काँग्रेसको क्षेत्रीय सभापति ‘क’तर्फ विजय गुरुङ निर्विरोध हुने सम्भावना, ‘ख’मा न्यौपाने र रावल बीच टक्कर

काँग्रेसको क्षेत्रीय सभापति ‘क’तर्फ विजय गुरुङ निर्विरोध हुने सम्भावना, ‘ख’मा न्यौपाने र रावल बीच टक्कर

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज ११ गते सोमबार १०:३३

नेता गमप्रसाद गुरुङ, तुलसीनरायाण श्रेष्ठ, शंकरकान्त जोशी सबैले विगतको गुट परिवर्तन गरेको बुझिएको छ । यसले क्षेत्रीय सभापति र जिल्ला सभापतिको निर्वाचनलाई थप पेचिलो बनाएको स्वयम् काँग्रेसका प्रतिनिधिहरूले स्विकार गरेका छन् ।

नेपाली काँग्रेस लमजुङमा गुटगत राजनीति २०४९ सालको स्थानीय निर्वाचनदेखि नै मौलाउन थालेको हो । तर यतिबेला भने लामो समयदेखि फरक धार(प्यानल)मा काम गरेकाहरूले पनि क्याम्प परिवर्तन गरेको बुझिन आएको छ ।

बेसीशहर– लमजुङमा नेपाली काँग्रेसको क्षेत्रीय सभापति तथा महाअधिवेशन प्रतिनिधि र महासमिति सदस्यको निर्वाचनको सरगर्मी बढी रहेको छ । आज असोज १२ गतेका दिन हुने सो निर्वाचनमा केही पदमा निर्विरोध भएता पनि अधिकांशमा भने निर्वाचन हुने निश्चित जस्तै भएको छ ।
लमजुङमा विगतका वर्षमा देउवा पक्ष र संस्थापन पक्षबीच टक्कर देखिने गरेको भएता पनि यतिबेलासम्म देउवा पक्षको अवस्था दयनीय देखिन्छ । तर भित्रभित्रै भुसको आगोको रुपमा त्यो समूह पनि जागरणको तयारी गरिरहेको बुझिएको छ । सम्पन्न हुँदै गरेको अधिवेशनबाट असन्तुष्ट हुनेहरू उतातिर जान सक्ने पनि उत्तिकै सभावना छ ।
काँग्रेसको जिल्ला समितिका सामु निर्वाचन क्षेत्रीय समिति ‘मानका खातिर मान’ भनेको जस्तो मात्र देखिने गरेको छ । खासै औचित्य र क्रियाशीलता क्षेत्रीय समितिको देखिदैन तर पनि पदका एवम् मर्यादाका हिसावले क्षेत्रीय सभापति ठीकै देखिन्छ । त्यसमा पनि विधानको व्यवस्था अनुसार कोही न कोही त पदासिन हुने नै भए ।
‘क’तर्फ विजय गुरुङ निर्विरोध हुने सम्भावना :
यो क्रममा लमजुङका दुई निर्वाचन क्षेत्रीय समितिको सभापति ‘क’तर्फ विजय गुरुङ निर्विरोध हुने सम्भावना, ‘ख’मा न्यौपाने र रावल बीच टक्कर हुने देखिएको छ ।
भलादमी, सरल, नम्र शीलस्वभावका कसैलाई भनी जबिराउने आनिबानी भएका कारण विजय गुरुङ सबैका प्रिय जस्तै हुनु भएर पनि उहाँ त्यो क्षेत्रको सभापति पदमा निर्विरोध चयन हुने सम्भावना प्रवल रहेको देखिन्छ । उहाँको विरुद्धमा कोही उठेमा पनि टक्कर दिन सक्ने अवस्था भने देखिदैन ।
निर्वाचन क्षेत्र ‘ख’मा अमृत न्यौपाने र ई. दिपेन्द्र रावलका बीच टक्कर हुने स्थिति उत्पन्न भएको छ । त्यसो त त्यो क्षेत्रमा रामचन्द्र भण्डारी पनि आकांक्षी हुनु भएको र निर्णय गर्न बाकी रहेको हाम्रो भेटमा भण्डारीले जानकारी दिनु भएको छ । तर यो समाचार तयार गर्दै गर्दा भण्डारीले क्षेत्रीय प्रतिनिधिमा आफ्नो उम्मेदवारीको घोषणा गर्नु भएको छ ।
अमृत न्यौपाने :
उहाँ पार्टीको सुरु अवस्था पूर्णकालीन कार्यकर्ता हो भन्दा फरक पर्दैन । त्यसो त उहाँले जिल्लाको ऐतिहासिक थलो दुराडाँडा (सुन्दरबजार नगरपालिका– ३)मा दुई पटक निर्वाचित भएर वडाध्यक्षको कार्यकाल पुरा गर्दै हुनुहुन्छ । उहाँ पनि विजय गुरुङजस्तै सरल शील स्वभाव एवम् सहयोगी भावनाका हुनुहुन्छ । सायद त्यही सहयोगी भावनाकै कारणले दोस्रो कार्यकालमा उहाँले अघिल्लो कार्यकालको तुलनामा दोब्बर पनि बढी मत ल्याएर चुनाव जित्न सफल हुनु भयो । सम्भवतः जिल्लामा दोस्रो कार्यकाल दोहोर्याउने जो कसैले पनि त्यस्तो मत पाउन सकेको देखिदैन ।
