कांग्रेसको १५औं महाधिवेशन : मतदानको प्रतीक्षामै बित्यो प्रतिनिधिको दिन, पत्रकारहरूलाई प्रवेश निषेध

कांग्रेसको १५औं महाधिवेशन : मतदानको प्रतीक्षामै बित्यो प्रतिनिधिको दिन, पत्रकारहरूलाई प्रवेश निषेध

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज २१ गते बिहिबार ०८:१२

सभापति गगन थापाले भन्नुभयो, ‘हाम्रो महाधिवेशनस्थल वरपर प्रचार सामग्रीहरू राख्ने, पर्चापम्प्लेट टाँस्ने काम कसैले पनि नगरौं । केही साथीहरूको देखिएको छ । त्यसलाई हटाउँ । तपाईंहरूले नहटाए भोलेन्टियर साथीहरूले हटाउनु हुनेछ ।’ तर, महाधिवेशन स्थलमा जताततै भित्ताभरि र सडकभरि उम्मेदवारका पर्चा, पम्प्लेट, ब्यानर टाँसिएका छन् ।

१५औँ महाधिवेशनले विधान संशोधन गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ । कांग्रेसको नयाँ समिति निर्वाचनमा २९७ पदका लागि ८५० उम्मेदवार छन् ।

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनका सन्दर्भमा नयाँ नेतृत्व चयनका लागि आजका लागि तय भएको मतदान नहुने भएको छ । मतदान भोलि २३ गते बिहान ७ बजेदेखि हुने बताइएको छ ।
मतपत्र छाप्न ढिलाइका साथै आवश्यक प्राविधिक तयारी पूरा नभएकाले निर्वाचन हुन नसक्ने भएको निर्वाचन समितिका संयोजक वरिष्ठ वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बताउनु भयो । उहाँका अनुसार अब भोलि बिहान मात्रै मतदान हुने भएको बिहान ७ बजेदेखि हुने छ ।
कांग्रेसको सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन् । महाधिवेशनमा सहभागी सात हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन् । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले आज साँझ सार्वजनिक गरिसकेको छ ।
महाधिवेशन स्थलमा पत्रकारलाई खुलामञ्च र राष्ट्रिय सभागृह प्रवेशमा रोक :
यसैबीच, कांग्रेसको १५औं महाधिवेशन स्थलमा मतदान सुरु हुनुअघि खुलामञ्च र राष्ट्रिय सभागृहमा सुरक्षा कडा पारिएको छ । जहाँ पत्रकारलाई समेत प्रवेशमा रोक लगाइएको छ । मतदान स्थलमा अहिले बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको थियो ।
नयाँ कार्यसमिति चयनका लागि मतदान हुने कार्यक्रम दिउँसो साढे २ बजेबाट मतदान सुरु गर्ने भनिए पनि साँझसम्म सुरु हुन सकेन ।
आचार संहिताको धज्जी :
कांग्रेसले यसपटक निर्वाचन आचारसंहितामा उम्मेदवारहरूलाई भड्किलो प्रचारसामग्री प्रयोगमा निर्वाचन समितिले रोक लगाएको थियो । काँग्रेसले महाधिवेशनअघि जारी गरेको आचारसंहितामा तडकभडक र भड्किलो प्रचारप्रसारमा पूर्णतया रोक लगाइने भनेको थियो ।
विपद्पछिको परिस्थितिलाई सम्मान गर्दै महाधिवेशनलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन जुनसुकै प्रकारका भड्किला प्रचार अभियानहरूलाई पूर्ण रूपमा निषेध गरिएको निर्वाचन समितिमा सदस्य सचिव राजु कटुवालले बताउनु भयो । तर अधिवेशन स्थलको भुइँमा असरल्ल छरिएका प्रचार सामग्री प्रतिनिधिहरूले कुल्चिंदै हिंडिरहेका देखिन्छन् ।
सभापति गगन थापाले पनि यी क्षेत्रमा प्रचार सामग्रीहरू नराख्न निर्देशन दिनु भएको थियो । बन्दसत्रमा थापाले भन्नुभयो, ‘हाम्रो महाधिवेशनस्थल वरपर प्रचार सामग्रीहरू राख्ने, पर्चापम्प्लेट टाँस्ने काम कसैले पनि नगरौं । केही साथीहरूको देखिएको छ । त्यसलाई हटाउँ । तपाईंहरूले नहटाए भोलेन्टियर साथीहरूले हटाउनु हुनेछ ।’
तर, महाधिवेशन स्थल खुलामञ्ज, राष्ट्रिय सभागृह र भृकुटीमण्डप क्षेत्र पूरै प्रचार सामग्रीले फोहोर देखिएको छ । जताततै भित्ताभरि र सडकभरि उम्मेदवारका पर्चा, पम्प्लेट, ब्यानर टाँसिएका छन् ।
त्यतिमात्र नभई निर्वाचन समितिले आचारसंहिता अनुसार प्रिन्ट तथा भौतिक प्रचार सामग्रीमा पूर्ण प्रतिबन्ध, महाधिवेशन स्थल तथा आसपासका कुनै पनि क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेट वा अन्य कुनै पनि प्रकारका प्रिन्टेड प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न पूर्ण रूपमा निषेध गरिएको भनेको थियो ।
कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदहरूमा सयौं संख्यामा उम्मेदवारहरू भिड्दैछन् ।
एकैपटक २०० जनासम्मले मतदान गर्न सक्ने :
उता, कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा एकपटकमा १५० देखि २०० जनासम्मले एकैपटक मतदान गर्न सक्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ । एकपटकमा १५० देखि २०० जनासम्मले मतपत्रमा स्वस्तिक छाप हान्न सक्ने व्यवस्था मिलाइएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले जानकारी दिनु भयो ।
मतदानका लागि राष्ट्रिय सभागृहमा बागमती प्रदेशको र अन्य छ प्रदेशको खुला मञ्चमा छुट्टाछुट्टै बुथ निर्माण गरिएको पनि निर्वाचन समितिका संयोजक खड्काले जानकारी दिनुभयो । मतदाता संख्या सात हजार ३१४ जना निर्धारण गरिएको जानकारी दिएको छ ।
एक दिनको आवास खर्च पार्टीले बेहोर्ने :
कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने भएको छ । कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले पत्रकार सम्मेलनमार्फत महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको काठमाडौं बसाइँको खर्च पार्टीले व्यहोर्ने जानकारी दिनु भएको हो ।
मतदान विहान ७ बजेदेखि ३ बजेसम्म :
नेपाली कांग्रेसको जारी १५औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भोलिमात्र मतदान हुने भएको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार असोज २३ गते विहान ७ बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको छ । मतदानका लागि खुलामञ्च, राष्ट्रियसभा गृह र प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । भूगोलअनुसार तीन स्थानमा मतदान हुने निर्वाचन समितिले जनाएको छ । कांग्रेस सभापतिका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्कीले उम्मेदवारी दिएको स्थिति छ ।
परिचयपत्र र मतदाता नामावली रुजु गरिने :
मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ । निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ ।
रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।
सो समितिका अनुसार मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न पाइने छैन । प्रतिनिधिहरूले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेर मात्रै मतदान गर्न पाउने छन् ।
मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना अघि बढाइनेछ । मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । त्यससँगै कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ ।
१५औँ महाधिवेशनले विधान संशोधन गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ । कांग्रेसको नयाँ समिति निर्वाचनमा २९७ पदका लागि ८५० उम्मेदवार छन् ।

प्रकाशित मिति २०८३ आश्विन २२, बिहीबार २०:१२ गते
हजुरको प्रतिक्रिया