
महायज्ञका अवसरमा चार वेद, उपनिषद्, १८ पुराण, श्रीमद्वाल्मीकीय रामायण, महाभारत, दिव्यप्रबन्ध तथा विभिन्न स्तोत्र लगायतका शास्त्रहरूको पाठपारायण गरिने कार्यक्रम रहेको छ ।
धनधान्याचललाई नेपालका मेची महाकालीसम्मका विभिन्न देवस्थल तथा तीर्थस्थलको यात्रा गराई अन्त्यमा महायज्ञस्थलमा विधिपूर्वक स्थापना गरिनेछ ।
त्रिवेणी(नवलपरासी)– नवलपरासीको पवित्र तीर्थस्थल त्रिवेणीस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ आयोजना हुने भएको छ । महायज्ञ आगामी मंसिर १ गतेदेखि सुरु भई २९ गते समापन गरिने छ । उक्त महायज्ञ अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को पावन सत्संकल्पमा हुन लागेको हो ।
महायज्ञ मार्फत सनातन धर्म, वैदिक सभ्यता, संस्कार, संस्कृति तथा आध्यात्मिक ज्ञानको संरक्षण र प्रवद्र्धनसँगै वैश्वीकरणका निम्ति श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रमलाई क्रमशः विशिष्ट महाविद्यालयका रूपमा विकास गर्दै वैदिक ज्ञान, संस्कृत शिक्षा, धर्मदर्शन तथा आध्यात्मिक विषयको अध्ययन अनुसन्धान विस्तार गर्न नमुना वैदिक विश्वविद्यालय स्थापनाको दिर्घकालीन लक्ष्यलाई अघि बढाउने उद्देश्य रहेको महायज्ञ प्रचारप्रसार समितिका संयोजक अच्युतकृष्ण शरणले बताउनु भयो ।
विशाल धनधान्याचल र शास्त्रीय अनुष्ठान मुख्य आकर्षण :
महायज्ञको विशेष आकर्षणका रूपमा विशाल धनधान्याचल तथा अष्टाचल स्थापना गरिनेछ । धार्मिक विधिअनुसार निर्माण गरिने धनधान्याचलमा विभिन्न देवीदेवताका मूर्ति स्थापना गरी शिरमा भगवान् श्रीशालिग्राम विराजमान गराउने योजना रहेको आयोजकको भनाइ छ ।
महायज्ञका अवसरमा चार वेद, उपनिषद्, १८ पुराण, श्रीमद्वाल्मीकीय रामायण, महाभारत, दिव्यप्रबन्ध तथा विभिन्न स्तोत्र लगायतका शास्त्रहरूको पाठपारायण गरिने कार्यक्रम रहेको छ ।
धनधान्याचललाई नेपालका मेची महाकालीसम्मका विभिन्न देवस्थल तथा तीर्थस्थलको यात्रा गराई अन्त्यमा महायज्ञस्थलमा विधिपूर्वक स्थापना गरिनेछ ।
अष्टाचलमा तिल, जौ, गहुँ, मकै, चना, मासलगायतका अन्न अर्पण गर्न सकिने व्यवस्था मिलाइनेछ । श्रद्धालु भक्तजनले आफ्नो घरमा उपलब्ध अन्न श्रद्धापूर्वक अर्पण गरी महायज्ञमा सहभागी हुन सक्नेछन् ।
त्यसैगरी श्रीगजेन्द्रमोक्ष स्तोत्र, श्रीविष्णुसहस्रनाम र मूल रामायणको सहस्रावृत्र् पारायण तथा वैदिक वाङ्मय र गोवंश संरक्षण एवं श्रीसमृद्धिको कामनासहित श्रीपञ्चमहालक्ष्मी हवन आराधना गरिनेछ ।
धर्माचार्यको प्रवचनदेखि योग, ध्यान र पाँच करोड दीप प्रज्ज्वलनसम्म :
महायज्ञमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त धर्माचार्य, विद्वान् तथा विदुषीहरूबाट शास्त्रीय प्रवचन प्रस्तुत गरिने कार्यक्रम तय गरिएको छ । राष्ट्रिय धार्मिक कलाकारहरूबाट भजन कीर्तन, देवलीला, झाँकी तथा चेतनामूलक नाटक पनि प्रदर्शन गरिनेछ ।
