नेपाली काँग्रेसको पाँच दिवसीय १५औँ महाधिवेशन आजदेखि

नेपाली काँग्रेसको पाँच दिवसीय १५औँ महाधिवेशन आजदेखि

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज १७ गते आईतबार ०७:३०

भारत, चीनसहित विभिन्न देशका पार्टीहरूलाई पनि उद्घाटन सत्रका लागि निम्तो दिइएको कांग्रेसले जनाएको छ ।

काँग्रेसको नयाँ कार्यसमिति २३१ सदस्यीय बन्नेछ । विगतमा १६८ सदस्यीय कार्यसमिति थियो ।

काठमाडौं– नेपाली काँग्रेसको पाँच दिवसीय १५औँ महाधिवेशनको उद्घाटन समारोह काठमाडौंको खुलामञ्चमा दिउँसो २ बजे सुरू हुनेछ । काँग्रेसले यो महाधिवेशनलाई ‘नीति चयन’को अधिवेशनको संज्ञा दिएको छ । उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूलाई निम्ता गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न दलका शीर्ष नेतृत्वलाई कांग्रेसले महाधिवेशनको उद्घाटन समारोहमा निमन्त्रणा गरेको छ ।
भारत, चीनसहित विभिन्न देशका पार्टीहरूलाई पनि उद्घाटन सत्रका लागि निम्तो दिइएको कांग्रेसले जनाएको छ ।
महाधिवशेनको तयारी पुरा भएको बताउँदै पार्टी प्रवक्ता देवराज चालिसेले महाधिवेशनलाई केवल नेता चयनमा मात्र सीमित नराखी ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने भएको बताउनु भयो । उहाँका अनुसार १८ देखि २२ असोजसम्म चल्ने अधिवेशनले काँग्रेसलाई संस्थागत र सुदृढ बनाउन मद्दत पु¥याउने छ ।
चालिसेले भन्नु भयो, ‘उम्मेदवारी मनोनयन दर्ता हुनुअघि महाधिवेशनको सर्वोच्च निकायले विधान संशोधन प्रस्तावमा छलफल गरी निर्णय गर्ने र विधान संशोधन समितिले तयार पारेको र केन्द्रीय समितिले छलफल गरी ल्याएको प्रस्तावअनुसार पद संशोधनको अन्तिम अधिकार महाधिवेशन हलको रहने छ ।’
उद्घानसत्र आज दिउँसो २ बजे टुडिखेलमा हुनेछ । बन्दसत्रमा काँग्रेसको आगामी नीति, कार्यक्रम तथा समसामयिक प्रतिवेदन पेस गरिने र सभापतिले आगामी ५ वर्षका लागि राजनीतिक, आर्थिक, उत्पादन, रोजगार तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र पेस गर्ने जानकारी दिनुभयो । यसैगरी, भोलि सबैभन्दा अघि विधान संशोधन गरिनेछ । मनोनयन दर्ताको समय दिउँसो २ देखि ६ बजेसम्म तोकिएको छ ।
महाधिवेशनमा सात हजार सात सय जनाभन्दा बढी प्रतिनिधिले भाग लिने छन् । प्रतिनिधिहरूका लागि ३५ सय दर्ता शुल्क तिरेर रजिस्ट्रेसनको व्यवस्था गरिएको छ ।
कांग्रेसको १४औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि सहभागी भएका थिए । त्यसबेला प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २५ जनाका दरले महाधिवेशन प्रतिनिधि आउने व्यवस्था थियो । यसपटक त्यो संख्या बढाएर प्रत्येक निर्वाचन क्षेत्रबाट ३३ जनाका दरले प्रतिनिधि आउने व्यवस्था गरिएको छ ।
आज उद्घाटन र असोज १९ र २० गते खुलामञ्चमै बन्दसत्र चल्नेछ । त्यसपछि निर्वाचन कार्यक्रम अघि बढ्नेछ । असोज २१ र २२ गते निर्वाचन हुनेछ ।
प्रतिनिधि तथा शुभेच्छुकहरू १० हजारका लागि बस्न मिल्ने गरी काठमाडौँका विभिन्न क्षेत्रका होटल बुकिङ गरिएको नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ अध्यक्ष लिलाप्रसाद ढकालले बताउनु भयो । उहाँका अनुसार केन्द्रीय सदस्य रमेशप्रसाद धमलाको संयोजकत्वमा आवास व्यवस्थापन समितिले प्रतिनिधि बस्नका लागि प्रबन्ध गरेको छ । उहाँले भन्नुभयो, ‘काठमाडौँको गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलङ्की क्षेत्रका होटल बुकिङ गरिएको छ ।’
मतदानका लागि विद्युतीय मेसिन प्रयोग हुनेछैन । एक जना महाधिवेशन प्रतिनिधिलाई मत दिन कम्तीमा ५० मिनेट लाग्न सक्ने आंकलन छ ।
काँग्रेसको नयाँ कार्यसमिति २३१ सदस्यीय बन्नेछ । विगतमा १६८ सदस्यीय कार्यसमिति थियो ।
कांग्रेसले महाधिवेशन प्रचारप्रसारमा वातावरणमैत्री प्रचारप्रसार गर्नका लागि सबै उम्मेदवारहरूलाई आग्रह गर्दै तामझाम नगर्ने बताएको छ ।

प्रकाशित मिति २०८३ आश्विन १८, आईतवार ०७:३० गते
हजुरको प्रतिक्रिया