काठमाडौं– रबिको नागरिकता प्रकरणमा उहाँको नागरिकता अवैध ठहर गर्ने गरी सर्वोच्चको फैसला आएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले रबिको नागरिकता कानुनसम्मत नभएको हुँदा उहाँको सांसद पद बदर भएको फैसला माघ १३ गते सुनाएको हो ।
रवि लामिछानेको पार्टी सभापति पद समेत आजबाट नरहने भएको छ । उहाँले पार्टी दर्ताका क्रममा पेश गरेको पुरानो नागरिकताले बैधता प्राप्त गर्न नसकेपछि उहाँको पार्टी सभापति र सदस्यता समेत नरहने अवस्था सिर्जिएको हो । तर उहाँ संस्थापक सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी भने रहने भएको छ ।
‘नेपालको संविधानले नै नेपाली नागरिकले राजनीतिक दल खोल्ने र राजनीतिमा क्रियाशील हुने परिकल्पना गरेको छ’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनु भयो । उहाँका अनुसार कोही व्यक्तिले लिएको नागरिकता पछि बदर भयो वा पेश गरेको नागरिकता बैध ठहर भएन भने त कसरी राजनीतिक दलको कुनै पद कायम रहन्छ र ?
उहाँले भन्नुभयो, ‘मुद्दामा निर्वाचन आयोग समेत विपक्षी भएकाले सर्वोच्च अदालतको संक्षिप्त आदेश निर्वाचन आयोगमा जान्छ । त्यसलगत्तै आयोगले निर्णय गरेर अभिलेखबाट रबिको नाम र सदस्यता हटाउने छ ।’
तर पार्टीको हकमा भने पार्टीले नै निर्णय गरेर उनको पदीय भूमिकावारे निर्णय गर्नुपर्ने हुन्छ ।
सर्वोच्चको फैसलापछि प्रतिक्रिया दिदै रबिले भन्नुभयो, ‘म कुनै देशको नागरिक रहिन, रास्वपाको अध्यक्ष पनि होइन ।’ गृहमन्त्रालयबाट बाहिरिने क्रममा रबिले आफूले सर्वोच्च अदालतको आदेशको स्वागत गर्ने जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतको आदेशको स्वागत गर्छु । मसँग अहिले कुनै जवाफ छैन । म कुनै देशको नागरिक रहेन । मसँग कुनै जवाफ छैन ।’
रबिले चाहेमा तत्काल नेपाली नागरिकताको प्रमाणपत्र पाउने, के गर्नु पर्छ अब नागरिकता लिन ?
रबिले अमेरिकाको नागरिकता त्याग गरेको निस्सासहित जिल्ला प्रशासन कार्यालयमा पुनः नागरिकता गरीपाउँ भनी निवेदन दिएर नयाँ नागरिकता लिन सक्ने वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले बताउनु भयो । उहाँका अनुसार अब नयाँ नगरिकता लिन अमेरिकाको नागरिकता त्याग गरेको निस्सासहित जानुपर्छ । उहाँले भन्नुभयो, ‘अहिले नागरिकता लिँदा विवरण पुरानै आउँछ तर जारी मिति मात्रै अहिलेको आउँछ ।’
यसैबीच, सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रक्रिया पूरा गरेर नागरिकता लिन चाहेमा तत्काल नागरिकताको प्रमाणपत्र लिन पाउनु हुने जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले बताए । उनका अनुसार सर्वोच्च अदालतको संक्षिप्त निर्णयमा कुनै नकारात्मक टिप्पणी र आदेश छैन भने प्रक्रिया पुर्याएर नागरिकताको प्रतिलिपी जारी गर्न सकिन्छ ।
उनी भन्छन्, ‘सर्वोच्च अदालतको संक्षिप्त निर्णय थाह पायौं, कुनै नकारात्मक टिप्पणी वा निर्देशनात्मक आदेश छैन भने हामीले तत्काल नागरिकता दिन सक्छौं’ जिल्ला प्रशासन कार्यालयका एक अधिकृतले भने, ‘तर अदालतकै आदेश भएकाले एकपटक गृहमन्त्रालयसँग परामर्श गर्छौं होला ।’
रबिले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसक्नु भएको छ र त्यसको निस्सा समेत प्राप्त गरिसक्नु भएको छ । त्यो निस्सा जिल्ला प्रशासन कार्यालयमा नबुझाएकाले उहाँले नयाँ प्रतिलिपी नागरिकता पाउन बाँकी रहेको रबि निकट स्रोतले बताएको छ ।
सर्वोच्चले रविलाई पनि मौका दिएको छ : भण्डारी
यसैबीच, रिट निवेदकको तर्फबाट रबिको विपक्षमा बहसको अगुवाई गर्नु भएका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतको फैसला सबैको जित भएको बताउनु भएको छ । उहाँका अनुसार सर्वोच्चको फैसला सबै नेपालीको जित हो । उहाँले भन्नुभयो, ‘यो फैसलाले रबिलाई पनि राष्ट्रप्रति आफ्नो लोयल्टी देखाउने मौका दिएको छ ।’
प्रकाशित मिति २०७९ माघ १३, शुक्रबार २०:०० गते