तुर्लुङ कालिकामा दिव्य महाआरतीको तयारी

तुर्लुङ कालिकामा दिव्य महाआरतीको तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ १ गते मङ्गलबार ०९:२४

आयोजकका अनुसार अभियानको उद्देश्य अनुसार यो केवल नियमित धार्मिक कार्यक्रम सञ्चालन गर्ने प्रयास मात्र नभई सनातन संस्कृति, स्थानीय पहिचान, प्रकृति, पर्यटन र आरोग्यतालाई एउटै यात्रामा जोड्ने अभियान हो ।

दुराडाँडा सेवा समाजको संयोजनमा दिव्य महाआरती सञ्चालन गर्न लागिएको हो ।

दुराडाँडा(लमजुङ)– लमजुङको ऐतिहासिक थलो दुराडाँडाको तुर्लुङकोटस्थित पवित्र कालिका मन्दिरमा पनि ‘तुर्लुङकोट कालिका दिव्य महाआरती’ शुभारम्भ गर्ने तयारी गरिएको छ । दुराडाँडा सेवा समाजको पहल एवम् संयोजनमा सो कार्य गरिने भएको हो ।
गण्डकी आरोग्य धर्मपथ अभियानअन्तर्गत मध्यनेपाल नगरपालिका– १० थान्सिङस्थित मालिका देवी स्थानमा प्रत्येक महिनाको पहिलो शनिबार सञ्चालन हुँदै आएको ‘मालिकादेवी दिव्य महाआरती’कै स्वरूपमा सुन्दरबजार नगरपालिका– ११ को उक्त स्थानमा रहेको मन्दिरमा पनि सो कार्य गरिने भएको दुराडाँडा सेवा समाजका अध्यक्ष देवी न्यौपानेले बताउनु भयो । उहाँको अनुसार समाजको संयोजनमा दिव्य महाआरती सञ्चालन गर्न लागिएको हो । उहाँले भन्नुभयो, ‘त्यसका लागि विभिन्न संघसंस्था, स्थानीय समुदाय तथा सरोकारवालासँग छलफल, समन्वय र सहकार्यलाई निरन्तरता दिइएको छ ।’
आयोजकका अनुसार अभियानको उद्देश्य अनुसार यो केवल नियमित धार्मिक कार्यक्रम सञ्चालन गर्ने प्रयास मात्र नभई सनातन संस्कृति, स्थानीय पहिचान, प्रकृति, पर्यटन र आरोग्यतालाई एउटै यात्रामा जोड्ने अभियान हो । अध्यक्ष न्यौपानेले भन्नुभयो, ‘तुर्लुङ कालिकाको धार्मिक महत्त्वलाई संरक्षण र प्रचारसँग जोड्दै यस क्षेत्रलाई आध्यात्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने रहेको छ ।’
आस्था, आराधना, संस्कृति, प्रकृति र आरोग्यलाई एउटै अभियानसँग जोड्ने थप उद्देश्यले अघि बढाइएको यस पहलले तुर्लुङ कालिकाको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई थप उजागर गर्नुका साथै गण्डकी क्षेत्रको आध्यात्मिक पर्यटनमा नयाँ सम्भावना थप्ने विश्वास गरिएको छ ।
महाआरतीको माध्यमबाट धार्मिक आस्थासँगै सामाजिक सद्भाव, सांस्कृतिक संरक्षण र स्थानीय पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । तुर्लुङ कालिकामा दिव्य महाआरतीको तयारी अघि बढेसँगै स्थानीयस्तरमा समेत चासो बढेको छ ।
अभियानप्रति चासो र अपनत्व देखाउँदै सहयोग तथा सहकार्य गर्ने सुन्दरबजार नगरपालिका परिवार, जनप्रतिनिधि तथा स्थानीयवासीप्रति आयोजकद्वारा आभार व्यक्त गरिएको छ ।
तुर्लुङ कालिकामा महाआरती सुरु भएपछि धार्मिक आस्थासँगै स्थानीय संस्कृति र पर्यटनलाई जोड्ने नयाँ गतिविधि थपिने अपेक्षा गरिएको छ । साँझको दीपप्रज्वलन, आरती र धार्मिक अनुष्ठानमार्फत मन्दिर परिसरमा आध्यात्मिक वातावरण निर्माण हुने र यसले आन्तरिक तथा बाह्य धार्मिक पर्यटकलाई समेत आकर्षित गर्न सक्ने आयोजकको विश्वास रहेको समाजका अध्यक्ष देवी न्यौपानेले बताउनु भएको छ ।

प्रकाशित मिति २०८३ भाद्र २, मंगलवार ०९:२४ गते
हजुरको प्रतिक्रिया