नेपाल आमाको तीर्थमय महिमा, देवदेश नेपालका जलसम्पदा तथा अन्य प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाको महत्व बारे प्रवचन तथा विमर्श गरिने कार्यक्रम पनि महायज्ञका आकर्षणका रूपमा समावेश गरिएको छ । यी कार्यक्रममार्फत नेपालको मौलिक सभ्यता, आध्यात्मिक परम्परा र सांस्कृतिक सम्पदाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने लक्ष्य राखिएको छ ।
त्यसैगरी सयौँ गौमाताको सामूहिक पूजन, सामूहिक श्रीशालिग्राम तथा गण्डकी पूजन, एक हजार ८ कन्या र बटुक पूजन तथा दैनिक योग एवं ध्यान शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ । महायज्ञअन्तर्गत पाँच करोड दीप प्रज्ज्वलन गर्ने लक्ष्यसमेत राखिएको छ ।
घरघरबाट एक मुठी चामल अर्पण गर्न विशेष आह्वान :
आयोजकले श्रद्धालु भक्तजन समक्ष प्रत्येक दिन घरमा एक मुठी चामल शुद्ध पात्रमा राखी प्रत्येक दानालाई श्रद्धापूर्वक ‘श्रीराम’ नाम मन्त्रद्वारा अभिमन्त्रित गर्दै छुट्टै बट्टा वा झोलीमा सङ्कलन गर्न विशेष आह्वान गरेको छ ।
संकलित चामल महायज्ञ स्थलमा उपस्थित हुँदा साथमा ल्याई अर्पण गर्न सकिनेछ । स्वयं उपस्थित हुन नसक्ने श्रद्धालुले आफ्नो प्रतिनिधिमार्फत समेत चामल पठाउन सक्ने व्यवस्था गरिएको छ । श्रद्धालुबाट प्राप्त चामल महायज्ञ अवधिभर दैनिक भगवान्लाई खीरको भोग अर्पण गर्न तथा हवनसम्बन्धी कार्यमा प्रयोग गरिने आयोजकले जनाएको छ ।
यसैगरी श्रद्धालुहरूलाई आफ्नो घर आँगन वा मठमन्दिरमा रहेको तुलसीको मठ तथा परम्परागत पितृ पुर्खाको घरको माटो अमलाको दानाजति परिमाणमा ल्याई महायज्ञमा अर्पण गर्न पनि अनुरोध गरिएको छ । यसले व्यक्तिगत घरपरिवार, पितृस्मृति र स्थानीय धार्मिक परम्परालाई सामूहिक धार्मिक अनुष्ठानसँग जोड्ने उद्देश्य राखेको छ ।
विशेष पितृ उद्धार अनुष्ठान :
हालै भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएका तथा नेपालमा विभिन्न समयमा भूकम्प, बाढी, पहिरो लगायतका प्राकृतिक विपद् र अन्य कारणबाट असामयिक निधन भएका दिवंगत आत्माहरूको सद्गति, चिरशान्ति एवं परम कल्याणको कामनासहित महायज्ञमा विशेष पितृ उद्धार अनुष्ठानसमेत आयोजना गरिने भएको छ ।
वैदिक शास्त्रीय विधि र परम्परा अनुसार दिवंगत आत्माहरूको शान्ति, सद्गति तथा पितृ उद्धारको संकल्पसहित तर्पण, होम, पिण्डदान तथा अन्य आवश्यक धार्मिक अनुष्ठानहरू सम्पन्न गरिनेछन् ।
उक्त विशेष अनुष्ठानमा आफ्ना दिवंगत परिवारजन तथा आफन्तका नाममा संकल्प गराउन इच्छुक व्यक्तिहरूले दिवंगत व्यक्तिको फोटो र मृत्यु भएको तिथिमिति महायज्ञ सम्पादन समितिसँग समन्वय गरी उपलब्ध गराउनुपर्नेछ । यस पुण्यकार्यमा सहभागी भई दिवंगत पितृ तथा आफन्तजनको स्मृतिमा श्रद्धा अर्पण गर्न सबैमा आयोजकको अनुरोध छ ।

प्रकाशित मिति २०८३ आश्विन ३०, शुक्रबार ०६:४७ गते