गुरुङ समुदायले तीन दिवसीय रुपमा धुमधामसंग तमु ल्होसार मनाए

no-image

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ पुस १८ गते सोमबार ०५:१९

सो कार्यक्रमको नेतृत्व तमू ह्यूला छोंज धिं गुरुङ राष्ट्रिय परिषद् बेसीशहर इकाइबाट भएको थियो । सो कार्यक्रममा बेसीशहर बजार क्षेत्रमा रहेका ५ वटा टोलका कलाकारले गुरुङ गीत र पोशाकमा नाँच प्रस्तुत गरेका थिए । पाहुनालाई स्योकैं खुवाउने र खाने काम गरेका थिए । आयोजकबाट कार्यक्रममा सहभागी पाहुनाहरूलाई गुरुङ जातिले आफ्नो घरमा बनाएको स्थानीय रक्सी चखाउने काम समेत गरेका थिए ।

प्रतिनिधि सभाका सदस्य पृथ्वीसुब्बा र प्रदेश सभा सदस्य भेषबहादुर सम्मानित

बेसीशहर– लमजुङका गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व तीन दिवसीय रुपमा भब्यताका साथ मनाएका छन् । गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने प्रचलन छ । लमजुङका अधिकांश गुरुङ वस्तीहरूमा पुस १५, १६ र १७ गते साँस्कृतिक कार्यक्रम, स्योकैं कार्यक्रम(सामुहिक भोज)का साथ मनाएका हुन् । कतिपय गुरुङ गाउँमा स्योकैं कार्यक्रम पुस महिना भर चलिरहने बताइएको छ ।
ल्होसारको मुख्य दिन १५ गते सदरमुकाम बेसीशहरमा गुरुङ समुदायले आआफ्नो भेषभुषा, बाजागाजाका साथ र्याली (झाँकी) प्रदर्शन समेत गरेका थिए । मनाङ्गे चौताराबाट शुरु भएको र्याली पुरानो बैंकचोक, भिमसेनस्थान, नाराय णस्थान, झिङ्गेखोला सेराचोक हुँदै ऐतिहासिक तमु संग्राहलय स्थलमा पुगेर शुभकामना आदनप्रदान सभामा परिणत भएको थियो ।
सो कार्यक्रमको नेतृत्व तमू ह्यूला छोंज धिं गुरुङ राष्ट्रिय परिषद् बेसीशहर इकाइबाट भएको थियो । सो कार्यक्रममा बेसीशहर बजार क्षेत्रमा रहेका ५ वटा टोलका कलाकारले गुरुङ गीत र पोशाकमा नाँच प्रस्तुत गरेका थिए । पाहुनालाई स्योकैं खुवाउने र खाने काम गरेका थिए । आयोजकबाट कार्यक्रममा सहभागी पाहुनाहरूलाई गुरुङ जातिले आफ्नो घरमा बनाएको स्थानीय रक्सी चखाउने काम समेत गरेका थिए ।
सो अवसरमा मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भेषबहादुर पौडेललाई ५ वटा टोलले गुरुङ संस्कार अनुसार फेटा लगाएर बधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।
पहिचानको मुद्दा उठाउने व्यक्ति नै आफू रहेको पृथ्वीसुब्बा गुरुङको दावी
सम्मान ग्रहण पछि प्रतिनिधि सभा सदस्य पृथ्वीसुब्बा गुरुङले आदिवासी जनजाती, दलित, महिला, मधेसीलगायतको पहिचानको मुद्दा उठाउने व्यक्ति नै आफू रहेको दावी गर्नुभएको छ ।
उहाँले जन्मेदेखि नै बालबालिकालाई आफ्नो कला संस्कृतिबारे जानकारी गराउन सके संरक्षण हुने उहाँको भनाई थियो । अहिले बालबच्चा पढाउन शहर झर्ने क्रम बढेको, आफ्ना भाषाबारे जानकारी नभएको भन्दै यसमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले पढेर विदेश पलायन हुनु भन्दा पनि पढाईसंगै देशमा केही गरेर बस्न सुझाब दिनुभयो ।
लमजुङ जिल्ला सँस्कृतिको धनी, नेपालका कुनै ठाउँमा नपाइने ठाडोभाका, घाँटु, सोरठी जस्ता सँस्कृति रहेको र अहिले यो राष्ट्रिय संस्कृति बनेको स्मरण गर्दैै त्यसको संरक्षणमा जोड दिनुपर्ने उहाँको धारणा थियो । गुरुङहको उदगमथलो लमजुङ भएकाले लमजुङलाई संसारभर चिनाउन, पहिचानको केन्द्र बनाउन, अध्ययनको केन्द्र बनाउन लाग्नुपर्ने उहाँको जोड थियो ।
