
बेसीशहर(लमजुङ)– नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सन्दर्भमा आज भएको पालिका अधिवेशनका क्रममा लमजुङमा दुई नगरपालिका निर्वाचन हुने भएको छ भने छ वटा पालिकामा निर्विरोध पदाधिकारी चयन भएका छन् । राइनास नगरपालिका र मध्यनेपाल नगरपालिकामा निर्वाचन हुने भएको छ । ती पालिकामा क्रमशः पाँच जना र दुई जना सभापतिको पदमा प्रत्यासी असोज ७ गते देखिनुभएको हो ।
राइनास नगरपालिकाको सभापतिमा दावी गर्नुहुनेमा नुरराज कडरिया, पुरन(लिला) गुरुङ, गोविन्द चिलुवाल, दुर्गाबहादुर रानाभाट र प्रेम पोखरेल हुनुहुन्छ । उता मध्यनेपाल नगरपालिकामा कमप्रसाद गुरुङ र ओमबीर गुरुङ सभापतिको प्रत्यासी रहनु भएको बताइएको छ ।
ती दुवै नगरपालिकामा सभापतिका लागि मतदान गर्ने मतदाताको संख्या बराबर अर्थात २६० का दरले रहेको सम्बन्धित पालिकाका निर्वाचन अधिकृतबाट जानकारीमा आएको छ । ती दुवै पालिकामा भोलि असोज ८ गते निर्वाचन हुने बताइएको छ ।
जिल्लाका अन्य पालिकामा भने निर्विरोध रुपमा अधिवेशन सम्पन्न भएको बताइएको छ ।
बसीशहरको सभापति पूर्णबहादुर थापा चयन :
नेपाली कांग्रेसको बसीशहर नगरपालिकाको नगर अधिवेशन सौहार्दपूर्ण वातावरणमा निर्विरोध रूपमा सम्पन्न भएको सो दलले जनाएको छ । आपसी सहमति, एकता र सहकार्यलाई प्राथमिकता दिँदै नेतृत्व चयन भएको पार्टी स्रोतको दावी छ । जसमा सभापति पूर्णबहादुर थापा, उपसभापति राधा तिवारी र गौबहादुर गुरुङ, सचिव कृष्ण भुजेल र सहसचिव दिलमाया रिमाल चयन हुनुभएको छ ।
यसैगरी, खुला सदस्यहरूमा अर्जुन लोहनी, शैलेज जोशी, अन्य सदस्यहरूमा लक्ष्मी क्षेत्री, पूर्णबहादुर गुरुङ, मिजु राई, भरतबहादुर परियार, गुनमाया गुरुङ, रसबहादुर भुजेल, सनसरी गुरुङ, सोमबहादुर परियार, वर्षा रिमाल, विकास श्रेष्ठ, चिजा घिमिरे, सीता गौली, शुष्मा गुरुङ, बेलबहादुर गुरुङ, विष्णुकुमारी गुरुङ, तारा गुरुङ, नुरमति पन्थ, बन्धना बोहरा बस्नेत, सिजन अधिकारी, सिजन सिलवाल, रुपा सार्की मजाकोटी र मिनजङ विक चयन हुनु भएको निर्वाचन अधिकृत दिलिप पौडेलले जानकारी दिनुभएको छ ।
हाल कार्यसमिति ३२ सदस्यीय रहेको छ । सो समितिको पहिलो बैठकबाट थप १ जना सदस्य मनोनित गरी ३३ सदस्यीय समिति बनाइने सोही बैठकबाट कोषाध्यक्षको समेत चयन गरिने जानकारीमा आएको छ ।
यसैगरी, सुन्दरबजार नगरपालिकामा सामाजिक व्यक्तित्व एवम् सहकारी अभियन्ता उत्तम गुरुङ सभापतिमा चयन हुनुभएको छ ।
दूधपोखरी गाउँपालिकामा कमल धिताल सभापतिमा चयन हुनु भएको छ । त्यस्तै, दोर्दी गाउँपालिकामा लालबहादुर गुरुङ, मर्स्याङदी गाउँपालिकामा लोकनाथ घिमिरे र क्ब्होलासोथर गाउँपालिकामा राजु गुरुङ निर्विरोध रुपमा सभापति चयन हुनु भएको जानकारीमा आएको छ ।
बेसीशहर बाहेक अन्य पालिकाको समितिको अपडेटका लागि धेरै प्रयास गर्दा पनि प्राप्त गर्न सम्भव भएन ।
प्रकाशित मिति २०८३ आश्विन ७, बुधबार २१:४० गते