
मिप्रा(लमजुङ)– लमजुङको मर्स्याङ्दी गाउँपालिका– ४, मिप्रामा आयोजित २०औँ कन्यादेवी कप– २०८३ को खुला पुरुष र महिला प्रतियोगिता गरिएको हो । सो प्रतियोगिता अन्तर्गत पुरुषतर्फको खेलको दोस्रो चरण सुरु भएको छ । त्यसको पहिलो दिन आज असोज ३१ गते चार खेल सम्पन्न भएका छन् ।
लमजुङमा कन्यादेवी क्लबको २०औँ वार्षिकोत्सवको अवसरमा सो प्रतियोगिता सञ्चालन गरिएको हो । पहिलो खेल जनकल्याण युवा क्लब नाइचे र आयोजक कन्यादेवी युवा क्लब मिप्राका बीचमा भएको थियो । सो खेल ३– २ गोल अन्तरले जीत हार भई जनकल्याण युवा क्लब अघि बढेको छ ।
त्यस्तै दोस्रो खेल चन्द्रमा युवा क्लब थाकन र कालाघिरिङ युवा क्लब बीच हुने भनिएकोमा कालाघिरिङ युवा क्लब अनुपस्थित रह्यो र चन्द्रमा युवा क्लबले वाकओभर पाई अघि बढेको आयोजक क्लबका खेल संयोजक प्रदिप गुरुङले बताए । उनका अनुसार तेस्रो खेल छापडाँडा युवा क्लब छापा र घोप्टे युवा क्लब हुनेमा घोप्टे युवा क्लब अनुपस्थित रह्यो र छापडाँडा युवा क्लब छापालाई विजयी घोषणा गरिएको स्थिति छ ।
आजको अन्तिम खेल अन्नपूर्ण युवा क्लब छापा र सप्तकन्या युवा क्लब शीलढुंगाका बीचमा भएको थियो ।
सो खेलमा २– ० गोल गरी अन्नपूर्ण युवा क्लब छापा अघि बढेको छ ।
सो प्रतियोगिताको महिलातर्फको टिमका लागि भोलि विहानसम्मका लागि दर्ता समय दिइएको आयोजकले जनाएको छ ।
उक्त फुटबल प्रतियोगिताको उद्घाटन मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गरेका थिए । आयोजक कन्यादेवी क्लबका अध्यक्ष सुब्बा गुरुङको अध्यक्षता भएको उक्त प्रतियोगिता ‘खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता, पर्यटकीय गाउँ मिप्रा जाऔँ, फुटबल प्रतियोगितामा रमाऔँ ।’ भन्ने मूल नाराका साथ आयोजना गरिएको आयोजक क्लबका खेल संयोजक प्रदिप गुरुङले बताउनु भयो । उहाँका अनुसार सो प्रतियोगितामा पुरुषतर्फ मनाङ र लमजुङका २४ टोली भाग लिएका छन् ।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष गुरुङले खेलकुदले युवालाई सकारात्मक गतिविधिमा जोड्नुका साथै अनुशासन, आपसी सद्भाव र सहकार्यको भावना विकास गर्न सहयोग पुर्याउने बताउनु भयो । उहाँले यस्ता प्रतियोगिताले खेलकुदको विकाससँगै स्थानीय कला, संस्कृति र पर्यटन प्रवद्र्धनमा समेत योगदान पुर्याउने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘मर्स्याङ्दी गाउँपालिकाले खेलकुदलाई स्वस्थ, अनुशासित र सिर्जनशील समाज निर्माणको महत्त्वपूर्ण आधारका रूपमा लिँदै यस्ता प्रतियोगिताले स्थानीय प्रतिभाको विकास तथा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने विश्वास व्यक्त गर्दछ ।’
उक्त प्रतियोगितामा पुरुषतर्फ पहिलो हुने टिमलाई एक लाख १५ हजार १५ रुपैयाँ, दोस्रो हुने टिमलाई ७५ हजार ७५ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै महिलातर्फका विजेता टिमलाई २० हजार २० रुपैयाँ, दोस्रो हुने टिमलाई १२ हजार १२ रुपैयाँ र साथमा कप, मेडल र प्रमाणपत्र रहेको आयोजक क्लबका खेल संयोजक प्रदिप गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुरुषतर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ठ खेलाडी र उत्कृष्ठ गोलरक्षकलाई दुई दुई हजार रुपैयाँ, ट्रफि र प्रमाणपत्र पुरस्कार दिइने प्रवन्ध गरिएको छ । उहाँले भन्नुभयो, ‘महिलातर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ठ खेलाडी र उत्कृष्ठ गोलरक्षकलाई एक एक हजार रुपैयाँ, ट्रफि र प्रमाणपत्र पुरस्कार दिइने व्यवस्था छ ।’
खेलकुदको विकास, युवाहरूको प्रतिभा पहिचान तथा प्रवर्धन, स्थानीयस्तरमा खेल संस्कृतिको विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको आयोजक कन्यादेवी क्लबका अध्यक्ष सुब्बा गुरुङले बताउनु भयो । उहाँका अनुसार यस प्रतियोगिताले मिप्रा गाउँको पर्यटकीय पहिचानलाई थप उजागर गर्नुका साथै स्थानीय क्षेत्रमा खेलकुदमय वातावरण निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति २०८३ कार्तिक १, शनिबार २१:०६ गते