नेपाल बहुजातीय, बहु साँस्कृतिक, बहुभाषिक देश भएकाले सबैले आआफ्नो पहिचान जोगाउन लाग्नुपर्ने बताउनुभयो । गुरुङ समुदायमा भाषा बोल्ने, भेषभुषा लगाउने क्रम हराउँदै जान थालेकोमा चिन्ता व्यक्त गर्दै अभिभावकले आफ्ना सन्तानलाई आफ्नो जातीय पहिचानबारे जानकारी गराउनुपर्नेमा उहाँको जोड थियो ।
अर्को एक प्रशंगमा उहाँले नयाँ गठबन्धनको सरकार बनाउनका लागि आफूले पनि पहल गरेको स्मरण गर्दै यो गठबन्धनको सरकारले जनताको हितका लागि काम गर्ने उल्लेख गर्नुभयो । अब सुशासन, समृद्धिको लागि सरकारले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । यसबर्ष प्रगति, सुस्वास्थ्य, समृद्धि, दिर्घायुको बर्ष बन्न सकोस् भन्दै ल्होसारको शुभकामना दिनुभएको थियो ।
संविधान सभा सदस्य एवम् नेकपा एमालेका केन्द्रीय सदस्य जमिन्द्रमान घलेले भाषा, भेषभुषा हराएका गुरुङको पहिचान हराउने भएकाले संरक्षणका लागि लाग्नुपर्ने बताउनुभयो । आफ्ना अधिकार, पहिचानका लागि, आफ्ना माग पूरा गर्नका लागि संगठित हुनुपर्नेमा उहाँको जोड थियो ।
गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेलले ल्होसारको शुभकामना दिँदै जिल्लाको विकासमा ध्यान केन्द्रीत गर्ने बताउनुभयो । इमान्दारपूर्वक जिल्लाको विकास र समृद्धिका लाग्ने प्रतिवद्धता जनतालाई गरेको भन्दै अब सोही अनुरुप काम गर्ने बताउनुभयो । जिल्लाको परिवर्तनमा जोड दिनुभयो । जनताले साथ दिएमा काम गर्न सफल हुने भन्दै आफ्नो ऊर्जा नै जनता रहेको बताउनुभयो । उहाँले पूर्वाधारका काम बाँकी रहेकाले त्यसमा ध्यान जाने बताउनुभयो ।
बेसीशहर नगरपालिका मेयर गुमानसिंह अर्यालले चाडपर्वले सामाजिक सद्भाव कायम गर्ने बताउनुभयो । आफ्नो कला संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभयो । नगरपालिकाले नागरिकको आवश्यकता अनुसार काम गर्दै आएको र सक्दो सम्बोधनको प्रयास गरेको स्मरण गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले सँस्कृतिको संरक्षण गर्न सके देशको विकासका साथै पहिचानले स्थायित्व पाउने बताउनभुयो ।
तमु ह्युला छोज धीं गुरुङ राष्ट्रिय परिषद् लमजुङका अध्यक्ष जिवराज घलेले कला संस्कृतिको संरक्षण गर्न सके विकासमा सघाउ धारणा व्यक्त गर्नुभयो । उहाँले आफ्नो पहिचानका लागि सबै सचेत बन्नुपर्नेमा जोड दिनुभयो ।
उक्त कार्यक्रममा आर्थिक सहयोग गर्ने बेसीशहर नगरपालिका, मस्र्याङदी गाउँपालिका, क्व्होलासोथर गाउँपालिकालाई सम्मान समेत गरिएको थियो । यस्तै पर्यटन तथा उद्योग कार्यालय, घरेलु तथा साना उद्योग महासंघ लमजुङ, ग्रामीण तालिम केन्द्र सिम्पानीलाई सम्मान गरिएको आयोजकले जानकारी दिए ।
सो अवसरमा बेसीशहर इकाईका उपाध्यक्ष कुमबहादुर गुरुङले स्वागत तथा सञ्चालन सचिव सुवेदार कृष्णबहादुर घले, सहसचिव क्याप्टेन चित्रबहादुर गुरुङले गर्नुभएको थियो ।

प्रकाशित मिति २०७९ पुष १८, सोमबार ०५:१९ गते
हजुरको प्रतिक्रिया