
बेसीशहर– तिब्बती क्षेत्रबाट नेपालको रसुवाको भोटेकोशी लगायतका क्षेत्रमा आएको बाढीले पुर्याएको जनधनको क्षतिप्रति लमजुङबासीहरूको सहयोग जुट्ने क्रम जारी रहेको छ । यसैक्रममा बेसीशहर क्षेत्रमा बसोबास गर्दै आएका गुरुङ (तमु) समुदायका विभिन्न समाज तथा समूहहरूले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा करिब साढे १४ लाख रुपैयाँ सहयोग गरेका छन् । उनीहरूले त्यो सहयोग भदौ २६ गते पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
‘तमु ह्युल छोंज धीं’ गुरुङ राष्ट्रिय परिषद्, बेसीशहर इकाईको पहलमा बेसीशहर क्षेत्रका १७ वटा तमु आमाबाबा समूहबाट उक्त रकम संकलन गरिएको तमु ह्युला छोंज धीं बेसीशहर इकाईका कोषाध्यक्ष पूर्णसिङ गुरुङले जानकारी दिनु भयो । उहाँका अनुसार संकलित रकममध्ये शान्तिटोल तमु आमा तथा बाबा समूहले तीन लाख २४ हजार ७ सय ७५ रुपैयाँ, मनाङे चौतारा तमु आमा समूहले १ लाख ५० हजार रुपैयाँ, शेरा तमु बाबा तथा आमा सेवा समाजले १ लाख ४७ हजार १ सय ५५ रुपैयाँ र प्रगति टोल तमु सामुदायिक छोंज धीले एक लाख ३९ हजार २ सय ४५ रुपैयाँ सहयोग गरेको छ ।
यसैगरी, चौंध खोला तमु समाजले एक लाख २१ हजार १६० रुपैयाँ, बिम्दाले एक लाख ११ हजार १११ रुपैयाँ, बेसीशहर नगरपालिका– ९ का १४ भाइ लेम तमु समाजबाट एक लाख, पोंचौं क्हों ङथर घनपोखरा तमु समाजबाट एक लाख रुपैयाँ र बिम्दा बेसीशहर तमु समाजले ९१ हजार ११ रुपैयाँ सहयोग प्राप्त भएको छ । यसैगरी, मालिङ तमु समाजबाट ७१ हजार ५ सय, न्हॉदा ट्हो (नाल्मा समाज) बेसीशहरले ४० हजार ५५५, सहजी टोल तमु आमा तथा बाबा समूहले ४० हजार ३०५, दुध कौरी तमु समाजले २८ हजार २ सय, तमु ह्युल छोंज धी बेसीशहर इकाई र भुजुङ तमु समाजबाट २०/२० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।
त्यसैगरी, उत्तरकन्या तमु समाजबाट १५ हजार ५ सय ५५, माँझगाउँ लांकुरीबोट चिसापानी हिले तमु समाजबाट १५ हजार र पुमा गाउँ तमु समाजबाट १० हजार रुपैयाँ सहयोग प्राप्त भएको तमु छोंज धींका सचिव कृष्ण घलेले बताउनु भयो । उहाँका अनुसार तमु समुदायबाट संकलित उक्त रकम भदौ २५ गतेनै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिसकेको छ । उहाँले भन्नुभयो, ‘विपद्का बेला प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले समुदायस्तरबाट रकम संकलन गरी राहत कोषमा जम्मा गरिएको हो ।’
लमजुङ उद्योग वाणिज्य सङ्घद्वारा एक लाख ७० हजार बढी सहयोग :
त्यसैगरी, लमजुङ उद्योग वाणिज्य सङ्घले भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहतका लागि एक लाख ७० हजार रुपैयाँ बढी सहयोग गरेको छ । सङ्कलित एक लाख ७० हजार १७० रुपैयाँ भदौ २५ गते प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको हो ।
सङ्घले विपद् राहत कोषबाट एक लाख रुपैयाँ तथा कार्यसमिति र केही व्यवसायी, एउटा आमा समुहबाट
सहयोग रकम जम्मा गरेको संघका महासचिव विपिन श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार सङ्घका अध्यक्ष भरतकुमार श्रेष्ठसहितको टोलीले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाललाई उहाँकै कार्यकक्षमा पुगेर भौचर हस्तान्तरण गरका छौं ।
