मर्स्याङदी गाउँपालिकामा अब बिदा हुने आइतबार पनि स्वास्थ्य सेवा

मर्स्याङदी गाउँपालिकामा अब बिदा हुने आइतबार पनि स्वास्थ्य सेवा

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ १९ गते शनिवार ०७:५२

मर्स्याङदी गाउँपालिकामा १९ वटा स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा प्रवाह हुँदै आएको उक्त पालिकाको स्वास्थ्य शाखाका प्रमुख तरुण गुरुङले बताउनु भयो । उहाँका अनुसार ती सबै संस्थाबाट आइतबारका दिन स्वास्थ्य सेवा उपलब्ध हुन्छ ।

अब हरेक आइतबार बिहान १०ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म आवश्यक स्वास्थ्य सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइने छ ।

भूलभूले(लमजुङ)– मर्स्याङदी गाउँपालिकामा अब बिदाको दिन आइतबार पनि आंशिक स्वास्थ्य सेवा सञ्चालन गर्ने निर्णय गरी तयारी थालेको छ । सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले आइतबार समेत स्वास्थ्य सेवा आंशिक रुपमा प्रवाह हुने सम्बन्धी जरुरी सूचना ! (विज्ञप्ति) जारी गरी भदौ १८ गते त्यस्तो जानकारी दिनु भएको हो ।
यसअघि मर्स्याङदी गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठकले त्यस्तो सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा त्यस दिन बसेको गाउँ कार्यपालिकाको बैठकले आइतबार विदाको दिनसमेत स्वास्थ्य सेवा आंशिक रुपमा भए पनि सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका स्वकीय सचिव प्रदिप गुरुङले बताउनु भएको छ । उहाँका अनुसार यो निर्णयलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।
प्रदिप गुरुङका अनुसार सेवाग्राही नागरिकलाई नियमित, सहज र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो काम गरिन लागेको हो । उहाँले भन्नुभयो, ‘गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य सेवा इकाईहरूमा अब हरेक आइतबार बिहान १०ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म आवश्यक स्वास्थ्य सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइने छ ।’
‘नागरिकको स्वास्थ्य, स्थानीय सरकारको प्राथमिकता !’ भन्ने नाराका साथ यो अभियान सञ्चालन गरिने भएको उहाँको भनाइ छ ।
विहान १०ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सञ्चालन :
दीगो विकास लक्ष्यले स्वस्थ जीवन र स्वच्छ समाजको परिकल्पना गरेको छ भने नेपालको संविधानले प्रत्येक नेपाली नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने र कोही पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नहुने गरी मौलिक हकको प्रत्याभूती गरेको छ । यसै सन्दर्भमा मर्स्याङदी गाउँपालिका नागरिकको नजिकको सरकार भएको नाताले नागरिकको स्वास्थ्य प्रति संवेदनशील रहँदै गाउँपालिकाको मिति २०८३/०५/१५ गतेको गाउँकार्यपालिका बैठकको निर्णय गरेको पौडेलको भनाइ छ ।

उहाँका अनुसार सेवाग्राहीहरूको माग र आवश्यकतालाई समेत मध्यनजर गर्दै आम नागरिकहरूलाई नियमित, निरन्तर तथा सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आइतबारका दिन समेत स्वास्थ्य सेवा सञ्चलन गर्ने सम्बन्धमा गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य सेवा ईकाई लगायत सम्पूर्ण स्वास्थ्य संस्थाहरू आइतबार विहान १०ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सञ्चालन हुने र उक्त समयमा नियमित स्वास्थ्य सेवा प्रवाह हुने भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत पौडेलले दस्तखत गर्नु भएको सूचनामा उल्लेख छ ।
मर्स्याङदी गाउँपालिकामा १९ वटा स्वास्थ्य संस्था :
मर्स्याङदी गाउँपालिकामा १९ वटा स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा प्रवाह हुँदै आएको उक्त पालिकाको स्वास्थ्य शाखाका प्रमुख तरुण गुरुङले बताउनु भयो । उहाँका अनुसार तीमध्ये पालिका भित्रका ९ वटा वडामा कम्तिमा एक एक वटा स्वास्थ्य चौकी रहेका छन् ।
पालिकाको स्वास्थ्य शाखाका प्रमुख तरुण गुरुङले भन्नुभयो, ‘थप सेवाको हकमा २ र ८ नंबर वडामा आधारभूत स्वास्थ्य सेवा र अन्य वडाहरूमा सामुदायिक स्वास्थ्य केन्द्रका रुपमा सेवा प्रवाह भएको छ ।’ उहाँका अनुसार ती सबै संस्थाबाट आइतबारका दिन स्वास्थ्य सेवा उपलब्ध हुन्छ ।
विदाको दिनमासमेत स्वास्थ्य सेवा उपलब्ध गराउने गाउँपालिकाको निर्णयले आकस्मिक तथा आवश्यक स्वास्थ्य सेवाका लागि सेवाग्राहीलाई थप सहजता पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति २०८३ भाद्र २०, शनिबार ०७:५२ गते
हजुरको प्रतिक्रिया