डिडिसीलाई साना किसानद्वारा दैनिक ६० हजार दुध दिने सम्झौता कार्यन्वयन

डिडिसीलाई साना किसानद्वारा दैनिक ६० हजार दुध दिने सम्झौता कार्यन्वयन

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ २ गते बुधबार १०:१४

पहिलो दिन मकवानपुरको हाँडी खोलामा रहेको साना किसान कृषि सहकारी संस्थामा ३ हजार क्षमताको चिस्यान केन्द्र सुरु गरिएको हो । निकट भविष्यमै दैनिक ६० हजार भन्दा बढी दुध डिडिसी मार्फत बजारीकरण गरिने छ ।

पहिलो दिन मै १५ हजार भन्दा बढी दुध संकलन

काठमाडौँ– नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र दुग्ध विकास संस्थान(डिडिसी) बीच दैनिक ६० हजारभन्दा बढी दूध खरिद बिक्री गर्र्न भएको त्रिपक्षीय सम्झौता कार्यन्वयनमा आएको छ । सो सम्झौता भदौ १ गतेदेखि सुरु भएको हो ।
केन्द्रीय संघ र लघुवित्त संस्थाका सदस्य संस्था एवम् किसानहरूले उत्पादन तथा संकलन गरेको दुध डिडिसी मार्फत बजारीकरण गर्ने सम्झौता कार्यन्वयन गर्दै आजैबाट दुध दिन सुरु भएको नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । उहाँका अनुसार पहिलो दिन मकवानपुरको हाँडी खोलामा रहेको साना किसान कृषि सहकारी संस्थामा ३ हजार क्षमताको चिस्यान केन्द्र सुरु गरिएको छ । उहाँले भन्नुभयो, ‘अब देशभरबाट निकट भविष्यमै दैनिक ६० हजार भन्दा बढी दुध डिडिसी मार्फत बजारीकरण गरिने छ ।’
सो सम्झौता अनुसार आगामी दिनमा किसानहरूको दुग्ध उत्पादन र उत्पादकत्व बढाउने गुणस्तरीय उत्पादन बढाउने पशुजन्य रोग तथा संक्रमणबाट बच्न तालिम तथा प्राविधिक सेवा उपलब्ध गराउने लगायतका साथ सहयोग पनि किसानहरूलाई प्रदान गरिने छ उप्रेतीले भन्नुभयो ।
डिडिसीले यी दुई संस्थाका सञ्जालमार्फत ग्रामीण क्षेत्रमा उत्पादीत दुध बजारका उपभोक्तासम्म पुर्याउने उद्धेश्य सहित त्रिपक्षीय सम्झौता गरी किसानको दुध संकलन र विक्रिवितरणका लागि सहयोग गर्न सुरु गरेको हो ।
केन्द्रीय अध्यक्ष उप्रेतीले पहिलो दिनमै संस्था र किसानहरूको उत्साहजनक सहभागिता रहेको र यस अघि नजोडिएका सञ्जालका संस्थाहरू पनि यस अभियानमा जोडिन चाहेको बारे आफूलाई जानकारी प्राप्त भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अब संस्था र डिडिसीको नजिक रहेको आयोजना बीच सम्झौता गरेर अगाडि बढ्ने योजना रहेको छ ।’
नेपाली दुग्ध उत्पादक किसानहरूका लागि यो एक कोशेढुंगा सावित भएको भन्दै अध्यक्ष उप्रेतीले किसानहरूको जीवनस्तर उकास्न दुग्ध विकास संस्थाले देखाएको सक्रियता र दिएको साथले अहिले किसानहरू उत्साहित बनेकोसमेत उल्लेख गर्नुभएको छ ।
डिडिसीले तत्कालका लागि दुध संकलन केन्द्रमा चिस्यान नभएको स्थानमा चिस्यान र त्यसका लागि आवश्यक उपकरण प्रदान गर्ने कार्य समेत गरिरहेको अध्यक्ष उप्रेतीको भनाइ छ ।
सो त्रिपक्षीय सम्झौता गत साउन २७ गते भएको थियो । यसअघि नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष उप्रेती, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि का अध्यक्ष खेम बहादुर पाठक लगायतको उपस्थितिमा दुग्ध विकास संस्थानका महाप्रबन्धक डा. सरन कुमार पाण्डे नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.का महाप्रबन्धक डा. रुद्र बहादुर श्रेष्ठ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत बासु अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
उक्त अवसरमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. नायब प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराई, वरिष्ठ प्रबन्धक दिपाकर रुपाखेती, डिडिसीका उपमहाप्रबन्धक, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०८३ भाद्र ३, बुधबार १०:१४ गते
हजुरको प्रतिक्रिया