सो अवसरमा सङ्घका प्रथम उपाध्यक्ष विकास श्रेष्ठ, कोषाध्यक्ष भरत बिष्ट, बेसीशहर ईकाई उपाध्यक्ष यज्ञनारायण श्रेष्ठ, महिला उद्यमी समितिका उपाध्यक्ष भवानी थापा, सचिव तीर्थ घलेलगायत महिला व्यवसायीहरूको सहभागिता रहेको संघका महासचिव श्रेष्ठले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘सङ्घले विपद्बाट प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले जिन्सी सामग्रीसमेत सङ्कलन गरिएको छ । उक्त सङ्कलित जिन्सी सामग्रीसमेत सम्बन्धित क्षेत्रमा पठाउने तयारी भइरहेको छ ।’
संयुक्त भूपू साकोसद्वारा ५५ हजार बढी सहयोग :
यसैबीच, बेसीशहर नगरपालिका– ८, नारायण स्थानमा मुख्य कार्यालय रहेको संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लि.(साकोस)ले भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । साकोसले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको सहकारीका प्रबन्धक अनिल गुरुङले बताउनु भयो । उहाँका अनुसार भोटेकोशी बाढीका कारण प्रभावित भएका परिवारलाई विपद्को यस कठिन परिस्थितिमा शीघ्र राहत तथा पुनःस्थापनामा केही हदसम्म सहयोग पुगोस् भन्ने उद्धेश्यले उक्त रकम प्रदान गरिएको हो ।
प्राकृतिक विपद्को सामना एक्लैले गर्न सम्भव नहुने भएकाले संकटका बेला सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो । राष्ट्रप्रतिको आफ्नो कर्तव्यबोध गर्दै विपद्मा परेका नागरिकको पीडामा मल्हम लगाउने उद्देश्यले सहयोग रकम प्रदान गरिएको सहकारीका अध्यक्ष नेत्रमान गुरुङले बताउनु भयो । उहाँका अनुसार सहकारीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न मानवीय तथा सामाजिक कार्यमा सहयोग गर्दै आएको र सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।
लक्ष्मीनारायण मन्दिर संरक्षण समितिद्वारा ५१ हजार बढी सहयोग :
यसैबीच, बेसीशहर नगरपालिका–८ स्थित लक्ष्मीनारायण मन्दिर संरक्षण तथा सुधार समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार रुपैयाँ बढी रकम सहयोग गरेको छ । समितिले बाढी पीडितको तत्काल राहतका लागि कुल ५१ हजार १११ रुपैयाँ कोषमा सहयोग गरेको जनाएको छ ।
जन्मदिनमा सन्ध्या भण्डारीद्वारा बाढीपीडितलाई १५ हजार रुपैयाँ बढी सहयोग :
मस्र्याङ्दी गाउँपालिका– ३ खुदीमा स्थायी बसोबास भई हाल अष्ट्रेलियाको सिड्नीमा रहेकी सन्ध्या भण्डारीले आफ्नो जन्मदिनको अवसरमा भोटेकोशी बाढीपीडितका लागि १५ हजार १०५ रुपैयाँ सहयोग गर्नुभएको छ । सन्ध्याले अमर माध्यमिक विद्यालयका शिक्षक समेत रहनु भएका आफ्ना बुबा देवेन्द्र भण्डारीमार्फत सो रकम सहयोग गरको जानकारी दिनु भयो । बुबा देवेन्द्रका अनुसार छोरी सन्ध्याले भदौ २५ गते जन्मदिनको अवसरमा जन्मदिन मनाउने क्रममा हुने खर्चलाई सामाजिक सेवामा लगाउने उद्देश्यले पठाएको सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको शिक्षक भण्डारीले बताउनुभयो ।
प्रकाशित मिति २०८३ भाद्र २७, शनिबार ०८:२७ गते