
बेसीशहर(लमजुङ)– नेपाली कांग्रेस लमजुङको १५ औं क्षेत्रीय तथा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचनका लागि अधिवेशनको सरगर्मी चलिरहेको छ । पालिका अधिवेशनसम्म आईपुग्दा एक पालिका बाहेक अन्य सबैमा निर्विरोध नेतृत्व चयन गर्न सकेको काँग्रेसका लागि जिल्लाबाट ३३ जना महाधिवेशन प्रतिनिधि छनौट गर्नु पर्नेमा ८९ जनाको उम्मेदवारी परेको छ । यसले पनि काम गर्नका लागि के कति उत्सुक÷इच्छुक छन् ? र नेतृत्व चयन कति चुनौतिपूर्ण छ भन्ने पुष्टि गरेको छ । यस्तो बेलामा जिल्लाका आठ पालिकाका नेपाली कांग्रेसका सभापतिको संयुक्त अपिल असोज १२ गते आएको हो ।
उक्त अपिलको पूर्ण पाठ :
नेपाली कांग्रेस लमजुङका आदरणीय अग्रज, साथी तथा प्रतिनिधिज्यूहरूमा हार्दिक अपिल पाटीको १५ औ जिल्ला तथा क्षेत्रीय अधिवेशनलाई गुट उपगुटभन्दा माथि उठाई विधि, विधान, लोकतान्त्रिक मूल्य, मान्यता र पार्टीको भविष्यलाई केन्द्रमा राखेर सम्पन्न गरी समूह वा प्यानल बन्नु लोकतान्त्रिक प्रतिस्पर्धाको स्वाभाविक पक्ष भए पनि प्रतिनिधिज्यूहरूले आफ्नो विवेक प्रयोग गरी योग्य, सक्षम, इमानदार, अनुभवी तथा संगठनलाई गतिशील र संगठित बनाउन सक्ने नेतृत्व छनोट गर्ने अधिकारलाई सर्वोच्च प्राथमिकता दिनुहोस् । अधिवेशनको प्रतिस्पर्धा व्यक्तिगत सम्बन्ध वा गुटगत आग्रह, पूर्वाग्रहको विषय नबनोस निर्वाचनपछि सबै समूह र उम्मेदवारहरूलाई समेट्दै कांग्रेसलाई एकताबद्ध र सशक्त बनाउन हामी सबै एकढिक्का भएर अगाडी बढौं । निकट भविष्यमा आउँदै गरेको स्थानिय निर्वाचनलाई समेत मध्यनजर गर्दै सर्वसम्मत निर्णयमा आदरणीय अग्रज नेताहरू पुग्नु हुनेछ भन्ने विश्वास हामीले लिएका छौं । साथै उम्मेदवारी दर्ता गराउनु हुने साथीहरूले समय र मागलाई बुझी सहयोग गर्नुहुनेछ भन्नेमा पनी हामी आशावादी छौं । आजको हाम्रो विवेकपूर्ण निर्णयले लमजुङ कांग्रेसको आगामी दिशा र जनताको विश्वाससँग जोडिएको भविष्य निर्धारण गर्नेछ । त्यसैले प्रतिनिधिहरूको विवेकपूर्ण निर्णय योग्य नेतृत्वको चयन र निर्वाचनपछि मजबुत एकता यही हाम्रो साझा संकल्प बनोस् सो अपिलमा भनिएको छ ।
अपिलमा दस्तखत गर्ने आठ पालिकाका सभापतिहरू :
सभापतिहरू पूर्ण बहादुर थापा बेसीशहर नगरपालिका, नुरराज कडरीया राइनस नगरपालिका, उत्तम गुरुङ सुन्दरवजार नगरपालिका, कर्म प्रसाद गुरुङ मध्यनेपाल नगरपालिका तथा गाउँपालिकाका सभापतिहरूमा लोकनाथ घिमिरे मस्र्याइदी गाउँपालिका, लालबहादुर गुरुङ दोर्दी गाउँपालिका, राजु गुरुङ क्व्होलासोथार गाउँपालिका र कमल प्रसाद धिताल दुधपोखरी गाउँपालिका हुनुहुन्छ ।

प्रकाशित मिति २०८३ आश्विन १२, सोमबार १९:३५ गते