
भोर्लेटार(लमजुङ)– आदिकवि भानुभक्तको मावली गाउँमा पहिचानको खोजीको पहल गरिएको छ । लमजुङको मध्यनेपाल नगरपालिका– ६ को भोर्लेटार आदिकवि भानुभक्तको मावली गाउँ हो । उहाँका साहित्यकर्मीहरूको भेलाले असोज २५ गते त्यस्तो पहलको थालनी गरेको हो ।
आदिकवि भानुभक्तको मावली गाउँका रूपमा भोर्लेटारलाई पहिचान गराउने उद्देश्यले मध्यनेपाल नगरपालिका भोर्लेटारमा भेलाको आयोजना गरिएको हो । उक्त भेलाले ‘भानुभक्त स्मृति प्रतिष्ठान’ नामक संस्था दर्ता गर्नका लागि ९ सदस्यीय तदर्थ समिति र ४ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ ।
सामाजिक एवम् शैक्षिक व्यक्तित्व रामकृष्ण घिमिरेको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा रामभक्त पौडेल, सचिवमा रामकृष्ण घिमिरे (पूर्व प्रअ) र कोषाध्यक्ष प्रतीक्षा सुवेदी पौडेल रहनु भएको छ । त्यस्तै, समितिको सदस्यहरूमा युवराज पौडेल, बाबुराम पौडेल, दयाराम खनाल, विष्णुमाया पौडेल तथा सन्ध्या पौडेल रहनुभएको छ ।
यसैगरी, विधान मस्यौदा समितिमा संयोजक मोहनहरि पौडेल तथा सदस्यहरूमा रमेशचन्द्र घिमिरे, मोहनराज घिमिरे र रमेश लामिछाने रहनुभएको छ ।
भेला रामकृष्ण घिमिरे (पूर्व शिक्षक) को अध्यक्षतामा भएको थियो । पूर्व प्रअ रामकृष्ण घिमिरेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गर्नुभएको थियो । भानुभक्तसँग भोर्लेटारको सम्बन्धका साथै भानुभक्तको साहित्यिक योगदानका बारेमा रामभक्त पौडेलले प्रकाश पार्नुभएको थियो । मोहनहरि पौडेलले भोर्लेटारको पहिचान र अस्तित्व गुम्न नदिनका लागि संस्था स्थापना गर्नु अनिवार्य रहेको अभिव्यक्ति दिनुभएको थियो ।
त्यस्तै, वसन्तराज घिमिरेले भानुभक्तलाई हाम्रा गौरवका रूपमा प्रचार प्रसार गर्न आवश्यक रहेको वस्तुगत तथ्य प्रस्तुत गर्नुभयो । भेलामा रामचन्द्र पौडेलले उपयुक्त ठाउँको खोजी गरी भानुभक्तको सालिक तथा पार्क निर्माणमा जोड दिनुभयो ।
उपस्थित सहभागीहरूमध्ये गोपाल लामिछाने, युवराज पौडेल, पुण्यप्रसाद पौडेल, कृष्णभक्त पौडेल, देवहरि पौडेल, मोहनराज घिमिरे, बद्रीप्रसाद पौडेल, मुक्तिमणि पौडेल, देवेन्द्र गुरुङ (सुरज), कोपिला परियार, आनन्द पौडेल, बाबुराम पौडेल लगायतका वक्ताले आआफ्नो तर्क राख्नभएको थियो ।
कार्यक्रमको सञ्चालन कवि एवम् ईशानेश्वर माविका प्रधानाध्यापक रमेशचन्द्र घिमिरेले गर्नुभएको थियो । उहाँका अनुसार भेलाले प्रत्येक वर्षको असार २९ गते भानुजयन्तीका अवसरमा साहित्यिक तथा भानु स्मृति कार्यक्रम गर्ने समेत निर्णय गरेको छ ।
तस्बिर : सुरज गुरुङ ।

प्रकाशित मिति २०८३ आश्विन २५, आईतवार १८:३३ गते