काठमाडौं– प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई छैटौं पटक प्रधानमन्त्री बन्ने ढोका खुलेको छ । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि पुस ६ गते भएको निर्वाचनमा सो दलका सभापति शेरबहादुर देउवा झण्डै दुई तिहाई मतद्वारा निर्वाचित हुनु भएसँगै उहाँलाई त्यस्तो संभावनाको ढोका खुलेको हो ।
नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा पार्टीका महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित हुनु भएको हो ।
आजै बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा गरिएको निर्वाचनमा देउवाले ६४ मत पाउनु भएको छ भने सो पदका अर्का प्रत्यासी गगन थापाले २५ मत प्राप्त गर्नु भयो । निर्वाचन समितिका संयोजक भीस्मराज आङ्दावेले देउवा ६४ मतसहित निर्वाचित भएको जानकारी दिनु भएको हो ।
गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गर्नु भएको थियो । तर गगनले पाएनन् आफ्नै समूहका सांसदको मत पाउन नसकेको बताइएको छ ।
आफ्नै समूहका सांसदले पत्याएनन् थापालाई
संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद रहेको आंकलन भइरहँदा थापाको पक्षमा २५ मत मात्र परेको छ । महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत साथ दिएको हुँदा कम्तिमा पनि ४० प्रतिशत मत कट्ने शेखर समूहको आंकलन थियो ।
मतदानमा काँग्रेसका सबै ८९ सांसदले भाग लिएका थिए ।
नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसद माया राईले अस्पतालबाटै भोट हाल्नु भएको थियो । उहाँ सुत्केरी भएर ओम अस्पतालमा रहनु भएको छ । निर्वाचन समितिका प्रतिनिधिहरू अस्पतालमै पुगेर उहाँको मत संकलन गरेको जानकारीमा आएको छ ।
प्रकाशित मिति २०७९ पुष ६, बुधबार ११:३८ गते