बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा मुख्य कार्यालय रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा क्या. चित्रबहादुर गुरुङ चयन हुनुभएको छ । बेसीशहर नगरपालिकाका उपमेयर पदमा गुरुङको प्रमुख आतिथ्यतामा भएको संस्थाको ३०औ साधाराण सभा तथा सातौँ अधिवेशनबाट गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति असोज २५ गते चयन गरेको हो ।
उक्त अधिवेशनबाट समितिको उपाध्यक्षमा पूर्णसिंङ गुरुङ चयन हुनुभएको छ । त्यस्तै, सचिवमा लक्ष्मी घले र कोषाध्यक्षमा ज्योती गुरुङ चयन हुनुभएको सो सहकारीका प्रवन्धक झमप्रसाद गुरुङले बताउनु भयो । उहाँका अनुसार कार्यसमिति सदस्यहरूमा सुवेदार नरबहादुर गुरुङ, लोकबहादुर घले, टकबहादुर गुरुङ, कमला गुरुङ र गमबहादुर घले चयन हुनुभएको छ ।
उक्त सहकारीको लेखा समिति संयोजकमा बेलबहादुर गुरुङ चयन हुनुभएको छ । त्यस्तै सो समितिको सदस्यहरूमा गौबहादुर गुरुङ र हिमबहादुर गुरुङ चयन हुनुभएको छ ।
संस्थाको विधान अनुसार नव निर्वाचित समितिको कार्यकाल चार वर्षको रहने साकोसका उपाध्यक्षमा पूर्णसिंङ गुरुङले बताउनु भएको छ ।
आफ्नो उद्घाटन मन्तव्यमा उपप्रमुख गुरुङले यो सहकारी संस्थाले समुदायमा छरिएर रहेको पुँजीलाई एकीकृत गरी आयआर्जनमूलक क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएका सहकारीले विगतका वर्षमा विभिन्न आरोह अवरोह पार गर्दै जिल्लाको अर्थतन्त्रलाई चलायमान बनाउन टेवा पु¥याएको बताउनुभयो । उहाँले सहकारीको आफ्नै नीति, नियम तथा मूल्य मान्यता हुने भएको हुदा त्यो परिधिभित्र रहेर सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा उत्कृष्ट कारोबार गर्ने बेसीशहर– ७ की मिनमाया श्रेष्ठ र बेसीशहर– ८ का वीरेन्द्र तामाङलाई सम्मान गरिएको थियो । त्यस्त, एसईई परीक्षामा ३.२० भन्दा बढी जीपीए प्राप्त गर्न सफल १९ जना बाल सदस्यलाई समेत सम्मान गरिएको थियो ।
सो अवसरमा संस्थाका गतिविधि, कार्यक्रम तथा आर्थिक विवरण कोषाध्यक्ष पूर्णसिं गुरुङले प्रस्तुत गर्नु हुँदै गत आवमा संस्थाको खुद मुनाफा २ लाख ९३ हजार ५ सय ६३ रुपैयाँ रहेको जानकारी दिनुभयो । उहाँले आव २०८२/८३ मा संस्थाको कुल सम्पत्ति ९५ करोड ७० लाख ३१ हजार ६ सय २८ रुपैयाँ सहकारीको कुल सम्पत्तिसँगै जगेडा कोष १४ करोड ८४ लाख ७ हजार ८२ रुपैयाँ पुगेको छ भन्नुभयो । गत आर्थिक वर्षमा ७ करोड ७ लाख ४५ हजार ३ सय रुपैयाँ रहेको संस्थाको शेयर पुँजी चालु आर्थिक वर्षमा ६ करोड ९१ लाख ४ हजार ४ सय रुपैयाँ रहेको बताउनुभयो ।
आर्थिक वर्ष २०८२/८३ मा संस्थाले ७१ करोड २३ लाख २२ हजार ५१ रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४६ करोड ९५ लाख ७५ हजार १ सय ९२ रुपैयाँ ऋण लगानी गरेको छ ।
संस्थाका अध्यक्ष ताराराज घलेको अध्यक्षतामा भएको सो सभामा उहाँले जनकल्याण साकोसले मुख्य कार्यालय र आठवटा सेवाकेन्द्र गरी नौवटा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो । संस्थाका उपाध्यक्ष ठाकुरप्रसाद गुरुङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सचिव क्याप्टेन चित्रबहादुर गुरुङले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा साकोसका सल्लाहकार, विभिन्न उपसमितिका पदाधिकारी, कर्मचारी तथा शेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।
२७ जना सेयर सदस्यबाट सुरु भएको जनकल्याण साकोसमा हाल १३ हजार ५३६ पुगेको सहकारीका प्रबन्धक झमप्रसाद गुरुङले बताउनुभयो । उहाँका अनुसार साकोसले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न मानवीय, सेवामूलक तथा सामाजिक कार्य गर्दै आएको छ ।
प्रकाशित मिति २०८३ आश्विन २७, मंगलवार १५:४८ गते