प्रधानमन्त्री बालेनसँग अस्तामवासीले राखे तीन माग : खानेपानी, सडक र कडा कानुन

प्रधानमन्त्री बालेनसँग अस्तामवासीले राखे तीन माग : खानेपानी, सडक र कडा कानुन

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ ५ गते शनिवार ०१:३९

प्रदेशको राजधानी पोखराबाट छोटो दूरीमा रहे पनि अस्तामसम्म पुग्ने मुख्य सडक अत्यन्तै कच्ची र अप्ठ्यारो छ । स्थानीय रामु अधिकारी र दिवाकर अधिकारीले सडक र पिउने पानीको समस्यालाई पहिलो प्राथमिकतामा राखेर समाधान गरिदिन प्रधानमन्त्रीसमक्ष अनुरोध गरेको बताउनु भयो ।

प्रधानमन्त्री बालेन अस्तामको प्रसिद्ध अन्नपूर्ण इको भिलेजमा बस्ने तालिकाको जानकारी पाएपछि स्थानीयहरू गाउँको मुहार फेरिने आशामा थप उत्साहित देखिएका थिए ।

अस्ताम(कास्की)– माछापुच्छ्रे गाउँपालिका– ६, अस्ताम गाउँका स्थानीयले प्रधानमन्त्री बालेनसँग तीन माग राखेका छन् । ती हुन्– खाने पानी, सडक र कडा कानुन । उनीहरूले भदौ ६ गते विहान त्यस्तो माग राखेका हुन् ।
प्रधानमन्त्री बालेनको स्वभावबाट परिचित स्थानीय बासिन्दा आफ्ना घरआँगन र सडक छेउछाउ भेला भएर देशका कार्यकारी प्रमुखलाई प्रत्यक्ष देख्न र मनका व्यथा सुनाउन व्यग्र प्रतीक्षा गरिरहेका थिए ।
त्यसो त बिहानैदेखि अस्तामको उकालो बाटोमा सुरक्षाकर्मीको उपस्थिति बाक्लिन थालेपछि स्थानीयले प्रधानमन्त्री आफ्नो गाउँमा आउने भएको चाल पाएका थिए ।
प्रधानमन्त्री बालेन अस्तामको प्रसिद्ध अन्नपूर्ण इको भिलेजमा बस्ने तालिकाको जानकारी पाएपछि स्थानीयहरू गाउँको मुहार फेरिने आशामा थप उत्साहित देखिएका थिए ।
स्थानीय जानुमाया अधिकारीले भन्नुभयो, ‘नयाँ सरकारले देश र जनताका लागि केही राम्रो गर्छन् कि भन्ने ठूलो आशा छ । उहाँलाई गाडीमै भए पनि देख्न पाउने आशामा कुरिरहेका छौँ ।’
नयाँ राजनीतिक दलले राम्रो काम गर्नुपर्नेमा उहाँको जोड थियो, अपराध गर्नेलाई विदेशमा जस्तै कडा कारबाही गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
विश्वविद्यालयका प्राध्यापक नन्दलाल अधिकारीले यहाँका बहुसंख्यक बासिन्दा किसान रहेका र पानीको चरम अभावका कारण उनीहरूको पसिना खेर गइरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘अस्ताम गाउँ भौगोलिक रूपमा उच्च डाँडामा रहेको हुनाले यहाँको सबैभन्दा ठूलो र प्रमुख समस्या भनेकै खानेपानी र सिँचाइको हो ।’
पानीबिना तरकारी खेती सम्भव नरहेको भन्दै उहाँले सरकारले यहाँ व्यवस्थित खानेपानी र सिँचाइ योजना ल्याइदिने हो भने कृषकहरूले उत्पादन गरेको ताजा तरकारी यहीँका होटेल र नजिकैको पोखरा बजारमा सहजै बेचेर आत्मनिर्भर बन्न सक्छन् भन्ने तर्क गर्नु भयो ।
प्रदेशको राजधानी पोखराबाट छोटो दूरीमा रहे पनि अस्तामसम्म पुग्ने मुख्य सडक अत्यन्तै कच्ची र अप्ठ्यारो छ । स्थानीय रामु अधिकारी र दिवाकर अधिकारीले सडक र पिउने पानीको समस्यालाई पहिलो प्राथमिकतामा राखेर समाधान गरिदिन प्रधानमन्त्रीसमक्ष अनुरोध गरेको बताउनु भयो ।
अस्तामलाई अधिकारीको मुलथलो समेत मानिन्छ ।
‘अहिलेसम्मका कुनै प्रधानमन्त्रीले हाम्रो गाउँमा टेक्नुभएको थिएन । अहिले बालेनज्यू आउनुभएको छ, उहाँले हाम्रो यो अप्ठ्यारो बाटो कालोपत्र गरिदिए र पानीको धारा जोडिदिए हामी गाउँलेको ठूलो कल्याण हुनेथियो ।’ गाउँलेहरूले एक स्वरमा भने ।
अस्ताम प्रकृतिको अनुपम वरदान पाएको पर्यटकीय गन्तव्य हो । यहाँबाट माछापुच्छ्रे हिमाल ऐनामा जस्तै छर्लंग र नजिकै देखिन्छ । साथमा अन्नपूर्ण, मनास्लु रेन्ज र धौलागिरि हिमशृंखलाको दृश्य एकै स्थानबाट ३६० डिग्रीमा अवलोकन गर्न सकिन्छ ।
अस्ताम बासीले प्रधानमन्त्रीको भ्रमणका क्रममा विकास निर्माणका माग मात्र उठाइएन, देशको शान्ति सुरक्षा र न्याय प्रणालीप्रति समेत गम्भीर चासो व्यक्त गरेका छन् । स्थानीय सानु अधिकारीले बालेनज्यूबाट हामीले सुशासन र कानुनी कडाइँको ठूलो आशा राखेका छौँ भन्दै थप भन्नुभयो, ‘देशमा साना नानीहरूको बलात्कार र हत्याजस्ता जघन्य अपराध गर्नेहरूलाई जेलमा मात्र थुनेर पुग्दैन, विदेशमा जस्तै कठोरभन्दा कठोर सजाय दिने कानुन बनोस् ।’

प्रकाशित मिति २०८३ भाद्र ६, शनिबार १३:३९ गते
हजुरको प्रतिक्रिया