नेविसंघबाट राजनीतिमा प्रवेश(२०५३ सालमा) गर्नु भएका न्यौपाने सो संघको विभन्नि तहमा बसेर काम गरी अनुभव संगाल्नु भएको छ । २०६१ सालमा भएको स्ववियु निर्वाचनमा शंकरदेव क्याम्पस, काठमाडौंमा उहाँको खटाई उदाहरणीय थियो । संकटकालमा पार्टीलाई बचाउन र कार्यकर्ताहरूको संरक्षणमा प्रयत्नशील उहाँ औपचारिक रुपमा पार्टीमा भने उहाँले १२ औं महाधिवेशनबाट मात्र क्रियाशील सदस्यता लिएर जोडिनु भएको हो । तथा १३ औं महाधिवेशनको प्रदेश क्षेत्रीय सदस्य, पार्टीको १४औँ महाधिवेशनमा सोही समितिको सभापति पदको आकांक्षी÷प्रतिस्पर्धी उम्मेदवार हुँदै मनोनित जिल्ला सदस्यको हैसियतमा कार्यरत हुनुहुन्छ । आफूलाई ‘पार्टीको सच्चा सिपाही’को संज्ञा दिन रुचाउनु हुने उहाँ समाज शास्त्रमा स्तातकोत्तर उतीर्ण गरी हाल एलएलविको अध्ययन गर्दै हुनुहुन्छ ।
पार्टीमा योग्यताभन्दा निष्ठा ठूलो हो भन्ने मान्यता राख्नु हुने उहाँ अग्रजहरूलाई उचित सम्मान गर्दै युवा नेतृत्वले पार्टीलाई जनता मुखी बनाउनु पर्छ भन्ने धारणालाई व्यवहारमै उतार्न प्रयत्नशील हुनुहुन्छ ।
ई. दिपेन्द्र रावल :
अध्ययन र पेशाले ईञ्जिनियर भएर पनि उहाँले लामो समय जिल्ला सदरमुकाममै रहेको जनविस माविमा शिक्षण कार्यमा बिताउनु भयो ।
त्यसो त उहाँ शिक्षणकालमा पनि शिक्षक भन्दा बढी राजनीतिक व्यक्तित्व अर्थात नेपाली काँग्रेसको कार्यकर्ताकै रुप तथा भूमिकामा बढी देखिनु हुन्थ्यो ।
ई. दिपेन्द्र रावलको प्यानलबाट सचिवमा रामजी कँडेल लड्दै हुनुहुन्छ भने अमृत न्यौपानेको प्यानलबाट शोभाकर बराल सचिव पदको प्रत्यासी हुनुहुन्छ ।
बदलियो जिल्लामा प्यानल(गुट)को स्वरुप :
नेपाली काँग्रेस लमजुङमा गुटगत राजनीति २०४९ सालको स्थानीय निर्वाचनदेखि नै मौलाउन थालेको हो । तर यतिबेला भने लामो समयदेखि फरक धार(प्यानल)मा काम गरेकाहरूले पनि क्याम्प परिवर्तन गरेको बुझिन आएको छ । जसले क्षेत्रीय सभापति र जिल्ला सभापतिको निर्वाचनलाई थप पेचिलो बनाएको स्वयम् काँग्रेसका प्रतिनिधिहरूले स्विकार गरेका छन् ।
१४ औं महाधिवेशनमा जिल्ला सभापतिमा प्रतिद्वन्द्वी भएर निर्वाचन लड्नु भएका डा. टकराज गुरुङ र गमप्रसाद गुरुङको यतिबेला भने एउटै प्यानल बनेको बताइन्छ । त्यस्तै, लामो समयसम्म फरक(इतर) गुटको प्रतिनिधित्व गर्ने तुलसीनरायाण श्रेष्ठ जिल्ला सभापति तथा निवर्तमान प्रदेश अर्थमन्त्री डा. टकराज गुरुङको गुट छाडेर अर्काेतर्फ काँग्रेसका निर्वातमान जिल्ला सभापति एवम् गण्डकी प्रदेशका निवर्तमान वन तथा वातावरण मन्त्रीको समूहमा मिल्नु भएको बताइएको छ ।
यसैगरी, विगतसम्म आफ्नै गुट बनाउँदै र नेतृत्व गर्दै आउनु भएका पूर्वसभापति शंकरकान्त जोशीले पनि पूर्वधार परिवर्तन गरेको जानकारीमा आएको छ ।
यसै कारणले पनि यसपटकको क्षेत्रीय सभापति तथा जिल्ला सभापतिको निर्वाचन पनि निकै पेचिलो बन्ने स्थिति उत्पन्न भएको स्वयम् नेपाली काँग्रेसका प्रतिनिधिहरूले स्विकार गरेका छन् ।

प्रकाशित मिति २०८३ आश्विन १२, सोमबार १०:३३ गते
हजुरको प्रतिक्रिया