तुलसी सहकारीमा घोटाला प्रकरण : झण्डै १७ करोड हिनामिना भएको खुलासा, ४१ करोड ६३ लाख गैरकानुनी लगानी

तुलसी सहकारीमा घोटाला प्रकरण : झण्डै १७ करोड हिनामिना भएको खुलासा, ४१ करोड ६३ लाख गैरकानुनी लगानी

एजेन्सी

@antaranganews

२०७९ चैत २४ गते शुक्रबार ०५:३८

प्रहरीले उक्त सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित ८ जना संचालकविरुद्ध ठगी मुद्दा चैत २१ गते दायर गरिसकेको छ । प्रहरीले गरेको अनुसन्धानका क्रममा लिएको बयानमा प्रतिवादीहरूले आफूहरूले गैरकानुनी लगानी गरेको र यसको मुख्य जिम्मेवार अध्यक्ष केदारनाथ शर्मा नै रहेको दावी गरेका छन् । संस्थाका सचिव सविना र विराटनगर शाखाकी मेनेजर सुरुची पोखरेलले त्यस्तो दावी गर्नु भएको हो ।

४१ करोड ६३ लाख गैरकानुनी लगानी : थुनछेक बहस आज सकिने सम्भावना

विराटनगर– तुलसी बहुउद्देश्य सहकारी संस्थाले झण्डै १७ करोड रुपैयाँको हिसाव नै नराखेको खुल्न आएको छ । ४१ करोड ६३ लाखभन्दा बढी रकम नियमविपरीत लगानी गरेको अनुसन्धानबाट खुलेको हो । उक्त सहकारीको चार वटा शाखा छ ।
प्रहरीले उक्त सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित ८ जना संचालकविरुद्ध ठगी मुद्दा चैत २१ गते दायर गरिसकेको छ । फरार सूचीमा प्रतिवादी बनाएर सहकारीका अध्यक्ष शर्मा, संचालक समितिका सदस्यहरू बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई, छविलाल विश्वकर्मा, क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेविरुद्ध ठगीमा मुद्दा दर्ता भएको हो ।
सहकारीको रकम अपचलन गरी ठगी मुद्दामा पक्राउ परेका आरोपितहरूको बयान मोरङ अदालतमा त्यसको भोलिपल्ट नै सकिएको छ । हिजोबाट थुनछेक बहस सुरु भएको छ ।
प्रतिवादीहरूका विरुद्ध सहकारी ऐन २०७४ को दफा १२२ को उपदफा (ख), (घ), (ङ), (च) र (ज) बमोजिम ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय र उपदफा (१) को देहाय (घ) तथा (५) बमोजिम बिगो ५० करोड ८८ लाख ७८ हजार ७२८ रुपैयाँ जाहेरवालाहरूलाई र बिगो १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ तुलसी सहकारी संस्थालाई भराई बिगो बमोजिम जरिवाना तथा कैद सजाय माग दाबी गरिएको जिल्ला सरकारी वकिलको कार्यालय मोरङले जनाएको छ ।
सहकारीका संचालकहरुले ३ हजार ६३ जना सर्वसाधारणले जम्मा गरेको एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९९१ रुपैयाँ रकम हिनामिना गरेको आरोप छ ।
सहकारीको कुल निक्षेप १ अर्ब ६५ करोड ६५ लाख ९३ हजार २९१ रुपैयाँ रहेको अनुसन्धानबाट खुलेको छ । उक्त संस्थाबाट ऋण तथा लगानी भएको रकम १ अर्ब ४८ करोड ६८ लाख ५० हजार ७५१ रुपैयाँ छ । हिसाबमै नभएको (स्रेस्तामा नदेखिएको) रकम १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ छ । यस्तै सहकारीले नियमविपरीत प्रा.लि. कम्पनीहरूमा ४१ करोड ६३ लाख ९५ हजार ३८७ रुपैयाँ ऋण लगानी गरेको मोरङ प्रहरीले गरेको अनुसन्धान र लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।
निजी कम्पनी र जग्गाबाहेक सवारी साधनमा पनि करोडौं रुपैयाँ खर्चेको पाइएको छ । गाडीका सोखिन शर्माले आफू चढ्ने गाडी चार करोडमा खरिद गरेको पाइएको छ । त्यसबाहेक सहकारीको नामा दुई वटा कार ९० लाखमा खरिद गरेको भेटिएको छ । ती कारहरु तुलसी सहकारी संस्थाको नाममा दर्ता छ । सहकारीको नाममा रहेको प्रदेश ३–०२४ च ४५९२ नम्बरको कार सहकारीका प्रबन्धक मन्दिप खवासले चढ्ने गरेका थिए । अर्को कार संचालक बन्टी अधिकारीले चढ्ने गरेकी थिइन् । मुद्दा परेपछि उनी अहिले फरार छिन् । सहकारी सचिव सविना न्यौपाने निसान कम्पनीको टेरानो कार चढ्ने गरेकी थिइन् । जुन गोर्खा टि.एण्ड कफी इण्डष्ट्रिज प्रा.लि.को नाममा दर्ता छ ।
अभियोग पत्रबारेमा प्रतिवादीको बयान :
