प्रमुख गणेश गुरुङ, नर्सद्वय कामना न्यौपाने र देवी कार्की तथा मेडिकल ल्याब टेक्नोलोजिस्ट विकास गुरुङले प्राविधिक सहयोग गर्नुभएको आयोजकको भनाइ छ ।
उक्त कार्यक्रमको सञ्चालन जिल्ला उपाध्यक्ष प्रदीप घिमिरेले गर्नुभएको थियो । उहाँका अनुसार कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण अधिकारी, नेकपा एमाले प्रदेश सदस्य गोविन्द बस्नेत, जिल्ला उपाध्यक्ष जितबहादुर गुरुङ, दोर्दी गाँउपालिका अध्यक्ष युवराज अधिकारी तथा अनेरास्ववियु लमजुङका अध्यक्ष प्रदीप गुरुङलगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति २०८३ श्रावण ३१, आईतवार ०७:२५ गते