कास्की, भदौ २६ गते । नेपालमा पछिल्लो समय आएको बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले बेलायतमा बसोबास गर्दै आएका सार्दिखोला समाज युकेले ६ लाख ६३ हजार ९३ रुपियाँ सहयोग गरेको छ ।
समाजले विभिन्न सहयोगदाताबाट सङ्कलित ३ हजार २१५ पाउन्ड स्टर्लिङबराबरको रकम नेपाली रुपियाँमा रूपान्तरण गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको अध्यक्ष अमृत गुरुङले बताए ।
सार्दिखोला समाज युकेले विपद्को समयमा मात्र नभई विगतदेखि नै आफ्नो जन्मभूमि तथा ग्रामीण क्षेत्रमा बाढीपहिरो, प्राकृतिक विपत्ति र अन्य मानवीय सङ्कटमा परेका नागरिकलाई सहयोग गर्दै आएको छ । साथै, स्थानीय विद्यालयहरूको शैक्षिक सुधार, पूर्वाधार विकास तथा विद्यार्थीको शैक्षिक क्षेत्रमा समेत समाजले निरन्तर सहयोग पुर्याउँदै आएको छ ।
समाजको यस मानवीय तथा सामाजिक कार्यले स्वदेशप्रतिको जिम्मेवारी, आपसी एकता र सामाजिक सेवाको भावनालाई थप बलियो बनाएको छ ।
प्रकाशित मिति २०८३ भाद्र २६, शुक्रबार २१:०१ गते