
बेसीशहर– प्रदेश अस्पताल लमजुङका प्रमुख, आफ्नो प्राणदाता मे.सु. डा. शिशिर देवकोटाप्रति एक ८३ वर्षीय बृद्धले अस्पतालमै पुगेर खोज्दै कृतज्ञता व्यक्त गर्नु भएको छ । डा. देवकोटाका कारणले पुनर्जीवन पाउनु भएका लमजुङको राइनास नगरपालिका– २ को पन्थेडाँडा गाउँ निवासी बृद्ध बलबहादुर शाहीले उहाँलाई खोज्दै अस्पतालमा पुगेर असोज २७ गते कृतज्ञता व्यक्त गर्नु भएको हो ।
करीब ८ महिना अघि पेटको विरामी भई राइनासको एक मेडिकलमा जादा ‘ग्यास्ट्रिक भयो’ भन्दै औषधि दिएछन् । त्यो खाएर पेटको तीव्र दुखाइ सहेर बस्नु भएका ८३ वर्षीय एक बृद्ध बुवा शाहीले जब ५ दिनपछि मात्र प्रदेश अस्पताल लमजुङमा आइपुग्नु भयो । उहाँको एपेन्डिक्स फुटेर स्थिति जटिल बनिसकेको रहेछ ।
उहाँको शरीरमा प्रेसर पनि घट्दै गएको धडकन बढ्दै गएको ‘सेप्सिस’को खतरा(शरीरभर इन्फेक्सन)मा पुग्नु भएको अवस्थामा उहाँलाई काठमाडौँ लैजान परिवार हेलिकप्टरको समेत तयारी गर्दै थियो । उहाँ प्रेसरको समेत बिरामी उमेर ८३ वर्ष अनि ‘सेप्सिस’को अवस्था । यस्तो स्थितिमा बिरामीको शल्यक्रिया गर्नु जोखिम नै थियो । तर पनि हामी शल्यक्रियाको तयारी गर्दै थियो । त्यस्तैमा ‘अप्रेशन गर्ने डाक्टर भनेको त अलिक उमेर खाएको हुनु पर्नेमा, डा.को त दाह्री जुङ्गा पनि आएको छैन, भर्खर प्लस टु पढ्ने जस्तो छ’ भन्ने आशंका गर्दै हल्ला चलाएको सुनियो ।
ती बृद्ध बिरामीलाई तत्कालै शल्यक्रिया नगर्दा उहाँको ज्यानै तलमाथि हुन सक्ने जोखिम बढिरहेको थियो । बिरामीलाई बाहिर(काठमाडौं) लान अझै ३– ४ घन्टा लाग्ने भएपछि परिवार यहीँ शल्यक्रिया गर्न राजी हुनु भयो । अन्ततः डा. देवकोटाको दुई घण्टाको अथक प्रयासपछि उहाँको शल्यक्रिया सफल भयो । पाँच दिनको अस्पताल बसाई पछि ती बृद्धले आराम भएको अनुभव गर्दै घर फर्कनु भयो ।
त्यो शल्यक्रिया सफल भएको आज करिब ८ महिनापछि उहाँ विशेष रूपमा डा. देवकोटालाई नै खोज्दै प्रदेश अस्पताल आउनुभए छ । आफ्नो प्राणदाता डा. देवकोटालाई देख्ने बित्तिकै ती बृद्ध बाका आँखाबाट हर्षका आँसु बगेछन् । डा. देवकोटा भन्नुहुन्छ, ‘त्यो दृश्य देखेर नै मेरो पेसाको औचित्य सबल भएको थप महसुस भयो । केही क्षण उहाँसँग भलाकुसारी गरी आउँदै गरेको बडादशैँको उहाँलाई शुभकामना दिँदै बिदा गरेँ !’
डा. शिशिर देवकोटाको फेसबुकवालबाट ।

प्रकाशित मिति २०८३ आश्विन २८, बुधबार १२:१७ गते