साँझपख कारागारमा कैदी र बन्दी बीच झडप : पाँच जना प्रहरी नियन्त्रणमा

no-image

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ मङ्सिर २२ गते शनिवार १०:१९

यसप्रकार कैदी र बन्दी बीचमा झडप भएर जिल्ला प्रहरी कार्यालयमा लग्नु पर्ने स्थिति उत्पन्न भएको जिल्ला कारागारको इतिहासमा यो पहिलो घट्ना हो ।

यतिबेला भने कारागारको स्थिति सामान्य रहेको प्रजिअ गुरुङले जानकारी दिनु भएको छ ।

बेसीशहर— लमजुङ सदरमुकाम बेसीशहरस्थित जिल्ला कारागारका रहेका कैदी–थुनुवाबीच साँझपख झडप भएको छ । आज साँझ करिब ७ बजेको समयमा कैदी–थुनुवाको दुई पक्षबीच झडप भएको प्रहरीले मंसिर २२ गते बताएको हो ।
कैदी–थुनुवाबीच चौकीदारको व्यवहारप्रति असन्तुष्टि बढ्दै जादा झडपको रुप लिएको हो । प्रहरीले झडपमा संलग्न रहेको भन्दै ५ जना तथा चौकीदारसमेतलाई नियन्त्रणमा लिएको छ । तिनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालय स्थित थुनुवा कक्षमा लगेर राखिएको प्रहरी स्रोतको भनाइ छ । प्रहरीले नियन्त्रणमा लिएर आफ्नो थुनुवा कक्षमा लगिएका झडपमा संलग्न चौकीदार खुसीराम मग्राती लगायत कैदीहरू अमल घले, श्रीकृष्ण चिलुवाल र देव गुरुङ साथै थुनुवाहरू मौलादिन मिया र तेज गुरुङ छन् ।
चौकीदार खुसीराम मग्रातीलाई समेत नियन्त्रणमा लिएर प्रहरी कार्यालय ल्याएको डीएसपी श्रीवास्तवले बताए । झडपमा संलग्नलाई छुट्याउने क्रममा कैदीहरु चिजकुमार श्रेष्ठ, सन्दीप श्रेष्ठ र दीपक सुनार घाइते भएका छन् । उनीहरूका हातमा सामान्य चोट लागेको र कारागारभित्रै उपचार गरिएको डीएसपी श्रीवास्तवले बताए ।
कैदी–थुनुवाको दुईपक्षबीच चौकीदारको व्यवहारलाई लिएर झगडा भएको बुझिन आएको प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले बताउनु भएको छ । उहाँका अनुसार कैदी–थुनुवाबीच झगडा भएपछि कारागारमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । उहाँले भन्नुभयो, ‘कारागारमा साविक रहेका सुरक्षाकर्मीबाहेक २५ जना नेपाल प्रहरी र ७ जना सशस्त्र प्रहरीहरू कारागारको सुरक्षार्थ थप गरिएको छ ।’
यतिबेला भने कारागारको स्थिति सामान्य रहेको प्रजिअ गुरुङले जानकारी दिनु भएको छ ।
यसप्रकार कैदी र बन्दी बीचमा झडप भएर जिल्ला प्रहरी कार्यालयमा लग्नु पर्ने स्थिति उत्पन्न भएको जिल्ला कारागारको इतिहासमा यो पहिलो घट्ना हो ।
सी ग्रेडको २०२८ सालमा बेसीशहरमा जिल्ला सदरमुकाम सर्नासाथ निर्मित सो जिल्ला कारागारमा जम्मा ३५ जना क्षमता छ । तर यतिबेला कारागारमा १ सय २० जना कैदी–थुनुवा छन् । यसमा कैदी पुरुष ५२ र महिला ३ गरी ५५ जना छन् । पुरुष ६४ र महिला १ गरी ६५ जना थुनुवा रहेको कारागार प्रशासनले जनाएको छ ।

प्रकाशित मिति २०८१ मंसिर २२, शनिबार २२:१९ गते
हजुरको प्रतिक्रिया