बडादशैं हाटबजारको तयारी : गाउँपालिकाले समर्थन मूल्य तोक्ने र मूल्यमा तीनदेखि पाँच प्रतिशत प्रोत्साहन रकम दिने

बडादशैं हाटबजारको तयारी : गाउँपालिकाले समर्थन मूल्य तोक्ने र मूल्यमा तीनदेखि पाँच प्रतिशत प्रोत्साहन रकम दिने

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज १६ गते शनिवार ०८:४५

हाटबजारमा कृषि उपज ल्याउने किसानलाई बिक्री मूल्यको ५ प्रतिशत तथा खसी, बोका, भेडा, कुखुरालगायत पशुपक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको ३ प्रतिशत प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउने व्यवस्था गरिएको मर्स्याङ्दी गाँउपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो ।

किसानको उत्पादनलाई उचित मूल्य दिलाउन समर्थन मूल्यको समेत व्यवस्था गरिएको छ ।

खुदी(लमजुङ)– मर्स्याङ्दी गाउँपालिकाले बडादशैं हाटबजारको तयारी गरेको छ । उक्त हाटबजारमा ल्याइने बिक्रीजन्य वस्तुहरूको गाउँपालिकाले समर्थन मूल्य तोक्नुका साथै मूल्यमा तीनदेखि पाँच प्रतिशत रकम प्रोत्साहन स्वरुप किसानलाई दिने भएको छ । यही असोज २७ गतेदेखि २९ गतेसम्म हुने उक्त हाटबजारको तयारी तथा प्रचारप्रसारको कार्य असोज १६ गतेदेखि थालिएको हो ।
मर्स्याङ्दी गाउँपालिकाको प्रवद्र्धनमा कृषि तथा पशु हाटबजार सञ्चालक समितिको आयोजनामा हुने उक्त हाटबजार मर्स्याङ्दी गाउँपालिका– ३ को यहाँ स्थित कृषि तथा पशु सेवा केन्द्र परिसरमा गरिने छ । स्थानीय क्षेत्रका किसानहरूले उत्पादन गरेका कृषि तथा पशुपंक्षीजन्य उपजलाई बजारको प्रवन्ध गर्नका लागि बडादशैंलाई लक्षित गरी तीन दिवसीय हाटबजारको तयारी गरिएको छ ।
मर्स्याङ्दी गाँउपालिकाका अध्यक्ष अर्जुन गुरुङले हाटबजारमा कृषि उपज ल्याउने किसानलाई बिक्री मूल्यको ५ प्रतिशत तथा खसी, बोका, भेडा, कुखुरालगायत पशुपक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको ३ प्रतिशत प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउने व्यवस्था गरिएको बताउनु भयो । उहाँका अनुसार किसानको उत्पादनलाई उचित मूल्य दिलाउन समर्थन मूल्यको समेत व्यवस्था गरिएको छ ।
अध्यक्ष गुरुङले भन्नुभयो, ‘स्थानीय उत्पादनको बजार विस्तारमा सहयोग पुग्नुका साथै हाटबजारले किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट गर्ने र कारोबारको अवसर सिर्जना हुनेछ ।’ गाउँपालिकाले बडादशैंको अवसरमा बाह्य बजारबाट आउने वस्तुमा मात्र निर्भर नभई आफ्नै स्थानीयस्तरमा उत्पादित कृषि तथा पशुजन्य उपजको प्रयोग बढाउन उपभोक्तालाई आग्रह गरेको छ । स्थानीय उत्पादनको प्रयोग र बजारीकरण बढाउँदा किसानको मेहनतको उचित मूल्य प्राप्त हुनुका साथै स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने विश्वास गाउँपालिकाको छ ।
स्थानीय उत्पादनको बजारीकरण गर्न तथा उपभोक्तालाई सहज रुपमा स्थानीय उत्पादन उपलब्ध गराउने उद्देश्यले हाटबजार सञ्चालन गर्न लागिएको गाँउपालिका अध्यक्षका स्वकीय सचिव प्रदिप गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार हाटबजारमा स्थानीय किसानले उत्पादन गरेका कृषिजन्य वस्तुहरू ताजा तरकारी, फलफूल, स्थानीय चामल(अनदी, कागनु आदि) पशुजन्यमा खसी, बोका, भेडा, त्यस्तै पंक्षीमा कुखुरा, परेवा लगायत विविध उपज बिक्रीका लागि किसानले ल्याउने छन् । यस कार्यबाट दशैंका लागि आवश्यक कृषि तथा पशुजन्य सामग्री स्थानीयस्तरमै सहज रुपमा खरिद गर्न सकिने हुन्छ प्रदीप गुरुङले उल्लेख गर्नु भयो ।

प्रकाशित मिति २०८३ आश्विन १७, शनिबार ०८:४५ गते
हजुरको प्रतिक्रिया