
सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजार नगरपालिकाको बजार क्षेत्रमा रहेको सुन्दरबजार तमू समाजद्वारा भोटेकोशी बाढीपिडितका लागि एक लाख २६ हजार बढी राहत सहयोग भदौ २६ गते गरेको छ ।
समाजले आफ्नो संस्थामा आवद्ध हुुनु भएका दाजुभाइ तथा दिदीबहिनीहरूबाट रकम संकलन गरी कुल रु. एक लाख २६ हजार ७१० रुपैयाँ राहत सहयोग जुटाएर पठाएको हो ।
भदौ १० गते तिब्बती क्षेत्रबाट हिमताल फुटेर रसुवा, नुवाकोट लगायतका विभिन्न जिल्लामा भोटेकोशी नदीमा आएको अकास्मात बाढीका कारण प्रभावित भएका बाढीपिडितहरूका लागि सुन्दरबजार, लमजुङ स्थित साङ्ङो पलरी बौद्ध गुम्बा, गुरुङ समाज (सुन्दरबजार तमू समाज)ले आफू पनि बाढीपिडितहरूको पीडामा साथै रहेको जनाउँदै आर्थिक सहयोग प्रदान गरेको हो ।
संकलित राहत रकम नेपाल बैंक लिमिटेड, सुन्दरबजार शाखा कार्यालयमार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’मा भदौ २५ गते जम्मा गरिएको समाजका सचिव खेम गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार प्राकृतिक विपत्तिका कारण अतुलनीय धनजनको क्षति व्यहोर्नुपरेका पीडित परिवारहरूलाई थोरै भए पनि राहत र मद्दत पुगोस् भन्ने उद्देश्यले समाजकातर्फबाट उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।
साङ्ङो पलरी बौद्ध गुम्बा, गुरुङ समाज (सुन्दरबजार तमू समाज)ले यस्तो राष्ट्रिय विपद्का बेलामा सहयोग गर्दै आएको छ ।
प्रकाशित मिति २०८३ भाद्र २६, शुक्रबार १९:०० गते