प्रहरीले गरेको अनुसन्धानका क्रममा लिएको बयानमा प्रतिवादीहरूले आफूहरूले गैरकानुनी लगानी गरेको र यसको मुख्य जिम्मेवार अध्यक्ष केदारनाथ शर्मा नै रहेको दावी गरेका छन् । अध्यक्ष पछिको मुख्य जिम्मेवारीमा रहनु भएकी सचिव सविना न्यौपानेले ‘अध्यक्ष केदारनाथ शर्माले सञ्चालन गरेका प्रा.लि. कम्पनीहरूमा कर्जा लगानी भएको कारण त्यस्तो कर्जाको साँवा र ब्याज फिर्ता नभएकाले सहकारी टाट पल्टेको’ बयान दिनु भएको छ । उहाँले सहकारीले ऐन विपरीत ऋण लगानी गरेको थाहा हुँदाहुँदै पनि अध्यक्ष शर्माको दबाबले लगानी गर्न बाध्य भएको स्पष्ट्याउनु भएको छ ।
‘उक्त ऋणहरू सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ तथा सहकारी संस्थाको कर्जा लगानी तथा असुली सम्बन्धी नियमावली विपरीतको कर्जा भएकाले पारित गरी लगानी गर्न कानुनतः मिल्दैन थियो,’ अभियोग पत्रमा उनले दिएको बयानमा उल्लेख छ, ‘कानुन विपरीत भन्ने यथेष्ट जानकारी हुँदाहुँदै पनि तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष संचालक रहेका प्राइभेट कम्पनी र फर्महरूमा कर्जा लगानी भइरहेको थियो ।’
सविनाले अध्यक्ष शर्माको नाममा रहेको तुलसी कृषि अनुसन्धान केन्द्र प्रा.लि.को नाममा जग्गा खरिद गरेर पछि व्यक्तिको नाममा बनाइएको समेत सचिवले खुलासा गर्नु भएको छ । ‘तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्माको नाममा दर्ता रहेको तुलसी कृषि अनुसन्धान केन्द्र प्रा.लि. को लागि जग्गा खरिद गर्न उदयपुर जिल्लाको खाँबु भन्ने स्थानमा संस्थाका अध्यक्ष केदारनाथ शर्माले दुई हजार रोपनी जग्गा खरिद गर्न फाइनल गरेको समेत खुलाउनु भएको छ । उहाँका अनुसार हाल सुन्नमा आउँदा १ वर्ष अगाडि तीन सय रोपनी जग्गा अन्दाजी ५ करोडमा खरिद गरी जग्गा पास गर्ने बेलामा उक्त जग्गा केही तुलसी अनुसन्धान केन्द्रको नाममा पास गरी अन्य जग्गा मन्दिप खवास, केदारनाथ शर्मा र सिताराम अधिकारीको नाममा पास गरिएको छ,’ सविनाले आफ्नो बयानमा खुलाउनु भएको छ ।
यसैगरी, सहकारीकी विराटनगर शाखाकी मेनेजर सुरुची पोखरेलले पनि बयानका क्रममा गैरकानुनी ढंगले लगानी गरेकै कारण सहकारी डुबेको उल्लेख गरेकी छन् । ‘धेरै कर्जाहरू सहकारीको नियम विपरीत कर्जा, लगानी गर्न नमिल्ने कम्पनी र प्रा.लि.मा प्रवाह भएको देखिन्छ भने केही कर्जाहरू बिजनेस टु नाम दिई बिना धितो ऋणमा देखाइएको छ,’ पोखरेलले लिखित बयानमा खुलाउनु भएको छ, ‘प्रवाह भएका कर्जाहरुमा व्यापार कर्जा, मुद्धती कार्ड कर्जा र व्यापार कर्जा बाहेक अन्य कर्जा प्रवाह गर्दा धितो जमानतसमेत राखेको देखिँदैन । उहाँका अनुसार संस्थाको रकम अपचलन गरी हिनामिना गर्ने कार्यमा मुलतः सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा र सचिव सविना न्यौपानेको भूमिका रहेको छ ।
शर्माले सहकारीको करोडौं रुपैयाँ दुरुपयोग गरी सहकारीको मूल्य मान्यता र सिद्धान्तलाई लत्याएर आफ्नो निजी कम्पनी र जग्गामा लगानी गरेको अनुसन्धानबाट खुलेको अभियोग पत्रमा उल्लेख छ ।
उनीद्वारा संचालित निजी खाद्यान्न, मोटर, इलेक्ट्रिक, चिउरा मिल, जुत्तादेखि मिडिया कम्पनीमा पनि लगानी गरेको पाइएको छ । निजी उद्योगबाहेक जग्गामा पनि शर्माले लगानी गरेको पाइएको छ ।
उदयपुर र झापामा मात्र शर्माका नाममा ३६ हजार २ सय ८ दशमलव ८७ वर्गमिटर अर्थात् ५ बिगाहा ६ कठ्ठा जग्गा छ । उनको जन्मस्थल उदयपुरमा १५ कित्ता र झापामा ३ कित्ता जग्गा उनकै नाममा छ ।
शर्माले सहकारीको रकम दुरुपयोग गर्दै सबैभन्दा बढी लगानी विराटनगर– १९ स्थित तुलसी मोटर पम्पमा गरेका छन् । उनले उक्त मोटर पम्पमा ३२ करोड, झापाको गौरादहमा भएको चिउरा र चामल मिलमा ३४ करोड, झापाको दमक बजारमा रहेको गार्डेन मार्ट, उदयपुर जिल्लाको गाईघाटमा रहेको गार्डेन मार्ट र मोरङको लेटाङमा रहेको गार्डेन मार्टमा गरी जम्मा २५ करोड लगानी गरेका छन् । यस्तै सिरहा गोलबजारमा मार्ट खोल्न तयारीस्वरुप १ करोड लगानी गरेको बताइएको छ ।

प्रकाशित मिति २०७९ चैत्र २४, शुक्रबार ०५:३८ गते
हजुरको प्रतिक्रिया